बुुटवल । रुपन्देहीको भैरहवामा पाँच तारे होटल ‘सिद्धार्थ भिलासा’ सञ्चालनमा आएको छ । सिद्धार्थ विजनेश ग्रुपका अफ हस्पिटालिटी प्रालिको लगानीमा सिद्धार्थनगर नगरपालिकाको अञ्चलपुरमा यो पाँच तारे होटल सञ्चालनमा आएको हो ।
झण्डै चार विघा क्षेत्रफलमा फैलिएको यो होटलमा साढे २ अर्ब रुपैयाँ लगानी रहेको आज भैरहवामा पत्रकारसम्मेलन गरी जानकारी गराइएको छ ।
“सिद्धार्थको निरन्तर अढाइ दशकको व्यवसायिक यात्राका क्रममा अर्को नयाँ परियोजना थप गर्न पाउँदा हामी निकै खुशी छौँ”, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिका अध्यक्ष चिन्तामणि न्यौपाने भन्नुहुन्छ ।
उहाँका अनुसार यो पाँच तारे होटलमा ८५ कोठा छन् । जसलाई एक्ज्युकेटिभ स्विट, स्विट र प्रेसिडेन्सियल स्विट गरी चार स्तरमा वर्गीकरण गरिएको छ । यहाँ लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेण्ट तथा स्विमिङ पुल, फिटनेस, जिन स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लब सेवा, लंग टेनीस कोर्ट, गार्डेन, रहेका छन् ।
नेपालकै ठूला सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुमका साथै क्यासिनो समेत रहेको यस होटलमा करिब तीन सय कर्मचारी प्रत्यक्ष रोजगारी प्राप्त गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
गौतम बुद्धको जन्मस्थल तथा हालै मात्र सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको यस होटवलले स्वदेशी तथा विदेशी पर्यटकलाई राम्रो आतिथ्यता दिनुका साथै देशको पर्यटनमा समेत टेवा पुर्याउने उहाँको विश्वास छ ।
सामान्य खाजा पसलबाट सुरु भएको होटल अहिले आउँदा ३२ बढि हस्पिटालिटी सेवा र अन्य व्यवसायिक केन्द्रका विस्तार गर्न सफल भएको अध्यक्ष न्यौपानेले सुनाउनुभयो ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले व्यवस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानी गरी होटल, रेस्टुरेण्ट, रिसोर्ट, क्याफे, होटल म्यानेजमेन्ट, हस्पिटालिटी इन्स्टिच्युट, ट्रेडिङ्ग, कृषि उत्पादन, आइटी सेवा लगायतका विभिन्न व्यवसायिक क्षेत्रमा सञ्जाल बनाएर संगठित तथा संस्थागत रुपमा अघि बढिरहेको छ ।
२५ वर्ष अघि कैलालीको टिकापुरबाट सुरु भएको सिद्धार्थको व्यवसायिक यात्रा हालसम्म कणलीको चिसापानी, नेपालगञ्जको धम्बोजी र कारकाँदो, रुपन्देहीको बुटवल, भैरहवा, सुर्खेत, चितवनको चुम्लिङटार, काठमाण्डौँको सुन्धारा, तिनकुने, पुरानो वानेश्वर, बौद्ध, ललितपुरको धोबिघाटमा होटल तथा रेष्टुरेण्ट सेवा सञ्चालनमा रहेको सिद्धार्थ ग्रुपका सञ्चालक महेन्द्र न्यौपानेले बताउनुभयो ।
होटलको सेवा थप गुणस्तरीय र व्यापक बनाउने उद्देश्यले देशका अन्य स्थानमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
न्यानो आतिथ्यता, मित्रवत व्यवहार, गुणस्तरीय र परिणामयुक्त सेवा दिन सक्नु सिद्धार्थका विशेषता रहेको र आवद्ध कर्मचारीलाई सेयर सदस्यका रुपमा आबद्ध गराई अपनत्वको भाव विकास गरेर हातेमालो गर्नु नै सिद्धार्थको पृथक पहिचान हो भन्नुहन्छ, सिद्धार्थ ग्रुपका सिईओ कृष्ण न्यौपाने ।
गुणस्तरीय ब्राण्डका रुपमा स्वदेश र विदेशमा समेत आफ्नो पहिचान स्थापित गर्ने उद्देशयका साथ नयाँ परियोजना लिएर आएको उहाँ बताउनुहुन्छ । अहिलेसम्म विस्तार भएका सिद्धार्थ गु्रपका परियोजनामा प्रत्यक्ष अप्रत्यक्षरुपमा १६ सय जनाले रोजगारी पाएका छन् । भैरहवामा सुरु भएको पाँच तारे होटलको असोजमा भव्य उद्घाटन गर्ने तयारी छ ।