बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले अर्थतन्त्रलाई चलायमान बनाउन सरोकारवाला गम्भीर भएर लाग्नुुपर्ने बताउनु भएको छ । उहाँले अर्थतन्त्रमा देखिएका चुनौतीलाई सामना गर्न सरकार, निजी क्षेत्र र सरोकारवालासँग छलफल र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको वर्तमान आर्थिक संकट र बजार विषयक छलफल तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष पोखरेलले आर्थिक मुद्दालाई प्राथमिकतामा नराखेसम्म मुलुकको विकास र समृद्धि हासिल गर्न नसकिने भन्दै सरकार र निजी क्षेत्रको सहकार्य अझ बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
ऊर्जाशील युवाहरु विदेश पलायन हुँदा यहाँको उर्भर भूमी बाँझिने क्रम बढ्दै गएको उल्लेख गर्दै यसले भोलिका दिनमा गम्भीर आर्थिक संकट निम्याउने उहाँले बताउनुभयो । सरकारले आयतमा कडाइ गरेपछि उद्योगमा आवश्यक कच्चा पदार्थको आयातमा भारी गिरावट आएको उहाँले बताउनुभयो । कच्चा पदार्थ अभावमा उद्योग धन्दा बन्न गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा होटल व्यवसायमा लगानि गरेका व्यवसायीहरुको अबौँ लगानी खेर गइरहेको उहाँले बताउनुभयो । नेपालमा नर्सिङ कलेज बन्न हुँदा भारतको सिमा क्षेत्रमा सयौँको संख्यामा नयाँ कलेज सञ्चालनमा आएको बताउँदै नेपालबाट भारतमा करोडौँ रुपैयाँ गइरहेको बताउनुभयो ।
आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले पर्यटकीय विकासबाट अर्थतन्त्रलाई चलाएमान बनाउन सकिने धारणा राख्नुभयो । नेपालमा विदेशी पर्यटकलाई भित्र्याउन सरकारले पहल गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा प्रशस्त मात्रमा रहेका प्राकितिक स्रोत साधनको सहि सदुपयोग गरी यसबाट आर्थिक लाभ लिन सकिने उहाँको भनाइ थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले संघीयतापछि भौतिक पूर्वाधार निर्माण र सवारीसाधन खरीदमा अरबौँ रकम खर्च हुँदा देशमा आर्थिक संकटको अबस्था आएको धारणा राख्नुभयो । वैदेशिक शिक्षाका नाममा करोडौँ रकम बिदेशमा जाँदा यहाँ आर्थिक चलायन हुन नसकेको उहाँले बताउनुभयो । सरकारको निति नियमले उद्योगी व्यवसायीहरुलाई थप समस्या सिर्जना भएको बताउँदै उहाँले सरकारले उद्यागीका समस्या समाधानमा तत्काल काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले उद्योगी व्यवसायीहरुले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष श्रीधर महरा, सदस्य शिव ज्ञवाली, तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल बस्याल, उपाध्यक्ष नेत्र न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव जेपी कँडेलले गर्नुभएको थियो ।