भैरहवा–रुपन्देहीको सियारी २ का श्रीवास्तव मल्लाह विगत २० वर्षदेखि केरा खेती गर्दै आएका छन्। परम्परागत अन्न खेती गर्दै आएका उनी वर्षेनी नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै केराखेतीलाई मूख्य पेशा बनाएका छन्।
केराको पकेट क्षेत्रको रुपमा रहेको सियारी र मायादेवीको क्षेत्रमा उनी सहित २५० भन्दा बढी कृषकले केरा खेती गर्दै आएका छन्।
मल्लाहले ५ कठ्ठाबाट सुरु गरेको केरा खेती अहिले १० विघामा पुगेको छ। आफ्नो केही जग्गा र लिजमा लिएको जग्गामा लगाएको केराबाट उनले प्रति विघा ७ लाख भन्दा बढीको केरा बिक्री गर्दै आएका छन्।
केरा खेतीबाट सन्तुष्ट भएपनि उनलाई भारतीय केरा नेपालमा आएपछि समय समयमा तनाब सिर्जना हुने गरेको छ। दिनप्रतिदिन महँगी बढेपनि भारतीय केरासँगको प्रतिस्पर्धाले विगत २ वर्ष देखि एउटै मूल्यमा केरा बेच्दै आएको दुखेसो मल्लाहले गरे।
यहाँको केराले रुपन्देहीसहित छेउछाउको जिल्लालाई आत्मनिर्भर बनाएपनि भारतबाट आएको केराका कारण २ वर्ष देखि बेच्दै आएको मूल्य बढाउन नसकेको उनले बताए।
‘लगानी अनुसारको प्रतिफल छैन, भारतमा किसानको लगानी कम छ, त्यहाँ सरकारले कृषकहरुलाई मलखाद, बीउ, विषादी, कृषि औजारलगायतका स्रोत साधनमा सहुलियत दिन्छ जसले उत्पादन मूल्य न्यून हुन्छ–उनले भने–भारतको तुलनामा यहाँ उत्पादन करिब दोब्बर छ, तैपनि हामीले भारतकै दरमा केरा बेच्नुपर्ने बाध्यता छ।’
बिचौलियाले केही पनि नगरेर किसानले भन्दा धेरै नाफा लिन्छन्, यसमा सम्बन्धित निकायले निगरानी गरेको छैन, जसको असर हामी किसानलाई परेको छ,–किसान शिव शंकर यादवले भने।
‘हामीले ३५–४० रुपैयाँ दर्जन केरा बेचे पनि उपभोक्ताले सय रुपैयाँमा किन्नु पर्ने बाध्यता छ’–उनी भन्छन्।
अहिले स्थानीय र प्रदेश सरकारले सिचाई, औषधीमा अनुदान दिएपनि मूख्य समस्या मलको छ। स्थानीय सरकार र प्रदेश सरकारको अनुदानमा ३५ लाख बराबरको केरा पकाउने मेशिन उनीहरुले पाएका छन्।
‘अहिले यान्त्रिकरण भएर काम गर्न सहज छ, उत्पादन पनि सन्तोषजनक नै छ, तर बजारीकरण, संकलन केन्द्र र बेलाबेलामा मल, विषादीको अभावले हामीलाई समस्या पर्छ’– रामसमुझ गुप्ताले भने।
‘तरकारी खेतीमा लगानी र मिहिनेत बढी हुने तर लगानी अनुसारको उत्पादन र मूल्य नभएपछि १० विघा जग्गा लिजमा लिएर केरा खेती गरे, पहिलो सिजनमै सोचे भन्दा बढी आम्दानी भयो’–सियारी गाउँपालिका ४ ओर्लहवाका रोहित कुमार पासीले भने।