बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु एक अर्ब १० करोड ५२ लाख ६८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको १३ औँ नगरसभामा उपप्रमुख विना रानाले बजेट प्रस्तुत गर्नुभएको हो । कृषि बिकास क्षेत्र तर्फ रु. दुई करोड ६७ लाख ८ हजार र समग्र पशु बिकासको लागि रु ९३ लाख ६७ हजार विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ निर्माणाधिन १५ सैयाको आधारभूत अस्पताललाई सम्पन्न गर्ने, संघीय सरकारद्धारा सालझण्डीमा निर्माण हुने ट्रमा केयर सेन्टरको निर्माण कार्यलाई यथासिघ्र अगाडि वढाउने , महिलाको पाठेघरको मुखको क्यान्सरको नियमित परीक्षण गर्ने लगायतका कार्यक्रम समेटिएको छ ।
स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र र नागरिक आरोग्य केन्द्रको लागि औषधि तथा उपकरण खरिद तथा व्यवस्थापन गर्न रु. ४६ लाख ४७ हजार विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा अति विपन्न नागरिकलाई स्वास्थ्य सस्था सम्म पुग्न निशुल्क एम्वुलेन्स सेवा सन्चालन गर्नका लागि रु १४ लाख विनियोजन गरिएको छ ।
मुटु तथा मृगौला रोगका विरामीहरुले डायलाइसिस सेवा लिन वुटवल आउन जानको लागि निशुल्क यातायात व्यवस्था मिलाइएको छ । नियमित गर्भ जाँच गराइ बर्थिंग सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई नेपाल सरकारले दिदै आएको यातायात खर्चमा पोषण प्रवर्धनका लागि प्रतिव्यक्ति रु १ हजार थप गर्ने व्यवस्था मिलाइएको छ ।
शिशुदेखि कक्षा ६ सम्मका सबै बालबालिकालाई पोषिलो खाजा खाने व्यवस्थाका लागि संघीय सरकारले उपलव्ध गराएको रकम रु १ करोड ३० लाख ४० हजारमा ४७ लाख बजेट थप गरी रु. १ करोड ७७ लाखा ४० हजार वजेट विनियोजन गरिएको छ ।
महिला सशक्तिकरण, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको पहिचान, एकल महिला, वाल अधिकार, दलित जनजाति तथा अपाङ्ग लक्षित कार्यक्रम तथा महिला संग उपप्रमुख कार्यममको लागि रु. २५ लाख विनियोजन गरिएको उपप्रमुख रानाले बताउनुभयो ।
वालीविरुवाको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उन्नत जातको वीउ विरुवा वितरण, वालीहरुमा लाग्ने विभिन्न किरा, रोग नियन्त्रण गर्न विषादी तथा माइक्रो न्युट्रेन्ट निशुल्क वितरण र वाली बिमा गर्नका लागि रु.३१ लख तथा मसलावाली तथा आलुवालीको शित गृहमा भण्डारण तथा ढुवानीमा अनुदान, मुर्गिया हाटवजारमा शित गृह भण्डारण निर्माण सम्पन्न गरी नगरपालिका र निजी क्षेत्रको समन्वयमा नियमित रुपमा सन्चालन गर्न रु. १ करोड ७१ लाख ५० हजार विनियोजन गरिएको छ ।
उत्पादन साथमा, अनुदान हातमा“ भन्ने नारालाई अंगिकार गर्दै दुध र मासु उत्पादनमा आधारित प्रोत्साहन, पशुबिमा कार्यक्रम, बाख्राको पकेट कार्यक्रम र ठछ प्रतिशत अनुदानमा मत्स्य तथा पशुपंछी व्यवसायिक कृषकहरुलाई यन्त्र उपकरण वितरण समेतको कार्यका लागि रु. ४० लाख विनियोजन गरिएको उपप्रमुख रानाले बताउनुभयो ।