बुटवल- लुम्बिनी प्रदेशका स्थानिय तहमा आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ७६ करोड ६१ लाख रुपैया बेरुजु देखिएको छ। प्रदेशका १०९ मध्ये ९५ वटा स्थानिय तहमा १ खर्ब १६ अर्ब ३६ करोड ९ लाख रुपैयाको लेखा परिक्षण गर्दा ३.२४ प्रतिसत बेरुजु देखिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ। बेरुजु मध्ये पेश्की रकम ४६ करोड ४० लाख रुपैया रहेको छ। पेश्की बाहेकको बेरुजु प्रतिसत २.८४ प्रतिसत हुन आउँछ।
लुम्बिनी प्रदेशका ४ उपमहानगर मध्ये सबै भन्दा बढी बेरुजु तुल्सीपुरको १३ करोड ७० लाख रुपैया रहेको छ। तुल्सीपुरमा ३ अर्ब ६७ करोड १९ लाखको लेखापरिक्षण गर्दा ३.७३ प्रतिसत बेरुजु देखिएको हो।
घोराही उपमहानगरमा ११ करोड १२ लाख रुपैया बेरुजु रहेको छ। ३ अर्ब ९५ करोड २५ लाख रुपैयाको लेखा परिक्षण गर्दा घोराहीमा २.८१ प्रतिसत बेरुजु देखिएको हो।
नेपालगञ्ज उपमहानगरपालिकामा ६ करोड ९३ लाख रुपैया बेरुजु देखिएको छ । ४ अर्ब ३५ करोड ५९ लाख रुपैयाको लेखा परिक्षण गर्दा १.५९ प्रतिसतमा बेरुजु रहेको पाइएको हो।
बु्टवल उपमहानरपालिकामा ६ करोड २६ लाख बेरुजु रहेको महालेखा परिक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । ४ अर्ब ७७ लाख रुपैयाको लेखा परिक्षण गर्दा १.५६ प्रतिसत बेरुजु देखिएको हो।
अघिल्ला आर्थिक वर्षको समेत गरेर लेखा परिक्षण गर्दासम्मको बेरुजु रकम मध्ये सबै भन्दा बढि नेपालगञ्ज उपमहानगरमा रहेको छ । नेपालगञ्जमा ५४ करोड ४५ लाख रुपैया रहेको छ। त्यसै गरी तुल्सीपुरको कुल बेरुजु ३३ करोड ६८ लाख, घोराहीको ३० करोड ९७ र बुटवलको ६ करोड ७५ लाख रुपैया रहेको छ।
उपमहानगर बाहेक लुम्बिनी प्रदेशका २७ वटा नगरपालिकामा १ अर्ब ३६ करोड ९२ लाख रुपैया बेरुजु देखिएको छ। ४० अर्ब ७५ करोड ९१ लाख रुपैयाको लेखा परिक्षण गर्दा लुम्बिनीमा ३.३६ प्रतिसत बेरुजु देखिएको हो।
त्यस्तै लुम्बिनीका ६४ वटा गाउँपालिकामा गरिएको लेखा परिक्षणबाट २ अर्ब १ करोड ६७ लाख बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ। ५९ अर्ब ६१ लाख ३८ हजार रुपैयाको लेखा परिक्षण गर्दा ३.३८ प्रतिसत बेरुजु रहेको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।