बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अब बन्ने सरकारले उद्योगी व्यवसायका समस्या हल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शुक्रबारदेखि भैरहवामा सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) को उद्घाटन गर्दै गृहमन्त्री खाँणले पछिल्लो समय नेपालका उद्योगी व्यवसायीले आर्थिक मन्दीको सामना गर्नुपरेको जनाउँदै यो विषयमा प्रधानमन्त्री समेत गम्भीर रहेको बताउनुभयो ।
निर्वाचनमा हार जित स्वभाविक भएको जनाउँदै उहाँले निर्वाचनको परिणामलाई सहजताका साथ लिनुपर्ने बताउनुभयो । निर्वाचनलाई व्यवस्थित र शान्तिपूवर्क सम्पन्न गराउन सहयोग गर्ने मतदाता, उम्मेदवार, राजनीतिक दल, निर्वाचन आयोग, प्रशासन, सुरक्षाकर्मी सबैलाई धन्यवाद दिनुभयो ।
प्रतिनिधिसभामा नभए पनि यस क्षेत्रका विकासका लागि निरन्तर अगाडि बढ्ने खाणले प्रतिबद्धता जनाउनुभयो ।
नेपालमा रात्रीकालिन बजारको खासै प्रचलन नभए पनि पर्यटन व्यवसायको प्रवद्र्धनका लागि २४ घण्टा बजार सञ्चालनको अवधारणा ल्याइएको बताउँदै उहाँले रुपन्देहीमा हालसम्म १० वटा रेष्टुरेण्टले २४ घण्टा व्यवसाय सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको जानकारी गराउनुभयो ।
गृहमन्त्री खाणले मेला महोत्सवका निम्ति मण्डप निर्माण गर्न आवश्यक जग्गा खोजीका लागि सिद्धार्थनगर नगरपालिकालाई आग्रह गर्दै केन्द्रीय सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मुलुकको समृद्धिका लागि कृषि, पर्यटन र उद्योगको विकास आवश्यक रहेकामा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले निजी क्षेत्रको समस्या समाधानका लागि राजनीतिक दलको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अबको समय आर्थिक विकासको समय भएको बताउँदै उद्योग व्यवसाय प्रवद्धन गर्ने नीति ल्याउन आग्रह गर्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले आगामी बन्ने सरकार उद्योगी व्यवसायीको समस्या समाधानमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । उपयुक्त प्रदर्शनीस्थलको अभावका कारण मेला महोत्सव सञ्चालन गर्न अस्थायी संरचनामा ठूलो रकम खर्चिनुपरेको उहाँले गुनासो गर्नुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले चर्को बैंक ब्याजदरका कारण उद्योगहरु बन्द हुन थालेकाले तत्काल ब्याजदर घटाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकार उद्योगी व्यवसायीको समस्यामा गम्भिर हुनुपर्ने बताउनुभयाो ।
‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ आगामी पुस ४ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका र लुम्बिनी विकास कोष तथा प्रवद्र्धकमा नेपाल पर्यटक बोर्ड काठमाडौं र पर्यटन विकास परिषद लुम्बिनी प्रदेश रहेका छन् । महोत्सवमा २५० वटा स्टल रहेका महासचिव विजय पाण्डेले जानकारी दिनुभयो ।