काठमाडौं । बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला रु एक लाख १३ हजार छ सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको जनाएको छ । योसँगै बिहीबार सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ । यसअघि गत जेठ १८ गते प्रतितोला रु एक लाख १३ हजार तीन सय उच्च मूल्य रेकर्ड भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको जनाएको छ ।
यसैगरी, नेपाली बजार तीन दिनदेखि निरन्तर चाँदीको मूल्य वृद्धि भइरहेको छ । मङ्गलबार प्रतितोल रु १४८० मा कारोबार भएको चाँदी बुधबार १४९० पुगेको थियो । त्यस्तै, आज चाँदी प्रतितोलामा रु पाँचले बढेर १४९५ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।