गुल्मी–रुरु क्षेत्र गाउँपालिका ४ बलेटक्सारमा २८ बर्षीय कमल ज्ञवालीले गत बर्ष ३५ रोपनी बारीमा साढे २६ हजार टमाटरका बिरुवा रोपे । १० वटा टनेलमा १२ सय र बाहिर २५ हजार बिरुवा थिए । निकै राम्रोसंग बिरुवा हुर्किएकाले कमलले राम्रो आम्दानीको आश पनि गरेका थिए । तर वर्षा अत्यधिक भएकाले आठ/नौ हजार बिरुवा पुरै र १२/१३ हजार फलेका टमाटरका बोट नष्ट भए ।
टनेल भित्रबाट ६५ क्विन्टन टमाटर बेचे । टनेल बाहिरका ३०/३५ क्विन्टलभन्दा बढि उत्पादन भएन । पानी परिरहेकाले ज्ञवालीको टनेलमा पनि अझै थुप्रै टमाटर कुहिएर नष्ट भइरहेका छन् । तर कृषि छोड्ने हरेशभन्दा आत्मबल थपिएको ज्ञवाली बताउँछन् ।
ज्ञवाली ०७१ सालमा पनि कुखुरा मरेर फर्म नै खाली भएपछि परदेश पसेका हुन् । उनलाई त्यो बेला फेरि कृषि कर्ममा फर्कौला भन्ने आशै थिएन । उनका १२ सय कखुरा एकैचोटी मरे । प्रहरी मुचुल्का गरेर ल्यावमा पठाए ।
रिर्पोटमा विष देखियो । त्यसपछि कमलले सोंचे-गाउँमा गरेर खान दिदैनन् । कहिँ कतैबाट एक रुपैयाँ क्षतिपूर्ति पनि पाएनन् । उनी गाउँमा ऋणधन गरेर चलाएको फर्म नै बन्द भएपछि ०७२ साल दुवई गए । तीन बर्ष काम गरे । ०७५ सालमा छुट्टीमा फेरि फर्किए । दुबइमा कामसंगै दाम पनि राम्रो थियो । तर बर्ष दिन नपुग्दै उनी गत बर्ष गाउँ फर्के ।
होटल म्यानेजमेण्ट अध्ययन गरेका कमल ज्ञवालीले गाउँ आएपछि बुटवलतिर होटल व्यवसाय सञ्चालन गर्ने योजना बनाए । आवश्यक प्रबन्ध मिलाएर बुटवलको साइत समेत सारेका थिए ।
अचानक पैचो पसलका सञ्चालक धुव्र न्यौपानेसँग कमलको भेट भयो । जुन भेटले नै कमलको कृषि कर्मप्रतिको सोंच बदल्यो । न्यौपानेले उनलाई उत्साह मात्रै दिएनन थोपा सिंचाई र टनेल दिएर काममा उत्प्रेरित गरे । अहिले कमल आफु मात्रै कृषिमा होमिएका छैनन्, उनको परिवार नै कृषि कर्ममा छ ।
कमलले आफु परदेशबाट फर्केर व्यावसायिक कृषि थालेपछि २० वर्षदेखि परदेशमा काम गरेका बुवा ४९ बर्षीय लक्ष्मण ज्ञवाली पनि घर फर्किए ।
आमा लक्ष्मी ज्ञवालीले धेरै पहिलेदेखिनै गाउँमा तरकारी खेती गर्थिन् ।
अहिले भाईबुहारी पनि कमलको साथमा छन् । बिहान ६ बजेदेखि पुरै परिवार नै टमाटरकै स्याहार सुसारमा व्यस्त हुन्छन् । यो बर्ष पनि थप १० टनेल बिस्तार गर्ने योजना ज्ञवाली परिवारको छ । ‘जनशक्ति छैन, बिहानदेखि बेलुका आफै काम गर्छौ, काम गरेपछि नाफा घाटा सहनुपर्छ,–उनले भने–नाफा मात्रै हेरेको भए टर्नेल र बारीमा कुहिएर टमाटर देखेर अहिले नै काम छोड्थ्यौ।’
बलेटक्सारमा बजारको समस्या छैन । उत्पादन गर्न सके ३२ रुपैयाँका दरले पैचो पसलले टमाटर लैजाले गरेको भाई कोपिल ज्ञवालीले बताए । उनले आफुलाई पनि कृषि क्षेत्र मन पर्ने भएकाले टमाटरसँगै व्यावसायिक बाख्रा पालनको काम पनि अगाडि बढाएको बताए । उनको घरमा अहिले ११ वटा बाख्रा छन् ।
लक्ष्मण ज्ञवाली आर्थिक जोहोकै लागि घर छोडेका २३ बर्ष पुगेछन् । सन् १९९७ बाट घर छोडेका ज्ञवालीले २० बर्ष मात्रै दुवइमा काम गरे । घर आएका आठ महिना भए । परदेशको कमाईले ठूलै प्रगति नभएपनि परिवार राम्रोसँग पाले ।
अहिले जोशले काम गर्ने उमेर छैन। तर ज्ञवाली छोराहरुले व्यावसायिक कृषि गरेको देखेर खुसी छन् । ‘म बरु धेरै बर्ष परदेश बिताएकोमा पछुताएँ,’उनले भने,‘छोराहरुसँगै काम गर्छु, हौसला थपिरहेको छु ।’ आफुहरुको समयमा घर व्यवहार चलाउन मात्रै कृषि गर्ने अवस्था रहेकाले परदेश पसेको बताउँदै ज्ञवालीले अहिले प्रविधि मार्फत व्यावसायिक कृषि गरे राम्रो आम्दानी गर्न सकिने आत्मविश्वास व्यक्त गरे ।