बुटवल–बुटवलका पुराना सुनचाँदी व्यवसायी ज्योतिलाल विश्वकर्माले पहेलो धातु सुन तोलाको एक लाख रुपैयामा कारोबार होला भनेर विगतमा कल्पना पनि गरेका थिएनन्। तर आज बजारमा सुनको भाउ तोलामा एक लाख नाघेको छ।
आइतबार बुटवलमा सुन एकलाख एक सय रुपैयाँमा कारोबार भइरहेको बेला ज्योतिलालले एकछिन आफ्नो किशोर अवस्थामा सुनको व्यापार गर्दाका क्षण सम्झन्छन्। जतिबेला उनले पहिलोपटक सुन किनेका थिए।
त्यो बेला सुनको मूल्य सुन्दा अहिलेका नयाँ पुस्ताले आश्चर्य मान्छन्। सुनचाँदी व्यवसाय ज्योतिलालको पुख्र्यौली पेशा हो। २०२० सालको आसपासतिर स्याङ्जाको गुरुङदीबाट आफ्ना बुबासँग बजार गर्न उनी पाल्पाको तानसेन आएका थिए। त्यसबेला आफूले डेढ सय रुपैयाँ तोलामा सुन किनेको उनी सम्झन्छन्।
‘पाल्पामा आएर डेढसय रुपैया तोला सुन किनेर लगेको मलाई याद छ–उनले भने–सामान लिन कि पाल्पा कि त बुटवल आउनुपर्दथ्यो, बुटवल आउन चार पाँच दिन नै लाग्थ्यो, पाल्पा जान एक दिन र आउन एक दिन गरेर २ दिनमा काम सकिन्थ्यो।’
त्यसबेला कालीगण्डकी नदीको राम्दीमा मात्र झोलुंगे पुल थियो। राम्दीबाट आउँदा घुमौरो बाटो पर्दथ्यो। त्यसैले कहिले दैलातुङ र कहिले रानीघाट भएर डुंगा तरेर पाल्पा आउनुपरेको ज्योतीलाल सम्झन्छन्।
उनले भने–‘तानसेनमा त्यसबेला तानसेनमा आठ दस वटा जति सुनपसल थिए, शाक्य, बज्राचार्यहरुले सुनको व्यवसाय गर्दथे।’
२०३४ मा ज्योतिलाल बुटवल झरे। अमरपथमा आफ्नै नाममा ज्योतिलाल सुनचाँदी पसल खोले। बुटवलमा व्यवसाय थाल्दा त्यसबेला सुन प्रतितोला ५ सय रुपैयाँमा किनबेच हुन्थ्यो।
‘अहिले जस्तो सोरुममा तयारी गहनाहरु राख्ने गरिएको थिएन, गाउँबाट आएकाहरुले अडर गर्थे, त्यसपछि मात्र हामीले बनाउँथ्यो–ज्योतिलालले भने–जतिखेर आए त्यतिखेर ग्राहकले भनेजस्तो गहना पाउँछन्।’
उनले बुटवलमा सुरु गर्दा दुइदर्जन जति मात्र सुनपसलहरु थिए। अमरपथ बाहेक अन्य ठाउँमा सुनचाँदीका पसल थिएनन्।
समयक्रमसँगै सुनको भाउ क्रमशः वृद्धि हुँदै गयो। ‘पाँचसय रुपैयाँबाट सात आठ सय, हजार १२ सय हुँदै क्रमिक रुपमा बढ्दै गयो–ज्योतिलालले भने।
२०५० साल पछि अमरपथ बाहिर र जिल्लाका अन्य बजारहरुमा पनि सुनचाँदी पसलहरु खुलिसकेका थिए। त्यसबेला सुनको मुल्य १० हजारको आसपासमा कारोबार हुन्थ्यो। भाउ बृद्धि हुँदै गएर २०६८ सालमा सुन तोलाको ६३ हजार सम्म पुग्यो। फेरि घटेर ४८ हजारसम्म पनि झर्यो। कहिले स्थीर र कहिले घटबढ भइरहेपनि पछिल्लो समय पत्याउनै नसकिने गरी सुनको मूल्य उकालो लागेको ज्योतिलालले बताए।
‘अहिले जस्तो एकै सालमा १०–२० हजार बढ्दैनथ्यो, वर्षमा २–३ हजार जति मात्र बढ्थ्यो– उनले भने–मेरै पालामा लाख पुग्ला भन्ने सोँचेको थिइन।’
उमेरले ७० वर्षका ज्योतिलाल हिजोआज कमै मात्र पसलमा बस्छन्। छोराहरुले नै व्यवसाय सम्हालेका छन्। ‘यस्तो तरिकाले भाउ बढिरहेको रहेछ, कारोबार छैन भन्छन् छोराहरु, खै कहिलेसम्म यस्तो हो’–उनले चिन्ता व्यक्त गरे।