विराटनगर । बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाउनुभएको थियो । अर्थमन्त्रीले वार्तामा बोलाएपछि आन्दोलन स्थगित गरिएको मोरङ व्यापार संघ का अध्यक्ष नविन रिजालले बताउनुभयो ।
बैंकको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यावसायीले पुस ७ गतेयता नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिएका थिए । उद्योगीले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग राखेका छन् ।
अर्थमन्त्रीले बोलाएपछि वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट ६ जनाको टोली जानेछ ।