नमस्कार ।
मेरो नाम सिके लाल हो । आज यो भिडियो सन्देशमार्फत् तेस्रो जनआन्दोलनको तयारीका लागि दर्शक श्रोताहरुमा अनुरोध गर्न म यहाँ उपस्थित भएको छु ।
अनुरोध गर्न त सजिलो छ, तर त्यसका लागि केही आधारहरु पहिल्याउन आवश्यक छ ।
अहिलेको राजनीतिक अवस्थाको बारेमा एक पटक बिचार गरौं । हाम्रो अहिलेको राज्य ढलमल राज्य हो । अंग्रेजीमा यसलाई ‘फेलिङ स्टेट’ भनिन्छ । ‘फेल्ड स्टेट’ अर्थात् असफल राज्य भइसकेको होइन, तर असफलता उन्मुख हो । यो अवधि लामो समयसम्म रहिरहन्छ । देश ढलमल–ढलमल भइरहन्छ । आजै असफल हुन्छ, भोली असफल हुन्छ जस्तो त लाग्छ, तर ढलमल मात्रै भइरहन्छ । त्यो ढलमल बेलाको परिस्थिती अहिले नेपाली राज्यको छ ।
राज्यको चार वटा खम्बामध्ये एक कार्यपालिका हो । पहिले यसलाई हेरौं ।
कार्यपालिका अहिले एक व्यक्तिमा केन्द्रित भएको छ । सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीका अगाडि अरु कसैको केही लाग्दैन । उनको निती, उनको नियत र उनको कार्यसम्पादन; उनको वितेको कार्यावधि हेर्ने हो भने एकमात्र उदेश्य देश एकमात्र कार्यकारी प्रमुख हुनु थियो । र, अहिले जसरी भएपनि त्यो पदमा रहिरहनुबाहेक अरु कुनैपनि उनको उद्देश्य देखिएको छैन । त्यसैले कार्यपालिका एक व्यक्तिमा केन्द्रित भएको छ ।
दोस्रो राज्यको खम्बा भनेको संसद हो । संसदको दुई सभा छन् । हुन त दुबै सभाको आफ्नै महत्व छ तर प्रमुखता प्रतिनिधि सभाको हुन्छ किनभने प्रतिनिधि सभाले कार्यपालिका प्रमुखको निर्वाचन गर्छ । कार्यपालिकालाई निर्देशन दिने निकायको निर्माण गर्दछ । यद्यपि, अब प्रतिनिधि सभा विघटित भएको छ । त्यसले गर्दा विधिको सर्वोच्चता खण्डित भएको छ । अब केही नियम कानून बनाउन पर्याे भने के गर्नुपर्छ ? अध्यादेश ल्याउनु पर्छ । अध्यादेश कुन किसिमले आउँछ भन्ने त तपाई हामीले देखिसकेको हो । लकडाउनमा कसरी अध्यादेश आयो ? कसरी फिर्ता भयो ? त्यसपछि कुन किसिमले अध्यादेशहरु आएका छन् ? जनहितमा कतिवटा अध्यादेश आयो ? यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले राज्यको दोस्रो पिलर अर्थात् विधायीका पनि पनि ढलमलमै पुगेको छ ।
तेस्रो खम्बा न्यायापालिकातर्फ हेरौं । यो कति विवादित छ भन्ने कुरा त तपाईहरुलाई भनिराख्नु पर्ने कुरा होइन । अदालतका हाकिमहरु कस्ता छन् जगजाहेर छ । विवादमा कति आएको छ ! प्रधानमन्त्रीलाई भेटेको कुराको पनि अनुसन्धान गर्नु परेको छैन । (विघटनको मुद्दा)सुनुवाईमा हेर्दाहेर्दैमा जाने कुरा नै किन नहोस् ! न्यायापालिका पनि ढलमल ढलमल मै छ ।
चौंथो राज्यको खम्बाको कुरा गरौं । सरकारको होइन है ! राज्यको खम्बा । चौंथो राज्यको खम्बा स्वतन्त्र प्रेसलाई भनिएको हो । स्वतन्त्र प्रेसले राष्ट्रको ज्वलन्त मुद्दामा बिचार निर्माण गर्न सघाउँछ । सूचना प्रसारित गर्छ, सहि सूचना, सत्य र तथ्यपरक । तर, भयो के भने सन् २०१५ पछि नेपालको प्रेसको विश्वस्नीयता पनि खास छैन । मिडिया विभाजित मनस्थितीमा छ र विश्वस्नीयता गुमाएको छ । कुनै अखबार, कुनै टेलिभिजन, कुनै रेडियो निष्पक्ष भएर सत्य र तथ्य बोल्छौं भनेर दावी त गर्छन् तर विश्वस्नीयता सबैको गुमेको छ ।
यसरी राज्यका चारै अंग ढलमल छ । चारै खम्बा ढलमल भएका बेला टेको दिने राष्ट्रका केही संस्था, निकायहरु हुन्छन् । त्यस्तो टेकोले ढलमलाएका बेला राज्यलाई अड्याएर राख्छन् ।
पहिलो टेको भनेको स्थायी सत्ता हो । जसअन्तर्गत प्रहरी, प्रशासन, सेना विभिन्न संयन्त्रहरु पर्दछन्, जुन कार्यपालिकाका संयन्त्रहरु हुन् । यी सरकारजस्तो परिवर्तित हुँदैंनन् । नेपालको स्थायी सत्ता खासगरी प्रशासन र प्रहरीको कुरा गरौं । सेनाको त्यती कुरा गर्न उपयुक्त हुँदैन किनभने नेपालमा सेनाको आफ्नै सत्ता छ । त्यसैले यसलाई यता नतानौं । स्थायी सत्ता पनि असाध्यै कमजोर र आत्मबल हराएको अवस्थामा छ । प्रधानमन्त्रीको, राजाको मनसाय बुझेर निर्णय लिने जुन परम्परा रहँदै आएको थियो त्यो परम्परात अझै कायमै छ । माथिको धेरै चाकडी गर्ने र तलकालाई हेप्ने जुन स्थायी सत्ता छ त्यो जनपक्षीय हुन सकेको छैन । त्यसैले यसको पनि स्वीकार्यता घटेको छ ।
दोस्रो टेको भनेको नागरिक समाज हो । नागरिक समाजभित्र गैरसरकारी संस्था, विज्ञ, विचार निर्माता, साहित्यकार, कलाकार, संगीतकार, गीतकार, गायक सबै सचेत नागरिक समूदाय पर्छन् ।
दुर्भाग्यवशः नेपालमा सन् २०१५ पछि नागरिक समाजमा नृजातीयता यती बलियो भएर आयो कि राष्ट्रिय मुद्दामा, जनहितको मुद्दामा पनि पक्ष विपक्ष हेर्ने, ध्रुबिकरले गर्दा आफू नजिकको राजनीतिक दलसँग जोडिन खोज्ने जस्ता कारणले गर्दा यसको पनि स्विकार्यता घटेको छ । यसले राज्यलाई टेको दिनु त कता हो कता आफैं ढलमल छ ।
तेस्रो टेको भने अन्तराष्ट्रिय शक्तिको हो । जस्तो कि, अन्तराष्ट्रिय मानवअधिकारको पक्षमा काम गर्नेहरु, विकासको काम गर्नेहरु, नेपालका दाताहरु, नेपालसँग राम्रो सम्बन्ध भएका विश्वविद्यालयहरु, अन्तराष्ट्रिय सञ्चारमाध्ययमहरु...
तर, नयाँ शीतयुद्ध, जुन अहिले चीन र अमेरिकाको बीचमा गोलबद्ध हुँदैं गएको छ ( सुरु नै भइसकेको भनिहाल्न अलि नमिल्ला, तर विपरित खेमा देखिएको छ), त्यसले गर्दा अन्तराष्ट्रिय शक्तिहरुको क्षमता पनि नेपालमा हस्तक्षेप गरेर आफ्नो पक्षमा सत्ता कसरी पार्ने भनेर केन्द्रित छ । जनहितको पक्षमा छैन ।
चाैंथो टेको भनेको साहु महाजनको हो । साहु महाजनको हित भनेको देश बलियो भएमात्रै हुन्छ । तर, नेपालको साहु महाजनको समूदाय, जसलाई कम्युनिष्टहरुले ‘कम्प्रडोर’ भन्छन्, दलाल पूँजीपति बर्ग त्यसको सिद्धान्त नै ‘एनिहाउ पैसा कमाउ’मा सीमित हुन गएको छ । त्यसले गर्दा जनहितको बारेमा बिचार गर्दैन । यो पटक–पटक हामीले देखेको हो । अचाक्ली मूल्यवृद्धि भएको छ, त्यसको कुनै मान्यता दिन साहुमहाजनले सकेको छैन । न त यसको व्याख्या दिन सकेको छ । स्कुल लकडाउनमा बन्द थियो । अहिले पनि अनलाइन क्लास भनेको छ । एकातिर विद्यार्थीबाट फि चाहीँ अचाक्ली लिएकोलिई छ । अर्कोतिर आफ्नो कामदार बनाएको शिक्षकलाई राम्रो व्यवहार गर्न सकेको छैन । नाफाक्षेत्रका अस्पतालहरुको के गति छ ? सबैलाई थाहा भएकै कुरा हो ।
त्यसैले यो चार खम्बा कार्यपालिका, विधायीका र प्रेसको जे ढलमल अवस्था थियो, टेको दिने भनिएका यी नागरिक समाज, स्थायी सत्ता, अन्तराष्ट्रिय शक्ति र साहु महाजन पनि राम्रो अवस्थामा छैनन् । टेको दिनसक्ने अवस्थामा छैनन् ।
त्यसो भए दोस्रो मुद्दामा जाउँ । राज्यको ढलमल अवस्था त छ, अब हामी कसरी यहाँ आइपुग्यौं त ! यसको बारेमा बिचार नगरी अब के गर्ने भनेर त भएन । तपाईले देखिहाल्नुभयो–जति विरोध हुनुपर्ने सत्ताको, त्यो किन हुन सकिरहेको छैन त ! त्यसैले यहाँसम्म कसरी आइपुगियो भन्ने कुराको बिचार गर्नु पर्छ ।
हिन्दी फिल्मको गीत छ नी– ‘यह कहाँ आगए हम ?’
कस्तो मान्छेको हातमा राज्य सत्ता दिएको; जो गणतन्त्रको विरोधी थियो, संघीयताको विरोधी थियो, समावेशीताको विरोधी थियो ।
धर्म निरपेक्षताको विरोध चाहीँ नृजातीय मुख्तियार खड्गप्रसाद ओलीको मुखबाट अहिलेसम्म सुनिएको छैन । बाँकी तीन कुराको त विरोधी हुन् नि त !
अनुदारवाद दक्षिणपन्थ मात्रै हुनुपर्छ भन्ने छैन । अनुदारवाद भनेको बामपन्थीहरु पनि हुन सक्छन् । उत्तर कोरिया दक्षिणपन्थी अनुदाारवाद त होइन नि ! ‘कन्जरभेटिज्म’ भनेको ‘कन्जरर्भ’ गर्ने हो । त्यसो भए के कुरा कन्जर्भ गर्ने हो ? मुल्यमान्यता गर्ने ? परम्परा गर्ने हो ? कि परम्परालाई गति दिएर अगाडि बढाउने हो ? अथवा आफूलाई सत्तामा राख्न जे–जे अवयव चाहिन्छ, त्यसलाई 'कन्जर्भ' गर्ने हो ?
यसलाई अलिकती बिचार गर्नुपर्ने हुन्छ । सन् २०१० देखि २०१५ बिचको जुन मन्दगतिको प्रतिगमन थियो, त्यसलाई बेलैमा नेपालका यी टेको दिने अंग, निकायले पनि ध्यान पु¥याउन सकेन । चाहे ती नेपालको मित्र अन्तराष्ट्रिय शक्तिहरु हुन् या त नागरिक समाज हुन् । साहु महाजनसँग त के आसा गर्नु । स्थायी सत्ताले पनि बिचार गरेन ।
यो त भ्यागुतालाई एकैपटक उमाल्न भाँडोमा राख्यो भने भाग्छ, तर विस्तारै तापक्रम बढाउँदै लग्यो भने आफू नमर्दासम्म भाग्दैन भनेजस्तै भयो । मन्द गतिको प्रतिगमन पनि त्यस्तै हो । सन् २००८ मा नेपालमा एउटा क्रान्तिकारी परिवर्तनको सम्भावना देखियो; मधेशी राष्ट्रपति, मधेशी उपराष्ट्रपति, माओबादी क्रान्तिकारी पृष्ठभूमीबाट आएका प्रधानमन्त्री !
त्यसपछि मन्द गतिको प्रतिगमन सुरु भयो । त्यो भ्यागुता उमाल्न तापक्रम बढ्दै गयो । बेलैमा कोही सचेत भएनन् । अन्तराष्ट्रिय मानवअधिकार आयोगलाई फिर्ता पठाइयो । अनमिनलाई फिर्ता पठाइयो । दुई-दुई ठाउँबाट निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाइयो । राष्ट्रपतिले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीको अधिकारमा हस्तक्षेप गरे । अदालतले जनभावनाको आधारमा अन्तरिम संविधानमा कुनै उल्लेख नै नभएको बेलामा गैर कानूनी तरिकाबाट संविधान सभाको म्याद तोकिदियो । यस्ता मन्द गतिको प्रतिगमनको बेलैमा इलाज गर्न सकिएन ।
फेरी के भयो भने, सन् २०१५मा देशलाई स्पष्टतः दुई समूहमा बाँडियो; मधेशी र पहाडी । यसले नृजातीय राष्ट्रवादलाइै बलियो बनाएर ल्यायो । नृजातीय राष्ट्रवाद बलियो भएर आएपछि देशमा स्थापीत अहंकारको नेतृत्वले तर्कको कुरा गर्दैन । त्यसले उत्तेजना मात्रै बढाउँछ । त्यसपछि जनउत्तेजक राष्ट्रवाद आउँछ । र, सर्वेसर्वा खड्गप्रसाद ओली सिंहासनमा आउने वातावरण बन्छ ।
विभाजित जनता त आफैमा स्वतः कमजोर हुन्छन् ।
सन् २००६ को वसन्त विद्रोह ताका लालीगुराँस क्रान्ति हुनै लागेको बेला क्रान्तिले एउटा नयाँ किसिमको नेपालीयता निर्माणको प्रक्रिया सरु भएको थियो । मधेशी रामबरण यादव(उनी जे छन् त्यो त सबैलाईै थाहा भएकै कुरा हो तर भएपनि देख्दा र नाममा त मधेशी नै थिए नि) नेपालको पहिलो राष्ट्रपति बन्ने, रामराजा सिंह उम्मेद्वार बन्ने, पाशवान ज्यु उम्मेद्वार बन्ने जुन परिस्थिती सिर्जना भयो त्यो नयाँ नेपालीयता निर्माणको प्रक्रिया थियो । यस्तो नेपालीयताले नेपाललाई एकबद्ध गराउँथ्यो ।
तर, त्यो एकबद्धतालाई भंग गर्ने कदम थियो सन् २०१५ । कमजोर भएका विभाजित जनतामाथि स्थायीत्वको नाउँमा जडता संस्थागत भएको छ । स्थायीत्वको नाममा परिवर्तन केही पनि हुनै नदिने ! त्यस्तो भयो भने के हुन्छ ? जे आज भइरहेको छ त्यो हुन्छ ।
त्यसैले पहिलो त मैले भने कि ढलमले राज्य अहिलेको अवस्था हो, दोस्रो त मैले भने कि कसरी यहाँ आइपुगियो । बयलगाडीमा सवार भएर उल्टो यात्रा ! तर, त्यती भनेर त पुग्दैन, अब गर्ने के ? चुप लागेर बस्न त सकिदैंन ।
त्यसैले आन्दोलनको विकल्प छैन । संसद विघटन भएकोमा मलाई उतीसारो दुख लागेको छैन । संसद पनि राष्ट्रपतिको कार्यालयलाई कार्यपालिकाको ‘रबर स्टाम्प’ बनाइए जस्तै संसद पनि त रबर स्टाम्प भएको थियो नि ! संसदले बाँचुन्जेल कुन पो जनपक्षीय निर्णय गरेको थियो र ! तर हुँदाहुँदैं पनि आसा चाहीँ जगाएको थियो ।
त्यो बिरबलको कथा थियो नि ! टाढा बलेको दरवारको बत्ती हेरेर मलाई न्यानो भयो अनि मैले यो पोखरीको पानी सहे भन्छ नि त्यस्तै एउटा आशा बाँकी थियो । त्यसैले सडक छाड्नु हुँदैंन । सडक छोड्यो भने संसद कमजोर हुन्छ ।
अहिले संसद कमजोर हुनुको कारण प्रगतिगामीहरुले सडक छाड्नु हो । पुष्पकमल चाहीँ त्यसैमाथि सत्ताको जोडघटाउमा रमाए, माधव नेपाल सत्ताको जोड घटाउमा रमाए र शेरबहादुर देउवा भागबण्डातिर रमाए । उपेन्द्र यादव त गएर सरकारमै समाहित भए ।
सडक चिसो भयो भने संसदले न्यानो कायम गर्न सक्दैन । निरन्तर खबरदारी भनेको प्रजातन्त्रको मुल्य हो भनेर भनिएकै छ । त्यो खबरदारी गर्ने हो भने अब आन्दोलनको विकल्प छैन, चाहे त्यो प्रतिनिधि सभाको पुनर्स्थापना मार्फत् होस् अथवा नयाँ निर्वााचनमार्फत् होस् । जे भएपनि त्यसको लागि आन्दोलनको विकल्प छैन । आन्दोलनले नै भन्छ अब के हुन्छ भनेर । आन्दोलन ले नै निर्णय गर्छ कि प्रतिनिधि सभा पुनर्स्थापनापना हुने हो कि नयाँ निर्वाचन हुने हो भनेर । नत्र त निर्वाचन पनि हुँदैंन , पुनर्स्थापना पनि हुँदैन । सन् २०१० देखि संस्थागत भइरहेको प्रतिगमनले नै निरन्तरता पाउँछ । त्यसैले तेस्रो जन–आन्दोलनको विकल्प छैन ।
तर, अब आन्दोलनमा गर्ने के ? गर्ने कसले ? राजनीतिक दलहरुको त आत्मबल खस्किएको छ । पुष्पकमल दाहालले जतिसुकै आन्दोलन गरौं भने पनि उनको अनुहार हेरेर जनतामा विश्वास त जाग्दैन ! माधव कुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराई कसैको पनि अनुहार हेरेर त आन्दोलनको लागि उर्जा आउँदैन किनभने राजनीतिक दलहरुको आफ्नै आत्मबल पनि खस्किएको छ । त्यो आत्मबल उठाउने भनेको जनताले नै हो । मंगल ग्रहबाट त राजनीतिक व्यक्ति ल्याउने होइन, यिनैलाई बनाउने हो । यिनैलाई बलियो बनाउने हो ।
गिरिजाप्रसाद कोइराला के थिए भन्ने त सबैलाई थाहा भएकै कुरा हो तर सन् २००६ को जनआन्दोलनले त्यहीँ गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको महानायक बनाएको हो । जनदवादले हो उनलाई महानायक बनाएको हो । नेताले जनता सिर्जना गर्ने होइन, जनताले नेता सिर्जना गर्ने हो ।
त्यसैले जनआन्दोलनको विश्वसनीयतालाई बढाउनुपर्छ । अलिकति यो सेतो कमिज जमातले नागरिक आन्दोलनको स्वीकार्यतालाई ध्वस्त गरेको चाहीँ हो, तर त्यसलाई बनाउनलाई जागरुक नागरिकहरु सडकमा आउन प¥यो । विश्वास जगाउनु पर्छ, आफ्नो गतिशिलताबाट । लेख्नेले लेख्नुप¥यो, कविता कोर्नेले कविता पाठ गर्नुपर्याे ।
सन् २००५/०६ को आन्दोलनको मलाई सम्झना छ । अर्जुन पराजुलीजी एकदम पानी खाइखाई कविता पाठ गर्थे । ‘बिसे नगर्ची’को बयान त ‘एन्थम’ भा’थ्यो नि । ‘गाउँ–गाउँबाट उठ’ पनि एन्थम बनेको थियो । अब पनि नयाँ एन्थमहरु चाहियो । नयाँ गानहरु फेरि चाहियो । कवि, साहित्यकार, कलाकारहरु उठ्नु पर्याे । जनआन्दोलन भनेको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सबै आन्दोलन हो । राजनीतिक दलले त जहिले यो सत्ता हटाउ र मलाई सत्तामा राख भन्नेमात्रै कुरा गर्छ ।
जनआन्दोलनले के गर्छ त ?
थप पश्चगमनको प्रतिरोध गर्छ । यसअघि प्रतिगमन जति भयो त्यो परिवर्तन हुन त समय लाग्ला तर आन्दोलन भयो भने थप प्रतिगमन हुन दिँदैन ।
दोस्रो के हुन्छ भने सत्ताले जुन प्रजातान्त्रिक आवरण राखेको छ; जनतामा जाने, चुनाव गराउने यसलाई च्यातिन्छ । चुनाव त पञ्चायतकालमा पनि त हुन्थ्यो नि । चुनाव गराउँछु भनेर त राजा ज्ञानेन्द्रले पनि त भनेका हुन् नि । चुनाव मात्रै त होइन नि प्रजातन्त्र । प्रजातन्त्र भनेको त जनताको क्षमता निर्माण गर्ने हो । तिनमा सचेतना निर्माण गर्ने हो । तिनको सहभागिता सुनिश्चित गर्ने हो । तिनको प्रतिनिधित्व सुनिश्चित गर्ने हो । त्यो गर्नको लागि यो सत्ता सक्षम भनेर यसको(सरकारको) प्रजातान्त्रिक आवरणलाई च्यात्नु पर्छ । त्यसपछि व्यापक संविधान संशोधनको खाका कोर्नु पर्छ ।
मैले त यो संविधान मृत संविधान हो, भनिसकेको छु । यो मृत जनावर हो, जबरजस्ती यो जिउँदों छ भनेर मैले एउटा कथा पनि भन्ने गर्थेँ ।
मरेको जनावर एउटा बाटोमा हुन्छ । हड्डीको डाक्टर आएर के भन्छ भने ओहो यसको हड्डी त मोडिदैन, यसको हड्डीको इलाज गर्नु पर्छ । मुटुको डाक्टर आएर के भन्छ भने ओहो यसको मुटुको चाल छैन यसलाई ‘रिभाइभ’ गर्नुपर्छ त्यसको लागि अप्रेशन गर्नुपर्ने हुन्छ । थरीथरीका डाक्टरले थरीथरीको कुरा भन्छन् । तर, एउटा किसानले आएर भन्छ–अरे बाबा यो त मरेको संविधान हो ।
एक जना मान्छेलाई प्रधानमन्त्री बनाउनको लागि, एक व्यक्तिको ‘म संविधानको बुवा भनेर इतिहासमा नाम लेखियोस्’ भन्ने जीवनको अतृप्त आकांक्षा पूरा गर्नका लागि संविधान ल्याइएको हो । भलै तयो पाद टिप्पणीमा भएपनि किन नहोस् । अलमलमा, हलमलमा र मधेसीहरुलाई ठाउँमा राख्न, जनजातीलाई ठाउँमा राख्न, दलितलाई दवाउन, नारीलाई अधिकारविहीन तुल्याउन ल्याएको संविधान हो । यो त शोषणको संयन्त्र हो । मैले पनि त्यसको विरोध गर्छु ।
यद्यपि, संविधानको विरोध संविधानवादको विरोध होइन । विधिको सर्वोच्चताको विरोध होइन । विधिको सर्वाेच्चताको लागि व्यापक संविधानको खाकासहित आन्दोलन गर्न सकिन्छ । तर, आन्दोलन भने शान्तीपूर्ण हुन जरुरी छ । किनभने त्यो भएन भने व्यापक दमन हुन सक्छ । सत्तामा रहिरहनका लागि सत्ताधारीले जे पनि गर्न सक्छ ।
र, त्यो कुरामा म पाँचौं कुरा जोड्न चाहन्छु । अहिले आन्दोलनको जोखिम छ । महाव्याधीको समय छ । जसले गर्दा मैले पनि भिडियोबाट अनुरोध गर्नु परेको छ । नत्र भने म अहिले सडकमा हुन्थेँ । किनभने एउटा उमेर समूह, डायबेटिक अथवा मुटुको रोग भएकाहरु अहिले तुरुन्तै भिडभडमा जान गाह्रो छ । भिडमा जानेहरु, सडकमा जानेहरुलाई पनि विन्ती छ, कृपया मास्क विना भिडमा नजानुहोस् ।
भलै तपाईलाई कोभिड भएर ठीक भइसक्यो होला, अनि तपाईलाई लाग्छ होला– अब मलाई ठीक भइसक्यो ५/६ महिना त निश्चिन्त छु । तपाईलाई नहोला तर तपाई अझैं पनि ‘क्यारियर’ बन्न सक्नुहुन्छ । तपाइले अरुलाई सार्न सक्नुहुन्छ । त्यसैले मास्क नछाड्नुहोस्, भौतिक दूरी कायम राख्नुहोस् । स्यानिटाइजर खल्तीमा बोक्नुहोस् नभए धेरै ठाउँमा छुने काम नगर्नुहोस् । घर पुगेपछि साबुन पानीले हात धुने काम गर्नुहोस् । जुन ‘प्याण्डेमिक’ प्रोटोकल भन्छ, त्यो कायम राख्नुपर्दछ ।
दोस्रो कुरा चाहीँ आन्दोलन शान्तिपूर्ण हुनु पर्दछ । खासगरेर मधेशी प्रदर्शनकारी देख्यो भने हात चिलाउँछ, तुरुन्तै गोली हान्छन्। जनजाती देख्यो भने अलिक हच्किन्छन् । किनभने प्रहरीमा जनजाति छन्, सेनामा जनजाति छन् । अनि जसलाई खस आर्य भनिन्छ तिनलाई त बढीमा पानीको फोहोरा हान्ला, अश्रु ग्यास छोड्ला । गोली नै हान्न त अलिक हच्कि नै हाल्छ । तर, यो जाडोमा पानीको फोहोरा पनि गाह्रै हो ।
सकभर शान्तिपूर्ण विरोध दर्शाउनका लागि संख्या मात्रै महत्वपूर्ण हुँदैंन, जोडले कराउनु मात्रै महत्वपूर्ण हुँदैन । एक जना अंगदको खुट्टालाई रावणको शैन्य वलले उठाउँन सकेन किनभने त्यो अंगदको खुट्टामा नैतिक बल थियो । साँस्कृतिक आन्दोलनमा नैतिक बल–महात्मा गान्धीको जस्तो नैतिक बल–त्यस्तो किसिमको नैतिक बल ल्याउनका लागि शान्तीपूर्ण राख्न जरुरी छ ।
अब हुन्छ के त ?
आन्दोलनले राष्ट्रिय एकता सुदृढ गर्छ । म तपाईहरुलाई आफ्नो एउटा अनुभव सुनाउँछु । सन् २००६ को आन्दोलनमा, जसलाई मैले अप्रिल अप्राइजिङ भन्छु, हरेकदिन जसो जुलुस निस्किन्थ्यो । चक्रपथको जुलुसमा म निस्कदा पुलिसको लाठीचार्ज गर्न लाग्यो । लाठीचार्ज हुने बेलामा मेरो अगाडि पछाडीका युवाहरु अगाडि आए । ‘बुढा मान्छेलाई लाठी हान्छस्, हामी छौं’ भनेर मलाई छेके ।
त्यतीबेला मलाई गर्व लाग्यो । नचिनेको मान्छेको सुरक्षाको लागि ऐक्यबद्धता ! त्यो नयाँ नेपालीयता निर्माणको दिशामा एउटा कदम थियो । यसरी नै आन्दोलनले विभिन्न समूदायको बीचमा ऐक्यबद्धता निर्माण गर्छ । एकले अर्कोलाई ज्यान दिन सक्ने बनाउँछ ।
अर्को जुन नयाँ नेतृत्वको आवश्यकता देखिदैं छ नि आन्दोलनले त्यसको परिपूर्ती गर्छ । सन् १९९० अगाडि शेरबहादुर देउवा, झलनाथ खनाल, खड्गप्रसाद ओली, माधवकुमार नेपालको नाम कतिले सुनेका थिए र ! उनीहरुलाई ल्याएको त होनी आन्दोलनले । नत्र त सुर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द अथवा अलिक नाम चलेका कांग्रेसीमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको मात्रै नाम सुनिन्थ्यो ।
कम्युनिष्टहरुमा मनमोहन अधिकारीको मात्रै नाम सुनिन्थ्यो अथवा मदन भण्डारीलाई त कताबाट निस्केको भन्ने त कुरा पनि भाथ्यो । उनीहरुको नाम कसैले पनि सुनेको थिए ।
सन् २००६ को आन्दोलनले घनश्याम भुसाल, गगन थापा, शंकर पाोखरेल, विश्वप्रकाश शर्मा तथा योगेश भट्टराईहरुको नाम कति जनाले सुनेको थियो र ! मधेसीहरुमा मधेस आन्दोलनभन्दा अगाडि उपेन्द्र यादवको नाम कति परिचित थियो र! कति जनाले सुनेको थियो ? त्यसैले नयाँ नेतृत्व ल्याउने अवसर खास गरेर दलित नेतृत्व, नारी नेतृत्व र युवा नेतृत्वको नाम आउनुपर्याे । यस्तो किसिमको नाम आउनलाई पनि आन्दोलन जरुरी छ ।
र, यो आन्दोलनले के गर्छ भने अहिलेको जुन स्वेच्छाचारी कार्यपालिका छ यसलाई स्वेच्छाचारी हुन दिदैंन । र तपाई हामीलाई डरबाट मुक्ति मिल्छ । आशाको सञ्चार हुन्छ ।
माओबादी आन्दोलनले अरु केही नगरेपनि के गर्याे भने दलित र थारुमा जुन ‘यूनिर्फम’ देख्ने वित्तिकै लुगलुग काप्ने वा भाग्ने प्रवृत्ति थियो त्यसबाट मुक्त गरेको हो । थारुलाई प्रहरीसँग लड्न जाने बनाएको हो । माओवादी आन्दोलन अगाडि उनीहरुले त्यसो गर्न सक्दैनथे । मधेस विद्रोहभन्दा अगाडि मेरो गाउँजस्तो पढेलेखेको गाउँमा पनि नेपाली बोल्ने कोही आयो भने ‘को ठग्न आयो’ भन्ने भावना हुन्थ्यो । र, भागाभाग हुने, लुक्न जाने अथवा तिनको चाकडी गर्ने चलन थियो, त्यसबाट त मधेस विद्रोहले मुक्ति दिएको हो । आन्दोलनले जनताको शक्ति बढाउँछ ।
हिन्दीको एउटा कविता छ । म पढ्छुः
कुछ तो होगा अगर में बोलुङ्गा
ना टुटे, ना टुटे तिलस्मी सत्ताका
मेरा अन्दरका एक कायर टुटेगा
टुट मेरे मन टुट
अच्छी तरह टुट
झुटमुठ अब मत रुठ
माघ त सहिद सम्झने महिना हो । मधेसमा बलिदानी दिवस यहीँ महिना सुरु भएको थियो । त्यो भन्दा ७०/८० बर्ष अगााडिको राणा शासन विरुद्धका शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र पञ्चायत कालको कुरा गर्ने हो भने दुर्गानन्द झा सबैलाई माघ महिनामा नै झुण्डाइएको थियो । त्यसैले आन्दोलन सुरु गर्न यो भन्दा उपयुक्त के महिना हुन सक्छ ?! सहिदहरुको सम्मानको खातिर पनि, तिनको सपनाको लागि पनि आन्दोलन गर्न जरुरी छ ।
आन्दोलन के सफल हुन्छ र ? मैले आन्दोलनको कुरा गर्दा मलाई साथीहरुले भन्छन् । सफलताको परिभाषा के हो ? यदि जागरुकता बढ्छ भने त्यो पनि सफलता हो । गान्धी जीलाई भनिएको, तर अरुले उनीभन्दा पहिले अरु कसैले भनेको प्रसिद्ध उक्ति छः
फर्स्ट दे इग्नोर यु
देन दे लाफ एट यु
देन दे फाइट यु
देन यु वीन
पहिले वेवास्ता गर्छन्, खिल्ली उडाउँछन्, हास्छन् अनि लड्छन् अन्ततः जित्ने त जनताले नै हो ।
त्यसैले तेस्रो जनआन्दोलनको तयारी गरौं । आन्दोलनलाई शान्तीपूर्ण बनाउँ । सहभागिता बढाउँ । मधेसमा खास गरेर ‘संविधान गयो, राम्रै भयो’ भन्ने प्रवृत्ती छ । त्यसबाट मुक्त होऔं । हो, यो संविधान जानै पर्छ तर मरेको जनावरको पनि सम्मान दिएर क्रियाकरम गर्नु पर्छ । यसलाई कुहिन चाँही दिनु हुँदैन । त्यसैले यो आन्दोलन संविधानवादको लागि, विधिको सर्वोच्चताको लागि, जनताको अधिकारको लागि सफल हुन्छ । सकेको ठाउँबाट आवाज उठाउँ । जसरी सहभागी हुन सकिन्छ होऔं भन्ने मेरो निवेदन छ । अभिवादन । नमस्कार ।
(राजनीतिक विष्लेशक सिके लालले पछिल्लो राजनीतिक घटनाक्रमसँग सम्बन्धित रहेर नागरिकहरुलाई तेस्रो जनआन्दोलनका लागि तयार हुन आह्वान गर्दै रेकर्ड गराएको भिडियोबाट यो सामग्री लिइएको हो । सिके लालको प्रस्तुतिमा व्यक्त गरिएका विचारहरुसँग लुम्बिनी टाइम्स तटस्थ छ ।–सं )