रुपन्देही । कोरोना महामारिपछि उद्योग व्यवसाय आर्थिक संकटमा छन् । कोरोना संक्रमणका कारण नराम्ररी प्रभावित भएका उद्योग व्यवसाय अझै लयमा फर्कन सकेका छैनन् ।
देशको अर्थतन्त्र बलियो बनाउन योगदान गरेका उद्योग व्यवसाय नै धरासायी भएपछि यसको प्रभाव सबै क्षेत्रमा परेको छ । यही समस्याका बीचमा नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाइ गरेपछि उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै उद्योगी व्यवसायी आन्दोलनमा छन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन र बैंकको व्याजदरविरुद्ध उद्योगी व्यवसायीले लुम्बिनी प्रद्शका जिल्लामा पनि निरन्तर आन्दोलन गरिहेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पँुजी मार्गदर्शन तथा बैंक तथा वित्तिय संस्थाहरुको अव्यबहारिक नीतिका विरुद्ध व्यवसायीले बुटवलमा हस्ताक्षर अभियान नै चलाए ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग व्यापार संगठन रुपन्देही लगायतका संस्थाहरुले आन्दोलन स्वरुप धर्ना, विरोध र्याली जस्ता कार्यक्रम गरेका छन् ।
आर्थिक संकटका कारण बैंकको ब्याजदर समेत बुझाउन नसक्ने अवस्था सृजना भएको उद्योगी व्यवसायीको गुनासो छ । एकातिर राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन र अर्कोतिर बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदरले गर्दा उद्योग व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको व्यवसायी गोविन्द ज्ञवाली बताउनुहुन्छ ।
राष्ट बैंकले नयाँ मार्गदर्शन जारी गर्दै क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पूँजी कर्जामा नयाँ व्यवस्था गरेपछि उद्योगी व्यवसायी रुष्ट बनेका हुन् ।
यस मार्गदर्शन अनुसार फर्म÷संस्था÷कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोड वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ ।
यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ । चालू पुँजी कर्जामा सीमा तोकिदिएपछि उद्योगी व्यवसायीले बैंकबाट ऋण लिन समेत लिन नसकेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू बताउनुहुन्छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पँुजी मार्गदर्शन तथा बैंक तथा वित्तिय संस्थाहरुको अव्यबहारिक नीतिले यस क्षेत्रका उद्योगी व्यवसायीलाई जटिल अवस्थामा पु¥याएको उहाँको भनाइ छ ।
राष्ट बैंकले जारी गरेको नयाँ मार्गदर्शनका विरुद्धमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले हस्ताक्षर संकलनका साथै विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको छ । पुस २१ गतेसम्म प्रदेशका १२ वटै जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन हुने जिल्ला उद्योग वाणिज्य संघले हस्ताक्षर संकलन गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माको भनाइ छ ।
अधिकांश उद्योगमा बैंकको ऋण लगानी छ । कोरोनाका कारण व्यवसाय लयमा फर्कन नसक्दा ब्याज समेत बुझाउन समस्या भएका बेला सरकारबाट राहात पाउनुको साटो अव्यवहारिक नीति आउनु बिडम्बना हो, भन्नुहुन्छ, सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाका महासचिव बिजय पाण्डे । “व्यवसाय धरासायी हुँदा हामी ब्याजदर बुझाउनै नसक्ने अवस्थामा पुगेका छौँ, यस्तो अवस्थामा नयाँ बनेको सरकारले उद्योग व्यवसायमैत्री नीति ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।
उद्योग व्यवसायमा छाएको आर्थिक मन्दिरले व्यवसायीले समयमा ब्याज नबुझाउँदा बैंकका कर्मचारी ब्याज र सावा भन्दै घरमै आउने गरेको उहाँको भनाइ छ ।
वर्तमान परिस्थितिमा बैंकको ब्याज र सावा तिर्न सक्ने अवस्था नभएकाले कर्जाको सीमा बढाउन उद्योगी व्यवसायीले माग गरेका छन् । कर्जाको व्याजलाई एकल अंकमा झार्नुपर्छ भन्नुुहन्छ, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली । चालु पुजी कर्जा निर्देशिकाको आडमा बैंकहरुको ज्यादती बढ्दै जाँदा यसको असर सबैतिर परेको उहाँ बताउनुहुन्छ ।
अहिले आर्थिक संकटमा परको उद्योग व्यवसाय बन्द हुन नदिई टिकाउन आवश्यक छ त्यसका लागि सरकारले तुरुन्त गर्ने नयाँ नीति ल्याउनुपर्ने व्यवसायीहरु बताउँछन् ।
“सरकारले ल्याएको नीति उद्योगी व्यवसायीलाई संरक्षण गर्ने नीति छैन, नेतृत्वकर्ताले आफु अनुकुल नभई व्यवसायीको हितमा नीति बनाउन आवश्यक छ, सरकारले अब अभिभावकत्व प्रदान गर्नुपर्छ”, नेपाल चेम्बर कफ कमर्श लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेल भन्नुहुन्छ ।
यसअघि सरकारले पुजिगत खर्च गर्न नसक्दा बजारमा पुजीको अभाव हुन जाँदा बैंकको ब्याजदर बढेकाले पुजिगत खर्च बढाउनुपर्ने उहाँको सुझाव छ । “अहिले नीजि क्षेत्र केही गर्न नसक्ने अवस्थामा छ । सरकारी सेवा सुविधा पनि पहुँचवालाले लिएका छन् । तर मध्यम स्तरका व्यवसायी झन मारमा छन्”, उहाँले भन्नुभयो । तत्कालका लागि बैंकको ब्याज तिर्ने समय थप गर्ने, ब्याजदर कम गर्ने र सरकारले तत्कालै पुजिगत खर्च बढाउने हो भने समस्या समाधानतर्फ जाने पोखरेलको भनाइ छ ।
हिजोका दिनमा बैक तथा वित्तिय संस्थाले नै ऋण लिन उद्योगीलाई प्रेरित गरे । सोही अनुसार उद्योग, व्यवसायमा ऋण लगानी भयो तर, कोरोनाका कारण पछिल्लो समय उद्योग व्यवसाय राम्रोसँग चल्न सकेनन् । यस्तो समयमा सरकार, राष्ट्र बैंक र अन्य बैंिकङ क्षेत्र पनि जिम्मेवार हुनुपर्ने उद्योगी व्यवसायी बताउँछन् ।
बुटवल उद्योग वाणिज्य संघका अनुसार बैंकको ब्याजदरकै कारण यस क्षेत्रमा चार जना व्यवसायीले आत्महत्या गरे । अझै यस्तै अवस्था कायम रहे बैंकहरु विरुद्ध प्रतिकार गर्ने अवस्था आउने उद्योग बाणिज्य महासंघका सदस्य महेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ ।
अहिले संकटपुर्ण अवस्थामा बित्तीय संस्थाहरुले सहकार्य गर्नुका साटो आफुखशी व्याजदर बढाएकाले व्यवसायी आक्रोशित भएका छन् । व्यवसायीहरुले कर्जालाई रि–सेड्युल गर्न पनि आवाज उठाउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै पनि कम्पनीलाई चालू पुँजी कर्जा दिँदा कम्पनीको चालु सम्पत्तिको परीक्षण तथा मुल्यांकन गरी कम्पनीको क्षमताका आधारमा वार्षिक कारोबारको अधिकतम २० प्रतिशत मात्र दिन पाइने व्यवस्था छ ।
एक करोड रुपैयाँभन्दा माथिको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा भने स्थायी वा अस्थायी चालु पुँजी आवश्यकता पहिचान गरी अस्थिर चालु पुँजीको वार्षिक अनुमानित कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमको सीमा निर्धारण गर्नुपर्ने तोकिएको छ । यी व्यवस्थाहरु परिवर्तन हुनुपर्ने उद्योगी व्यवसायीको माग छ । व्यवसायीको चौतर्फी दबाबका कारण राष्ट्र बैंकले पनि यो विषयमा छलफल गरिरहेको बैंकका सूचना अधिकारी पोखरेलले बताउनुभयो ।