बुटवल–हरितालिका तीज आउनुभन्दा महिना दिन अघिदेखि शहर बजारमा चहलपहल सुरु हुन्थ्यो। आज एक ठाउँमा दर खान गयो, अर्को दिन अर्को ठाउँमा, महिला दिदीबहिनीहरु निम्ता मान्न व्यस्त हुन्थे।
दलका नेतृ, विभिन्न संघ संस्थाका पदाधिकारी लगायत समाजका अगुवा महिलाहरुलाई एकैदिन धेरै कार्यक्रम भेट्नुपर्ने हतारो हुन्थ्यो।
होटल तथा पार्टी प्यालेसका हलहरु भरिभराउ हुन्थे। सबैजसो होटलका हलहरुमा खानपान र नाँचगान चल्थ्यो। कतै दरपार्टी र कतै तीजगीत प्रतियोगिताको रमझम।
तीजको बेला होटल व्यवसायीहरुलाई भ्याइनभ्याइ हुने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसी बताउँछन्। ‘१५ दिनजति त बुटवलका होटलका हलहरु खचाखच हुन्थे–उनले लुम्बिनी टाइम्ससँग भने–संघ संस्थाहरुलाई हल पाउनै गाह्रो थियो, हल बुक गर्न धेरै अघि भन्नुपर्दथ्यो।’
तीज आउने बेला दर खाने तथा तीज विशेष कार्यक्रम नगर्ने संघ संस्थाहरु विरलै हुन्थे। कार्यालय, राजनीतिक दलका टोलसम्मका समितिहरु, व्यवसायिक तथा सामाजिक संस्था, सहकारी, विभिन्न जिल्लाका सम्पर्क समाजहरुले तीजको विशेष कार्यक्रम गर्दथे।
कतिपयले आफ्नै परिसरमा कार्यक्रम गर्दथे भने धेरै कार्यक्रम होटल तथा पार्टी प्यालेसमा हुन्थे।
तर, अहिले यो रमझम र तामझाम छैन। बजार सुनसान छ। तीजका कार्यक्रम कहीँकतै छैनन्। तीजका मादल बजेकै छैनन्। तीजका गीत घन्किएकै छैनन्। यसको सबैभन्दा धेरै असर होटल तथा पार्टी प्यालेसहरुलाई परेको छ।
कोरोना भाइरसको महामारीका कारण देश नै ठप्प छ। स्थानीय प्रशासनहरुले तीजमा हुनसक्ने भीडभाड र कार्यक्रमहरुलाई लक्षित गरेर निषेधाज्ञा जारी गरेका छन्। तीजमा दिदीबहिनी आफन्तलाई नबोलाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्। यसैले ठप्प छन्, तीजमा केही आम्दानी गर्ने होटल र पार्टी प्यालेसहरु।
बुटवलको बेलबासमा रहेको अर्घाखाँची क्याट्रिङ एन्ड पार्टी प्यालेसका सञ्चालक ज्ञानप्रसाद खनाल भन्छन्–‘यो बेला भनेको पार्टी प्यालेस खाली नहुने बेला हो एक पछि अर्को गरेर तीजका कार्यक्रम हुन्थे, तीजको एक महिना अगाडिबाट कुनै दिन हल खाली हुँदैनथियो, तर अहिले यस्तो अवस्था देख्नुपरेको छ ।’
६ करोड लगानी गरेर पार्टी प्यालेस खोलेका उनी यसपटक बिहेका भोज पनि नभएकाले आर्थिक भार थपिएको बताउँछन्। ‘यसपटक डुबिएला जस्तो छ, यो वर्ष न विवाहको पार्टी भए, न तीजका कार्यक्रम भए।’
बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा लकडाउन अघि सानादेखि ठूला कार्यक्रम भइरहन्थे। तीजको बेलामा अझै चहलपहल हुन्थ्यो। तर यो वर्ष कोरोना संक्रमणका कारण सिद्धार्थ कटेज पनि सुनसान छ।
‘२ वर्ष अघि तीजका कार्यक्रमको भिडभाड हुन्थ्यो, अघिल्लो वर्ष प्रशासनले कडाइ गरेकाले थोरै मात्र कार्यक्रम भए–सिद्धार्थ कटेज बुटवलका व्यवस्थापक पुरुषोत्तम आचार्यले लुम्बिनी टाइम्ससँग भने–साउन १५ यता एकाध सरकारी कार्यक्रम भए, अरुबेला धेरैजसो सुनसान नै हो, लकडाउन भएपछि त बन्द भैहाल्यो।’
३ वटा हल रहेको बुटवल सुख्खानगरको मेरिगोल्ड होटलमा विभिन्न दल तथा संघ संस्थाका भेला, सभा सम्मेलन भइरहन्थे। तीजको बेला संघ संस्थाहरुले आफ्ना महिला सदस्यहरुलाई दर खुवाउन यही ठाउँको प्रयोग गर्दथे।
‘चेलीबेटीलाई दर खुवाउन भन्दै संघ संस्थाहरुले पालैपालो कार्यक्रम गर्थे, खानेकुराको व्यवस्थापन गर्न भ्याइनभ्याइहुन्थ्यो–होटल सञ्चालक टेकबहादुर पौडेलले भने–अहिले त आफ्नै घरमा बोलाएर खुवाउने अवस्था पनि छैन।’
पछिल्लो डेढ–दुई वर्षयता बुटवलमा होटल तथा रेष्टुरेण्टहरु धमाधम खुलिरहेका छन्। पर्यटकीय बाहेक अन्य शहर केन्द्रित होटलहरुको लागि विवाहको लगन र तीजको बेला राम्रो कमाइ हुने बेला हो।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र लकडाउनको कारण धराशायी बनेका होटल व्यवसायीहरुले यो वर्षको तीजको अवसर पनि गुमाएका छन्।