बुटवल-बुटवलमा रहेको भाटभटेनी सुपरमार्केटका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भयो भन्ने हल्ला फैलिएपछि सुपरमार्केटले खण्डन गरेको छ।
बुधबार बुटवलका केही व्यक्तिले भाटभटेनी सुपरमार्केटमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको भन्ने हल्ला फैलाएपछि सुपरमार्केटले त्यसको खण्डन गर्दै अपवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गर्ने तयारी गरेको जनाएको छ।
'भाटभटेनीले सामान बेच्यो भन्ने रिसका कारण केही व्यक्तिहरुले भाटभटेनीको विरुद्धमा भ्रम फैलाउन यस्तो हल्ला फैलाएका हुन्, भाटभटेनी सुपरमार्केटका व्यवस्थापक विनोद भट्टराईले भने-केही व्यक्तिहरुले सामाजिक सञ्जालमा त्यस्तो अफवाह फैलाउने खालका पोष्टहरु गरेको हामीले देखेका छौ, त्यसको कानुनी उपचार खोज्छौं ।'
उनका अनुसार भाटभटेनी सुपरमार्केटले कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्डहरु पालना गरेको र त्यसैअनुसार सुपरमार्केट सञ्चालनमा ल्याएको छ।
'हामीले भाटभटेनीमा आउने प्रत्येक ग्राहकलाई साबुनपानीले हात धोएर, तापक्रम परीक्षण गरेर, त्यसपछि हातमा सेनेटाइजर लगाएर सामान खरिद गर्नका लागि प्रवेश दिन्छौं-उनले भने-हामीकहाँ आउने ग्राहकको सुरक्षालाई हामीले ध्यानमा राखेका छौं भने हाम्रा सबै कर्मचारीहरुले पनि उच्च सतर्कता अपनाएका छन्, सबै कर्मचारीहरु सुरक्षित छन्, अर्को कुरा हामीकहाँ कसैको पनि पीसीआर या आरडीटी परीक्षण भएको छैन, परीक्षण नै नभएको ठाउँका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भयो भन्ने कसरी थाहा हुन्छ ?'
उनले अनावश्यक अफवाहका पछि नलाग्न ग्राहकलाई आग्रह गर्दै संक्रमण हुनसक्ने र संक्रमण फैलिनसक्ने जोखिमबारे आफुहरु जानकार रहेको र सबै सतर्कता अपनाएको बताए ।
'हल्ला फैलाउने व्यक्तिले के बुझेनन् भने भाटभटेनीका कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको भए सुपरमार्केट सरकारले शिल गरिसकेको हुन्थ्यो,-उनले भने-यति सामान्य कुरा पनि नबुझ्ने व्यक्तिहरुले हल्ला फैलाए।'
प्रदेश ५ को प्रादेशिक प्रयोगशाला भैरहवाका प्रमुख डा राजेन्द्र गिरीले भाटभटेनी सुपरमार्केटका कर्मचारीको परीक्षण नभएको बताए ।