बुटवल–बुटवलमा सुनको मूल्य प्रतितोला एकलाख रुपैयाँ नाघेको छ। बुटवलसहित प्रदेश ५ का मुख्य शहरहरु र चितवनक्षेत्रमा समेत एक तोला सुनको मूल्य १ लाखभन्दा बढी पुगेको छ।
आज आइतबार सुनको मूल्य एकलाख एकसय रुपैयाँ तोकिएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबी विश्वकर्माले बताए। नेपाल सुनचाँदी व्यवसायी संघले भने आज सुनको भाउ ९९ सय हजार ६ सय रुपैयाँ तोकेको छ। संघले तोकेको यो मूल्य काठमाडौं र आसपासमा मात्रै लागू हुन्छ।
काठमाडौ बाहिर भने दुरीको हिसाबमा मूल्य परिवर्तन हुन्छ। जसअनुसार बुटवलमा काठमाडौंको भन्दा ५ सय रुपैयाँ बढी पर्ने सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष एमबी विश्वकर्माले बताए।
रुपन्देही, चितवन र दाङमा ५ सय रुपैयाँ काठमाडौंको मूल्यभन्दा बढी हुन्छ। बाँके काठमाडौको मूल्य भन्दा १ हजार रुपैयाँ बढी पर्दछ।
सुनको मूल्यमा निरन्तर उकालो लागेपछि बजारमा कारोबार ठप्प भएको छ। कोरोना महामारी र लकडाउनको कारण व्यवसायमा असर परेका बेला मूल्य बृद्धिले झन कारोबार ठप्प भएको व्यवसायीको गुनासो छ।
त्यसमाथि दिन प्रतिदिन मूल्यवृद्धिका कारण सुन किन्ने ग्राहक पसलमा देखिनै छाडेका छन्। धेरै गहना पसलमा बोहनी समेत हुन नपाएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबी विश्वकर्माले बताए।
‘सामान्य अवस्थामा मेरो राम्रै चहलपहल हुने पसल हो, अहिले धेरै दिन त बोहनी नै नभएको अवस्था छ–उनले भने–अरु धेरै व्यवसायीहरुको त्यही गुनासो छ।’
कोरोना भाइरस र लकडाउनको कारण सिंगो मुलुकमा नै आर्थिक संकट छ। रोजगारीमा प्रत्यक्ष असर परेको छ। आर्थिक संकटका कारण सुन किन्ने भन्दा बेच्नेहरुको संख्या निकै बढेको सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष विश्वकर्माको भनाइ छ। ‘यस्तो बेलामा सरसापट पनि चल्दैन, बैंकमा पनि पैसा हुँदैन, मान्छेले झलझली आफ्नो गहना देख्न थाल्छन्–उनले भने–अहिले प्रत्येक दिन गहना बेच्न भनेर ग्राहक नआएको कुनै सुनपसल छैन होला सायद।’
सुन बेच्ने ग्राहक आएपनि आफूहरुले तुरुन्त नगद दिन सक्ने अवस्था नभएको विश्वकर्माले बताए। सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष दीपक विश्वकर्माले लकडाउन अघिको सामान्य अवस्थाको तुलनामा अहिले त्यसको ४ प्रतिशत पनि कारोबार नभएको बताए। कारोबार नभएपछि कतिपयले सुनचाँदी पसल पनि नखोलेको उनको भनाइ छ।