विश्वका विकसित एवं सम्पन्न मुलुकहरूबाट विकासोन्मुख मुलुकतिर मौद्रिक प्रवाह ल्याउने धुवाँरहित पर्यटन उद्योग आज सांस्कृतिक एवं प्राकृतिक सम्पदायुक्त राष्ट्रहरूको चर्चित एवं बहुआयामिक स्रोतको रूपमा स्थापित भएको छ । यस परिवेशमा नेपालको पश्चिम तराईमा अवस्थित लुम्बिनी पनि विशेष महत्वपूर्ण पर्यटकीयस्थान भएकोले यहाँ प्राचीनकालदेखि नै विभिन्न रूपमा अतिथिहरू आउने गरेका छन् ।
मायादेवीको कोखबाट ई.पू. छैटौ शताब्दीमा इन्द्रको चित्तलता बगैंचा जस्तो प्राकृतिक सौन्दर्यताले परिपूर्ण लुम्बिनीमा सिद्धार्थ गौतम बुद्धको जन्म भई बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । बुद्ध धर्मचक्रको सिलसिलामा ८० वर्षको उमेरमा कुशीनगर पुग्दा त्यहाँ बिरामी भई अन्तिम अवस्थामा आफ्ना चेलाहरूले घेरा हाली रूनकराउन थाले । त्यसबखत गौतम बुद्धले भिक्षु आनन्दसमेतलाई उनी जन्मिएको लुम्बिनी, ज्ञानप्राप्तस्थल बोधगया, सर्वप्रथम धर्मदेशनास्थल सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरमा एकपटक भ्रमण गर्ने सल्लाह दिएका थिए । त्यसै आधारमा ई.पू. तेस्रो शताब्दीमा सम्राट अशोक आफ्ना गुरू उपगुप्तको नेतृत्वमा लुम्बिनी आए । चिनियाँयात्रीहरूमध्ये पाचौं र सातौं शताब्दीमा लुम्बिनी आएका सुई–चिङ–चु, फाहियान र हुएन–साङ्गले यहाँको वस्तुस्थिति र परिवेश वारे उल्लेख गरेका छन् ।

चौधौ शताव्दीको दोस्रो दसकमा खसान प्रदेशका रिपु मल्ल यहाँ आई अशोकस्तम्भमा आफ्नो नाम उत्कीर्ण गराएका थिए । विश्वका शान्तिप्रेमी मानवको मात्र पवित्र थलो भएकोले १९६७ मा संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उत्थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं धार्मिकतीर्थस्थल बनाउने योजना बन्यो ।
अहिले यो दीप विश्वशान्तिको प्रतीकको रूपमा बलिरहेको छ । गुरू योजना अनुरूप नयाँ लुम्बिनी गाउँमा विश्वशान्तिस्तूप उच्चस्तरीय आवासको लागि होक्के होटेल, सारस फाउन्डेसन, मध्यमस्तरीय होटेल कासाइ र श्रीलंकन पिलग्रिमेज हाउस अवस्थित छन् । पर्सा–तौलिहवा सडकको दक्षिणपट्टि सांस्कृतिक केन्द्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, लुम्बिनी संग्रहालय र बसपार्कसमेतका भागहरू अवस्थित छन् । विहार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूको लागि प्लटहरू छुट्टाइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, कम्बोडिया र थाइलैण्डले आ–आफ्नो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् ।
पश्चिमपट्टि नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मन आदि मुलुकका सरकार तथा संस्थाहरूले पनि आ–आफ्नो मौलिक अस्तित्व पुष्टि गर्ने विहार एवं स्तूपहरू तयार गरेका छन् । नहर तथा आन्तरिक सडकको दायाँ वायाँपट्टि योजना अनुरूप पङ्तिबद्ध ढड्डले वृक्षारोपण गरिएको छ । केन्द्रीय नहरको दक्षिण र दक्षिण–पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्तिघण्ट अवस्थित छन् । सर्कुलर लेभीको बीचमा अवस्थित पुरातात्विक बगैचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, स्तूप र विहारका स्मारकहरू छन् । यसरी बुद्धको जन्मस्थल लुम्बिनी विश्व मानवको साझा सम्पति भएकोले यसलाई १९९७ मा विश्वसम्पदा सूचीमा सूचिकृतसमेत गरिएको छ । यहाँ अवस्थित लुम्बिनी बौद्ध विश्वविद्यालय थप आकर्षणको केन्द्र बनेको छ ।
यहाँ प्रत्येक वर्ष करिब असी मुलुकका पर्यटकहरू भ्रमणार्थ आउने गर्दछन् । सन् १९९८ मा नेपाल भ्रमण बर्ष मनाउँदा २२,११९ जना भारतीय बाहेकका विदेशी पर्यटकहरू लुम्बिनी आएका थिए । यो क्रममा २००१ मा १०,१३५, २००२ मा तेस्रो मुलुकका ९,०३६ र २००३ मा २८,०५३ पर्यटकहरू यहाँ आएको देखिन्छ । केही समयसम्म देशमा भएको अशान्ति तथा द्वन्दको कारणले जुन अनुपातमा पर्यटकको संख्या बढ्नु पथ्र्यो यसमा अबरोध आयो । २००४ देखि २००९ सम्म क्रमशः यसको संख्या ३७८९२, ३९७९२, ४९५९५, ७१०५३, ८२०७५ र ७५०१९ रह्यो । सन् २०१० मा यसको संख्या ९९,५०८ पुुग्यो । यो गति क्रमशः बृद्धि हुँदैआएको छ । सन् २०१७ र २०१८ मा आन्तरिक तथा बाह्रयसमेत क्रमशः १५,५२,६०४ र १५,३२,१३४ को संख्यामा पुगेको छ जसमा तेस्रो मुलुकका क्रमशः १,४५,८१४ र १,६९,१८० रहेका थिए । यो बृद्धि दर आशालाग्दो नै रहेको छ । सन् २०१९ मा यसको गति आशातीत ढङ्गले बढेको देखिन्छ । यहाँ संख्यात्मक रूपमा श्रीलङ्का, थाइलैण्ड, दक्षिण कोरिया, म्यान्मार (बर्मा), जापान आदि मुलुकका पर्यटकहरू बढी आउने गरेका छन् । उनीहरू थल र हवाइ मार्गबाट आउने गर्दछन् ।
.jpg)
भारतीय ट्राभल एजेन्सीहरूले नेपालमा रातनै बिताउन नदिई फर्काउने परम्परा बढिनै रहेको छ । भारतीय तथा आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ । यहाँ आउनेको संख्याको अनुपातमा उनीहरूको बसाइको अबधि बढाउनु पर्ने चुनौती भने रहेको छ । प्रदेश नं ५ को सरकारले यहाँ आउने पर्यटकको संख्या बढोस् र जनताको जीवनस्तरमा परिवर्तन आओस् भनी लुम्बिनी भ्रमण बर्ष २०७६ मनाउँदै गरेको अवस्था छ । त्यसैगरी नेपालको संघीय सरकारले पनि सन् २०२० लाई नेपाल भ्रमण बर्षको रूपमा मनाउने निर्णय गरेको छ । लुम्बिनीमा निर्दिष्ट समयमा गुरुयोजना पुरा गर्न नसक्नु, व्यवस्थापनमा प्रत्यक्ष रूपमा राजनैतिक हस्तक्षेप हुनु, स्थानीय जनसहभागिता खासै प्रभावकारी ढङ्ले सञ्चालन गर्न नसक्नु, पर्यटकलाई आवश्यक पर्ने पूर्वाधारहरू जस्तै–व्यवस्थित यातायात, सडकजामको अन्त्य, वातावरणीय प्रदूषण, आवास, सञ्चार, पथप्रदर्शक, सुरक्षाको अनुभूति आदिको समुचित व्यवस्था उपलब्ध गराउन नसक्नाले चाहेजति पर्यटकहरूलाई आकर्षित गर्न सकिएको छैन ।
यहाँका जल्दाबल्दा समस्याहरूमध्ये वातावरणीय प्रदूषण अत्यन्त संवेदनशील विषय बनेको छ । सर्वप्रथम त गुरुयोजनाको बफर जोन तथा एग्रीकल्चर जोनमा जथाभावी कङ्क्रिट ब्लकहरू निर्माण भइरहेका छन् । यसमा नत सरकारको नियन्त्रण छ न लुम्बिनी विकास कोषलाई केही सूचना । छ त केवल क्षणीक पैसा कमाउने होटाबाजी र सन्तानको भबिष्यमाथि खेलबाड गर्ने चतुरहरूको ।
रघडेरीको रङ्गमञ्चले शान्तसुन्दर लुम्बिनीको प्राचीन इन्द्रको बगैचालाइृ चुनौती दिनथालेको छ । यसको भविष्य, भावी सन्ततिको जीवन र जगत वारे कसैलाई सोंच्ने फूर्सद नै छैन् । भैरहवा–लुम्बिनी सडकको दायाँवायाँ विभिन्न सिमेन्ट फ्याक्ट्रीसमेत चालिस भन्दा बढी सानाठूला उद्योगहरू स्थापित भएका छन् । परिवर्तित सन्दर्भमा उद्योगधन्धा सञ्चालन हुनु अवश्यपनि सकारात्मक पक्ष हो । तर विश्वसम्पदाको सूचीमा परेको लुम्बिनी क्षेत्रमा यसरी धमाधम प्रदूषणयुक्त कारखानाहरू स्थापना हुनु संबेदनशील कुरा छ ।
उद्योगहरूको लागि आवश्यक पर्ने कच्चा सामग्री आयत र तयारी माल निर्यात गर्दा यहाँको सडकको क्षेमता भन्दा बढी भार भएका गाडीहरू दिनप्रतिदिन कुद्ने गरेका छन् । स्थानीय नागरिक, विभिन्न संघसंस्था आदिले बारम्बार यसको वारेमा आवाज उठाउँदै आएपनि सरोकारवाला निकायले खासै चासो देखाएको पाइदैन । अव नयाँ उद्योगहरू यस क्षेत्रमा सञ्चालन गर्न सहमति नदिने र सञ्चालनमा आएकाले तोकिएको मापदण्ड अनुसार उत्पादित प्रदूषण व्यवस्थापन नगरेका दुईृ बर्षमा विस्थापित गर्ने भनी सरकारले एक दसक अघि निर्णय गरे पनि कार्यान्वयन भने भएको देखिदैन । लुम्बिनीमा वायुप्रदूषण, ध्वनीप्रदूषण, जलप्रदूषण तथा भू–प्रदूषण जस्ता समस्याहरू तिब्रगतिमा बढ्दै आएको देखिन्छ ।
भ्रमण गर्न जानेको अनुहार नै चिन्न नसक्ने गरी धुलो र धुबाँले ढाकेको हुन्छ । अहिले छ सडक बन्दै छ भनी चित्त बुझाएपनि यो अवस्था संबेदनशील छ । परियोजनाक्षेत्र भित्र बाटनै भैरहवा–कपिलवस्तु सडकमा अनियन्त्रित यातायात सञ्चालन, वृक्षको कटानी चोरीनिकासी, योजनाक्षेत्रलाई गौचरनको रूपमा उपयोग, वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणको अभाव, निर्माणकार्यमा ढिलासुस्ती आदि समस्याहरू देखिन्छन् । सडक निर्माणले अझ भयाबह अवस्था थपेको छ । यसमा ढिलासुस्ती छ । बुटवल–भैरहवा–लुम्बिनी–तौलिहवा आदि सडकको दायाँवायाँ विभिन्न जातका बृक्षारोपपण, बाटिका निर्माण, विश्रामस्थलको निर्माण आदि गर्नु अत्यावश्यक रहेको छ । यहाँका प्रदूषण लगायतका समस्याहरूलाई बेलैमा सोंचिएन भने पछि पछुताउनु बाहेक केही रहने छैन् । पछिका सन्तानले पूर्वजलाई सराप्ने छन् । सरकारले उद्योग स्थापनाको क्षेत्र (कोरिडर) अलग तोकी स्थापित भएकालाई कडाइका साथ प्रदूषणको व्यवस्थापन गर्न लगाउनु पर्दछ । अनुमति लिई सञ्चालित उद्योगलाई स्थानान्तरण गर्नुपर्ने भएमा सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरिदिनु पर्दछ ।
गौतमबुद्ध एअरपोटलाई डिस्टिनेसनको रूपमा मात्र नबनाई अन्तराष्ट्रियस्तरमा परिणत गर्नुपर्ने देखिन्छ । सडकको निर्माणकार्य छिटोछरितो हुनुपर्दछ । सडकको अनुपातमा पुलहरू पनि यथाशिघ्र निर्माण गर्नुपर्दछ । अहिलेनै सडकजामको मार पर्यटकहरूले खेप्नुपर्ने अवस्था आइसकेको छ । सन् २०२० लाई नेपाल भ्रमण बर्षको रूपमा मनाउँने तरखरमा लागे बखत बीस लाख पर्यटक भित्राउने लक्ष्य पुरा गर्नगराउन लुम्बिनीको वातावरणीय समस्यालाई पनि ध्यान दिनु पर्ने अवस्था आएको छ । यसमा सरकारको मात्र औपचारिक भर नपरी यस्ता संबेदनशील विषयवस्तुमा नागरिक समाज निरन्तर चनाखो हुनु पर्दछ । यसले पर्यटन विकास गर्नमा मात्र होइन विश्वसम्पदाको संरक्षण तथा संबर्धमा समेत विशेष सघाउने छ । जनस्वास्थ्य र जनजीविकामा समेत ठूलो टेवा पुग्ने भएकोले बेलैमा चनाखो हुनुपर्दछ ।