लुम्बिनी–लकडाउन पूर्ण रुपमा खुलेपछि तपाइँ लुम्बिनी घुम्ने सोंचमा हुनुहुन्छ? त्यसो भए, तपाइँका लागि खुसीको कुरा छ। लकडाउन अघिको लुम्बिनी र लकडाउन पछिको लुम्बिनीमा थुप्रै परिवर्तन आएको तपाइँले देख्न पाउनुहुनेछ। लुम्बिनी विकास कोषले कोरोना भाइरसका कारण सरकारले घोषणा गरेको लकडाउनको सदुपयोग गर्दै लुम्बिनी विकास कोष क्षेत्रभित्र सरसफाई, मर्मत सम्भार, वृक्षारोपण र सौन्दर्यीकरणका काम गरेर लुम्बिनीलाई सिंगारेको छ।
जसका कारण लुम्बिनी सुन्दर र चिटिक्क बनेको छ। लकडाउनको सदुपयोग गर्दै सिंगो लुम्बिनी क्षेत्रको सौन्दर्यीकरणको प्रयास भइरहेको कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले बताए।

लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगीन इटा बिछ्याइएको छ । यसअघिको पक्कीसडक भत्काएर रंगीन इटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ।
रंगीन सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिको समयमा मनमोहक देखिन थालेका छन्। यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकोमा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ। मायादेवी मन्दिर परिसरमा घाँस, दुवो काटेर विभिन्न ठाउँमा फूल फूलाइएको छ। पवित्र कुण्ड सफा गरिएको छ। माटो भरेर प्राचीन बोधी वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पूरातात्विक संरचनाहरुको मर्मत सम्भार गरिएको छ।

मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालियन पोल सहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ। केन्द्रीय नहरको पानी सुकाएर सफा बनाइएको छ भने दुवैतिर टुटेफुटेका इटा मर्मत गरेर चिटिक्क पारिएको छ ।
केन्द्रीय नहरमाथि बनाइएका आर्क व्रिज र छेउँमा निर्मित मण्डलाहरुको पनि सफाई गरिएको छ। केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमूनि फूल फुलाएर सिंगारिएको छ। बगैंचाहरु सफा गरिएको छ भने पैदलमार्गहरु मर्मत गरिएको छ। नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारस लगायतका पंक्षी र जनावरहरुको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ। त्यहाँ फलफुलका विरुवा रोपिएको छ।

कोषका योजना प्रमुख सरोज भट्टराईले सौन्दर्यीकरणका कामसँगै पाँचहजार अटाउने सभाहल, टेलिकम्युनिकेशन लगायतका क्षेत्रको काम पनि भइरहेको बताए।
रंगीन इटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहक देखिन थालेको छ। वायु प्रदूषण नभएका कारण सम्पदाहरु सफा देखिएका छन्।

शान्ति दीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तुपा प्रष्ट देखिन थालेको छ। सबैतिर धुलो र हिलो हटाएर हरियाली बनाउने प्रयास भइरहेको कोषले बताएको छ। लकडाउन थपिदै गएकाले अर्को वर्षको बजेटबाट नयाँ लुम्बिनीग्राम क्षेत्रमा दुईकिलोमिटर लामो पैदलमार्ग बनाउने योजना समेत कोषको छ। त्यो बाहेक सौन्दर्यीकरणका बाँकी रहेका थुप्रै काममा ध्यान केन्द्रित गरिने कोषका सदस्य सचिव ज्ञानिन राईले बताए।


