गुल्मी–गुल्मीको मदाने गाउँपालिका २ बाँझकटेरीमा उन्नत जातका गाई तथा राँगो वितरण गरियो । स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तरगत २१ गाई र एउटा राँगो समुहका सदस्यहरुलाई प्रदान गरिएको थियो । गाउँपालिका प्रमुख दान बहादुर केसी, उपप्रमुख सरिता खड्का र कृषि ज्ञान केन्द्र प्रमुख बुद्धिराज शर्माले समुहका सदस्यहरुलाई गाई तथा राँगो प्रदान गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन समितिका सचिव बिष्णुप्रसाद भुसालले बताए ।
केहि समय पहिला ३२ वटा उन्नत जातका भैसीहरु पनि समितिले समुहका सदस्यलाई प्रदान गरिएको थियो । मदाने गाउँपालिका वडा नं २ बाँझकटेरीमा गत फागुन २८ गतेबाट स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा रहेको भुसालले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र गुल्मीको ५० लाख र मदाने गाउँपालिकाको १० लाखको आर्थिक सहयोगमा कार्यक्रम लागू भएको छ । अहिलेसम्म तीन वटा पक्की पोखरी निर्माण र १० वटा प्लाष्टिक पोखरी निर्माण गरिएको समितिका अध्यक्ष हिमलाल भुसालले जानकारी दिए । स्मार्ट कृषि गाउँ कार्यक्रममा आवद्ध सदस्यहरुले अनिबार्य रुपमा तीन वटा भैसी वा गाई पालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
यो कार्यक्रममा पहिलो चरण कम्तिमा ५० जना कृषक आवद्ध हुन्छन् । पाँच बर्षे कार्यक्रम भएकाले व्यावसायी पशुपालक किसानलाई आवद्ध गर्दै लैजाने अध्यक्ष भुसालले बताए । पशुपालनमा आकर्षित किसानहरु भने बजार व्यावस्थापनलाई प्रमुख चुनौतिको रुपमा लिएका छन् ।
स्थानीय युवा कृषक बाबुराम भुसालले किसानलाई बिउ मल र पशुचौपाय बितरण गर्ने तर उत्पादनको बजारीकरण नहुँदा समस्या हुने भएकाले स्थानीय तह र ज्ञान केन्द्रलाई बजारलाई बिशेष ख्याल गर्न आग्रह गरे । मदाने गाउँपालिका वडा नं २ बाँझकटेरीका वडाध्यक्ष माधव भुसालले किसानकोमा पाँच सय लिटर दुुध उत्पादन भए बजारको कुनै समस्या नभएको बताए ।
उनले आफुसंग थुप्रै डेरीहरु सम्पर्कमा आएकाले किसानहरुलाई बजारीकरणको चिन्ता नलिन आग्रह गरे । बाँझकटेरीमा जर्सी र होल्याण्ड क्रस ५० बढि गाइ गाउँमा छन् । भने उन्नत जातका भैसीको संख्या पनि थपिदै गएको छ ।
बाँझकटेरीबाट गत बर्षदेखि लकडाउन अगाडीसम्म दुध बिक्री भएको भुसालले बताए । उनले आफु साउदीको अलमराईमा १४ बर्ष विश्वको तेस्रो डेरीमा काम गरेका पशुपालनमा गाउँलाई अब्बल बनाउने बताए ।
अब गाउँका युवालाई दुधको आइसक्रिम, छुर्पि र पनीर बनाउने तालिम दिने सोच रहेको भुसालले बताए । यो कार्यक्रम प्रदेश ५ को गौरवको योजना हो ।
जिल्लाका छत्रकोट गाउँपालिका १ को हुँगामा तरकारी, धुर्कोट गाउँपालिकाको वडा नं ६ रजस्थलमा बाख्रा र मदाने गाउँपालिका वडा नं २ बाँझकटेरीमा गाई तथा भैसी पालनको काम भइरहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
व्यावसायीक कृषि तथा पशुपालनको माध्यमबाट नागरिको पोषक, सिचाइँ, कार्वन, बजार र सामाजिक तथा लैगिंक स्मार्ट बनाउने उदेश्य कार्यक्रमको रहेको कृषि ज्ञान केन्द्र प्रमुख बुद्धिराज शर्माले जानकारी दिए ।
मदाने गाउँपालिकाका सवै वडाहरु पशुपालनको दृष्टिले अत्यन्तै राम्रो रहेका छन् । त्यसैले कृषि र पशुपालन मार्फत नागरिकको आर्थिक स्थितीमा सुधार ल्याउनको लागि गाउँपालिका, प्रदेश र अन्य गैर–सरकारी संस्थासंगको साझेदारीमा कार्यक्रमहरु भइरहेको मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काले बताइन् ।
उनले अनुदानको आश गर्ने तर काम नगर्ने किसानहरु बढ्दै गएकाले प्रभावकारी अनुगमन मार्फत त्यस्ता व्यक्तिहरुलाई निरुत्साहित र कारबाही गरिने बताइन् । मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले अबको बिकल्प कृषि र पशुपालन भएकाले युवाहरुलाई ढुक्क भएर कृषि कर्ममा लाग्न आग्रह गरे ।
उनले अहिलेको नीति कार्यक्रम र बजेटमा पनि युवा लक्षित कृषिलाई प्राथमिकता दिइएको बताए । साथै केसीले अनुदानको दुरुपयोग गर्ने किसानलाई पालिका तथा वडाबाट प्राप्त हुने सवै सुविधा रोक्का गर्ने बताए ।
मदाने गाउँपालिकाका वडा नं २, ४, ३ र ७ मा सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना र वडा नं १, ५ र ६ मा मुख्यमन्त्री ग्रामिण विकास परियोजना सञ्चालन भएको गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले जानकारी दिए । आगामी बर्षको लागि कृषि र पशु पालनको क्षेत्रमा झण्डै चार करोड बजेटको व्यवस्था गरिएको पोख्रेलले बताए ।