बुटवल–आर्थिक वर्ष २०७५/७६ सम्म प्रदेश ५ को बेरुजु ९४ करोड ७३ लाख देखिएको छ। यो प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समिति तर्फको हो।
बुधबार सार्वजनिक भएको महालेखापरीक्षकको प्रतिवेदनअनुसार प्रदेश ५ मा अघिल्लो आर्थिक वर्षको बाँकी ५ लाख र सोही आर्थिक वर्षको ९४ करोड ६८ लाख गरी ९४ करोड ७३ लाख रुपैयाँ बेरुजु देखिएको उल्लेख छ।
सो बेरुजु रकममा ३२ करोड २८ लाख रुपैयाँ पेश्की रहेको छ। प्रदेश ५ का १ सय ५३ वटा कार्यालयमा आर्थिक वर्ष २०७५/७६ को लागि ३० अरब २८ करोड ३८ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ९४ करोड ६८ लाख बेरुजु देखिएको हो। लेखा परिक्षण रकमको तुलनामा बेरुजु प्रतिशत ३.१३ प्रतिशत हो।
यस्तै प्रदेश ५ का स्थानीय तहमा ५ अरब ४ करोड ५६ लाख रुपैयाँ बेरुजु देखिएको छ। प्रदेश ५ का १ सय ९ स्थानीय तहको कुल १ खरब १७ अरब ५९ करोड ६ लाख रुपैयाँको लेखा परीक्षण गर्दा लेखापरीक्षणको तुलनामा ४.६९ प्रतिशत बेरुजु देखिएको छ ।
उपमहानगरमा कति कति बेरुजु
प्रदेश ५ का ४ उपमहानगरपालिकाहरुमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ९ करोड १६ लाख रुपैयाँ रहेको छ।
२ अरब ९५ करोड ३३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ३.१० प्रतिशत बेरुजु देखिएको हो। अघिल्ला आर्थिक वर्ष समेतको समावेश गर्दा बुटवल उपमहानगरमा हालसम्म ११ करोड ४९ लाख रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ।
यस्तै दाङको तुल्सीपुर नगरपालिकाको ७.७२ प्रतिशत बेरुजु रहेको छ। उपमहानगरको २ अरब ७० करोड ५७ लाख रुपैयाँको लेखा परीक्षण गर्दा २० करोड ९० लाख रुपैयाँ बेरुजु देखिएको हो। यसमा अघिल्ला वर्षको समेत थप गर्दा हालसम्मको बाँकी बेरुजु २७ करोड ११ लाख रुपैयाँ हुन आउँछ।
घोराही नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को बेरुजु १४ करोड ६३ लाख रहेको छ। ३ अरब ६ करोड ६३ लाखको लेखा परीक्षण गर्दा ४.७७ प्रतिसत बेरुजु देखिएको हो। कुल बेरुजु २५ करोड ९५ लाख रुपैया रहेको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा १३ करोड ८० लाख रुपैया बेरुजु देखिएको छ । कुल ५ अरब २४ करोड ५७ लाख रुपैयाँको लेखा परिक्षण गर्दा २.६३ प्रतिशत बेरुजु देखिएको हो। अघिल्ला वर्षको समेत बाँकी गरेर कुल ४८ करोड ३४ लाख रुपैयाँ बेरुजु रहेको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ।