तानसेन । तानसेन नगरपालिकाले आगामी वर्षका लागि रु एक अर्ब २ करोड ८ लाख ६४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०–८१ का लागि पुँजीगततर्फ रु ४६ करोड ६६ लाख ३९ हजार र चालु खर्चतर्फ ५६ करोड १४ लाख २५ हजार रहेको छ ।
तानसेन नगरपालिकाको १३ औ नगरसभा तथा अबिधेशनमा नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिंजालीले आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्नुभएको हो । नगरलाई नेपालमै नमूना नगरपालिका बनाउने, तानसेनलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य बजेटले लिएको छ ।
त्यस्तै, ऐतिहासिक तथा सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय आकर्षणको रुपमा रहेको रानीमहल तथा श्रीनगर पार्कलाई व्यवस्थितरुपले सञ्चालन गर्ने योजना पनि अघि बढाइएको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत विषयलाई प्राथमिकता दिएर काम गर्ने योजना समेत नगरपालिकाले बनाएको छ । नगरसभाका सदस्यले तानसेन नगरपालिकाले विगतका तुलनामा पछिल्लो समय केही राम्रा कामहरु गर्न सफल भए पनि अझ प्रयाप्त नभएको भन्दै खेल मैदान स्तरोन्नति, सडक, सवारीसाधन पार्किङको व्यवस्थापन, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, लक्षित वर्गका कार्यक्रम प्रभावकारी गराउनु पर्ने र पर्यटकीय क्षेत्रको विकासलगायतको क्षेत्रमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।