दाङ–दाङ देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको छ। राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसानले लगाएको मकै वालीमा नयाँ सलह किरा देखा परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख शन्देश धितालले जानकारी दिए।
‘अहिले देखिएको सलह किरा भारतबाट आएको नयाँ झुण्ड रहेको जानकारीमा आएको छ’उनले भने–‘राप्ती र गढवा गाउँपालिका क्षेत्रमा सलह रहेको पाइएको छ ।’ यस अघिको भन्दा ठूलो संख्यामा सलह किरा रहेको राप्ती गाउँपालिका निवासी बासुदेव न्यौपानेले जानकारी दिए।
‘अघिल्लोभन्दा अहिलेको सलह किराको झुण्ड ठूलो र धेरै छ, अहिले किरा फैलिएर मकै वालीमा बसेको छ’-उनले भने–‘सलह धपाउन भाँडा ठटाउने, धुवा लगाउने काम गरिएको छ। तर, किरा भागेका छैनन्।’
राप्ती गाउँपालिका वडा नं. २, ३, ४ क्षेत्रमा ठूलो संख्यामा सलह किरा रहेका छन्। राप्ती गाउँपालिका वडा नं. २ लालमटीया निवासी चन्द्रबहादुर कुमालले सलह धपाउन थाल ठटाउने र धुवा पार्ने काम गरेको बताए।
‘सलह किरा धेरै देखियो। किराबाट मकै जोगाउन आवाज निकाल्नुपर्ने भएकाले थाल ठटाए, अनि धुवा पारेँ-’उनले भने–‘सलहले वालीनालीमा धेरै असर गर्ने हो की भन्ने चिन्ताले सताउन थाल्यो।’ पश्चिमबाट पुर्व तर्फ हावा लागेकाले किरा पूर्व तर्फ गैरहेका छन्।
यस अघि आएको सलह किराले दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालिमा क्षती पुर्याएको थियो ।