बुटवल । ‘समानता, स्वाभिमान र अवसर–बस्न योग्य बुटवल सहर’को ध्येय प्राप्त गर्ने गरी बुटवल उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ । स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बुटवललाई बस्नयोग्य सहर बनाउन स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएर रु दुई अर्ब ३६ करोड ५४ लाख बराबरको बजेट विनियोजन गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।
बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क उपलब्ध गराउनका र ‘स्वच्छ नगर, स्वस्थ नगरबासी’को नीतिलाई प्रभावकारी बनाउन नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।
नगरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बुटवल १३ र १७ मा १५।१५ शैयाका अस्पताल सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । जसका लागि रु. २ करोड छुट्याइएको उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो । वडा नं. १३ मा सञ्चालन हुने अस्पताललाई चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उहाँले उल्लेख गर्नुभयो ।
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रमका लागि रु. एक करोड विनियोजन गरिएको छ । नगरप्रमुख घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत परिवारको स्वास्थ्य जानकारी समेटिने डिजिटल रुपमा पारिवारिक स्वास्थ्य डाटा संकलन गर्दै सोहीअनुसारको कार्यक्रम सञ्चालन गर्नका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।
बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत गर्भवती महिलालाई निशुल्क प्रयोगशाला सेवाका लागि पनि बजेट छुट्टयाइएको छ । नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही रु २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि रु १ करोड विनियोजन गरिएको छ ।
यस्तै अठार वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिने व्यवस्था मिलाइएको छ। स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरण कार्यक्रम सञ्चालन गर्ने तथा नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदानलाई निरन्तरता दिइने उपप्रमुखले अर्यालले बताउनुभयो ।
महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सुविधा र सम्मान कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम, कोभिड १९ जस्ता महामारी तथा नियमित खोप सञ्चालन, एच आई भी÷एड्स, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाईले, डेगु, स्क्रब टाइफसजस्ता सर्ने नसर्ने लगायतका रोगहरुको रोकथाम, नियन्त्रण तथा निवारणका आवश्यक पनि बजेट विनियोजन गरिएको छ ।
महिला स्वास्थ्य तथा बालस्वास्थ्यसम्बन्धी शिविर सञ्चालन तथा उपचार र नगरप्रमुखः स्वस्थ शिशुदेखि जेष्ठ नागरिकसम्मको नवजात शिशुर आमाको पोषण, स्वास्थ्य परीक्षण शिविरहरुलाई घरदैलोसम्म पु¥याउन आवश्यक बजेट व्यवस्था गरिएको उपमहानगरले जनाएको छ ।
विद्यालयहरुको स्तरोन्नति तथा शैक्षिक सुधारका लागि नगर प्रमुख शैक्षिक विकास कार्यक्रम, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीसँग नगरप्रमुख कार्यक्रमका लागि आवश्यक बजेटको प्रबन्ध मिलाइएको छ भने विद्यालय भौतिक सुधारका लागि रु २ करोड विनियोजन गरिएको छ । बुटवलमै स्वास्थ्य जनशक्ति उत्पादनका लागि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा पारामेडिकल शिक्षा शुरु गर्न रु. ३० लाख बजेटको व्यवस्था गरिएको छ ।
स्थानीय पाठ्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गर्दै बुटवलको पहिचान, जातीय पहिचान, भाषा, संस्कृतिको संरक्षण गर्न आवश्यक बजेटको प्रबन्ध गरिएको छ भने सामुदायिक विद्यालयमा अध्ययनरत भौगालिक रूपमा पछाडि परेका तथा विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालयसम्म पहुँच विस्तार गर्न निःशुल्क पोशाकको व्यवस्था गर्न बजेट छुट्टयाइएको छ ।
विद्यालय परिसरलाई बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री बनाउँदै भौतिक सुधारका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
यस्त्ौ लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकसित गरिने छ भने बस टर्मिनलभित्र पार्किङ भवन, व्यवसायिक कोशेली भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट र सौन्दर्यीकरणका लागि रु. ४ करोड २५ लाख विनियोजन गरिएको उपप्रमुख अर्यालले बताउनुभयो । बुटवलको मुख्य सडकक्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरिने छ भने नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्टाखुल्टी पुरी आवतजावतमा सहजता ल्याउन नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न रु. २ करोडको व्यवस्था गरिएको छ ।
वडाहरुको समग्र विकासका लागि रु १६ करोड ५० लाख र एकवडा एक पहिचान कार्यक्रमका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको छ । बुटवलको खानेपानी आपूर्ति सम्बन्धी समस्यालाई दीर्घकालीन समाधान गर्न बोरिङ्ग, ओभरहेड टंकी निर्माण, स्यालो ट्युबेलका लागि आवश्यक बजेट विनियोजन गर्नुका साथै जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयजस्ता महत्वपूर्ण स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गरिने छ । त्यसका लागि उचित बजेट प्रबन्ध गरिएको छ ।
वडा नं. १५ मा जेष्ठ नागरिक मैत्री पार्क निर्माण, घरनक्शाहरु डिजिटाइजेशन गर्न, भूमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमा रहेका लालपूर्जाविहिन घरहरुको सूचीकृत गर्न र जग्गा नापजाँच तथा हालसाविक गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उपप्रमुख अर्यालले बताउनुभयो ।
संघ तथा प्रदेश सरकारको सहकार्यमा वडा नं.३, ४, ६, ७ र ८ हुँदै बग्ने सुखौरा खोला व्यवस्थित गरि हरियाली सहित पैदल मार्ग निर्माणका पहल गरिने बजेटमा उल्लेख छ । यसैगरी न्यायमा सर्वसाधारणको पहँुच वृद्धि गर्न र विवादरहित, हिसांरहित न्यायोचित समाज निर्माण गर्न वडास्तरमा मेलमिलाप केन्द्र स्थापना र नयाँ मेलमिलापकर्ता थप गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उपप्रमुख अर्यालले बताउनुभयो ।
उपमहानगरपालिका जनतामा सूचनाको पहुँच बढाउन, सम्बद्ध सूचना तथा तथ्यांकलाई एकीकृत र व्यवस्थित गर्न डाटा बैंकको स्थापना गर्न, नगरका विभिन्न स्थानमा आवश्यकताअनुसार फ्री वाईफाई र आइपीटीभी जडान गर्न, वेबसाइट, मोबाइल एप, डिजिटल डिस्प्ले र च्याटबट निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । अव्यवस्थित रूपमा छरिएका ठेला गाडी व्यवस्थापन गरी रात्रीकालीन बजार सञ्चालन गरिने छ ।
खेलकुदका लागि पूर्वाधारहरु विकास गर्न, खेलाडीहरुलाई उत्साहित र क्रियाशील बनाउन विविध विधाका खेलकुद प्रतियोगिता सञ्चालनका साथै नगरका विद्यालयहरुका बीचमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
बुटवलभित्रका सबै गृहिणी महिलाहरुलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका लागि रु. ३ करोड विनियोजन गरिएको छ भने मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउन तथा विद्यार्थीहरुलाई कमाउँदै पढ्दै गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
महिलाहरुलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रमलाई पनि निरन्तरता दिइएको उपप्रमुख अर्यालले बताउनुभयो । आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, लोपोन्मुख समुदाय, असहाय, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यकलगायत समाजमा पछाडि पारिएका व्यक्ति वा समुदायलाई मूल प्रवाहमा ल्याउने गरी क्षमता विकास गरिने उहाँको भनाइ छ ।
एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिइने उपप्रमुख अर्यालले बताउनुभयो ।
उल्लेखित बजेट कार्यक्रमहरु सफलतापूर्वक कार्यान्वयन गरी ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’को ध्येय पूरा हुने विश्वास लिएको उपप्रमुख अर्यालको भनाइ छ ।