बुटवल । सुनको मूल्य आज एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुन तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ थियो ।
यो हप्ता आइतवारदेखि नै सुनको मूल्य निरन्तर बढेको छ । आइतवार तोलामा एक लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमवार एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।
आज चाँदीको पनि मूल्य बढेको छ । हिजो तोलाको एक हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको चाँदी आज २० रुपैयाँले बढेर एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै महँगो हो ।