बुटवल–बुटवलको होराइजन चोक र आसपासको सडक हिडिनसक्नुछ। बर्खा सुरु हुनुअघि यो सडक बिग्रेभत्केको त थियो, तर हिडिनसक्नु थिएन।
असार लागेपछि एकाएक सडक भत्काएर स्तरोन्नतिको काम शुरु भयो। नाली निर्माणको लागि सडक किनार खनेर बाटोभरि माटो थुपारिएको छ। हिउँदभर सडक मर्मतसम्भारको चासो थिएन। जब बर्खा लाग्यो, तब शुरु भयो निर्माणको काम।
बर्खायाममा सडक बिगार्दा ओहोरदोहोर गर्न समस्या परेको सडक किनारमा फेन्सी पसल गरेर बसेकी अरुणा राना बताउँछिन्। ‘यस्तो हिलैहिलो, खाल्डाखुल्डी छ, कतै गएर आउन पनि समस्या छ–उनले भनिन्–लकडाउन अवधिभरि पसल बन्द भयो, अब अलिअलि ग्राहक आउँथे कि भनेको बाटो हिड्नै नसक्ने बनाइदिए।’
सडकका निर्माण सामग्री, हिलाम्मे बाटोका कारण यात्रु तथा स्थानीयबासीले अब बर्खाभरि सास्ती भोग्नुपर्नेछ। स्थानीयबासी कमल पोखरेलले विकासको काम गर्न बर्खा ताक्दा सास्ती पाउनुपरेको बताए।
‘आवतजावत रोकिँदा बेस्सरी अफ्ठ्यारो भएको छ, हिलोले उस्तै समस्या छ–उनले भने–काम सुस्त–सुस्त भइरहेको छ, बर्खाभर समस्या हुने भयो, बजेट पचाउन बर्खामा काम गर्छन्।’
बुटवलको कालिकापथ सडकको विस्तारको क्रम यसै वर्षदेखि सुरु भएको हो। बुटवलको नेपालगञ्जरोड–इट्टाभट्टी–तिनकुने–कालिकानगर हुँदै योगीकुटीसम्म बाइपास सडकको रुपमा यसको विस्तार गर्न लागिएको हो।
तर बर्खायाममा काम हुँदा सवारी तथा यात्रुहरुलाई ओहोर दोहोरमा समस्या भएको छ। कालिकापथ अन्तर्गत तिनकुने, बसपार्क लगायतका क्षेत्रमा मध्य बर्खामा सडकमा निर्माण सामग्री थुपारेर काम छ।
कालिकापथ र होराइजन स्कुल अगाडिको सडकको आर्थिक वर्ष २०७६/०७७ मा नाली निर्माणको लागि मात्र बजेट परेको छ। चालु आर्थिक वर्षमा कालोपत्रेको लागि बजेट छुट्याइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।
साउन लागेपछि पनि यी सडकमा धमाधम काम भइरहेको छ। बर्खामा यसरी काम गर्दा निर्माण भएका संरचना कमजोर हुन्छन्। तर, बुटवल ११ का वडाध्यक्षका रामचन्द्र क्षेत्रीले बर्खाले प्रभाव नपर्ने गरी काम गरिरहेको दाबी गरे।
‘हामीले बर्खालाई छलेर काम गरिरहेका छौं, पानी नपर्दा मात्र काम भएको छ–उनले भने –१५–२० दिनमा नाली निर्माण सक्ने तयारी छ, जेठमा सकिने भनेर काम सुरु गरेका हौं, काम गर्दैगर्दा लकडाउन भयो।’
वडाध्यक्ष क्षेत्रीले स्थानीयलाई पनि अफ्ठ्यारो नहुने गरी काम भइरहेको दाबी गरे। तर, पानी बन्द भएको समयमा गरेको काम पानी पर्नेबित्तिकै पानी र हिलोले उस्तै बनाइसक्छ।
यस्तै बुटवल ट्राफिकचोक नजिक मैत्रीपथको सडक बर्खामा बिगारिएको छ। दायाँ–बायाँ निर्माणको सामग्रीसँगै गाडीहरुको पार्किङले सडक अस्तव्यस्त देखिन्छ।
लकडाउन भन्दा केहीअघि सडक बनाउन थालिएको थियो। बीचमा रोकिएको सडक लकडाउनपछि फेरि असारमा काम सुरु भएको हो। असारे विकासका कारण हैरान भएको स्थानीय व्यवसायी श्रीप्रसाद श्रेष्ठले बताए।
‘राम्रोसँग काम गरेको भए पहिल्लै सकिन्थ्यो, काममा पनि ढिलासुस्ती भइरहेको छ–उनले भने–पार्किङ गर्ने ठाउँ छैन, ग्राहकहरु आउने ठाउँ छैन। बर्खामा काम गर्दा कसरी गतिलो हुन्छ होला र।’
यस्तै कालिकापथ सडकको लागी नाली निर्माण पछि सडकको बाँकी काम प्रदेश सरकारले गर्ने छ।
उपमहानगरले नाली निर्माण सम्मको काम गरेको अब कालोपत्रे लगायत बाँकी काम प्रदेश सरकारले गर्ने बुटवल उपमहानगरका योजना प्रमुख सुमन श्रेष्ठले बताए।
‘नाली निर्माण पछि कालिकापथ सडक अब हाम्रो कार्यक्षेत्र भित्र पर्दैन प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेका छौं–उनले भने–हालसम्म ६ करोड जति खर्च भइसेको छ।’
श्रेष्ठले कालिका पथ सडकमा विवाद भएको क्षेत्रमा मात्र अहिले नाली निर्माण भइरहेको बताए। ‘धेरै ठाउँमा त पहिले नै सकिसकेको छ, जहाँ घर भत्काउने कुराको विवाद थियो, त्यहाँ त्यहाँ मात्र अहिले भएको हो’–उनले भने ।
कालिकापथ सडक विस्तारका क्रममा घर भत्काउने विषयको विवाद अदालत सम्म पुगेको थियो। ८ महिना अघि उच्च अदालत तुल्सीपुर बुटवल इजलासले सडक विस्तारको लागि बाटो खोलिदिएको थियो। प्रदेश सरकारले कालिकापथ सडकको स्तरोन्नतिको लागि चालू आर्थिक वर्षमा ७ करोड रुपैयाँ विनियोजन गरेको छ।