बुटवल- विगत ८ वर्षदेखि चर्चामै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणको कामले गति लिने संकेत गरेको छ।
सिद्धबाबा सुरुङ मार्ग निर्माणको लागि काम चालु आर्थिक वर्षभित्रै सुरु गर्ने गरी तयारी भइरहेको आयोजनाले जनाएको छ।
जसका लागि आह्वान गरिएको ग्लोबल टेण्डरमा ९ कम्पनीले आवेदन दिएका छन्।
आवदेन दिएका कम्पनीहरुसँग छलफल भइरहेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीले जानकारी दिए। उनका अनुसार आवेदन दिनेमा अधिकांश चिनियाँ कम्पनी रहेका छन्।
उनले अबको तीन महिनामा कम्पनी छनोट हुने बताए। कम्पनी छनोट भएपछि ९ महिनाभित्र डिजाइन बनाएर काम सुरु गर्नुपर्ने सर्त राखिएको छ। सरकारले सुरुङमार्गका लागि चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ छुट्टाएको छ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ५० करोड रुपैयाँ छुट्टाएको भए पनि प्रतिस्थापन विधेयकमार्फत २० करोड रुपैयाँ अर्थमन्त्री जनार्दन शर्माले घटाएका छन्।
कसले दिए सुरुङ बनाउन आवेदन
सुरुङ मार्ग बनाउनका लागि आवेदन दिने अधिकांश चीनका कम्पनीहरु हुन्।
जसअनुसार चाइना स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (बेइजिङ), चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (वुहान सिटी), चाइना फष्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (बेइजिङ) ले संयुक्त उपक्रम (जेभी) रहेका छन्।
चिनियाँ कम्पनी जेडआईसीजीले नेपाली शर्मा एण्ड कम्पनीसँग जेभी बनाएर आवेदन दिएको छ। एसीसीई चिनियाँ कम्पनीले नेपाली कम्पनी अनक कन्स्ट्रक्सनसंग जेभी बनाएर आवेदन दिएको छ। जसमा अनक कन्स्ट्रक्सन लिड कम्पनी रहेको छ।
सिनो हाइड्रो कर्पोरेशन लिमिटेड / पावर चाइना नर्थ वेष्ट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पावर चाइना रोड ब्रिज ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ)ले आवेदन दिएको छ।
चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशन/ चाइना रेलवे १४औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड र चाइना रेलवे सियुआन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड (बेइजिङ)ले पनि तीनवटा चिनियाँ कम्पनी मिलेर आवेदन दिएका छन्।
चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड/ चाइना रेलवे २ नम्बर इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ) दुई चिनियाँ कम्पनीको जेभी बनाएर आवेदन दिएका छन्।
केएमसी/भीसीएपीएल जेभीले पनि आवेदन दिएको छ। केएमसी भारतीय कम्पनी हो भने भीसीपीएल ( भ्याली कन्स्ट्रक्सन प्राइभेट लिमिटेड) नेपाली कम्पनी हो।
कसरी बन्नेछ सुरुङमार्ग
चिडियाखोला आयोजना क्षेत्र रहेपनि सुरुङमार्ग भने माथिल्लो सिद्धबाबाबाट सुरु हुनेछ।
चिडिया खोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मिटर सडकलाई दुई लेनमा स्तरोन्नति गरिनेछ भने सुरुङमार्गको अर्को भागको ५०० मिटरलाई पनि दुई लेनमा स्तरोन्नति गरिने जैसीले बताए।
सुरुङमार्गको दूरी भने १ हजार १ सय २६ मिटर लामो हुनेछ। यसैगरी आयोजनामा सुरुङमार्ग नपुग्ने स्थान अर्थात् ढुंगा झर्न नदिन रक फल प्रविधिको प्रयोग गरिनेछ।
५ वर्षभित्र निर्माण गर्ने लक्ष्यअनुसार काम अगाडि बढेको जैसी बताउँछन्।
अर्थ मन्त्रालयले १० अर्ब १५ करोडको सीमा दिएकाले त्यहीभित्र रहेर ठेक्का दिने समेत जैसीले बताए।
सरकारले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी) को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङमार्गको वेसलाइन सर्भे गराएको हो।
सुरुङमार्ग बनाउने योजना आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा घोषणा गरिएको थियो। त्यति बेला सुरुङमार्ग सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँचवर्षे रणनीतिसमेत बनाएको थियो।