काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनी गुरुयोजनालाई पूर्णता दिने विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । संसदमा बिहीबारको विशेष समयमा बोल्दै सांसद घिमिरेले लुम्बिनीलाई गुरुयोजनामा मात्र नअल्झाऊँन आग्रह गर्नुभयो । प्रस्तुत छ—सांसद घिमिरेले बिहीबारको बैठकमा गर्नुभएको सम्बोधनको पूर्णपाठः
सम्मानीय सभामुख महोदय,
भन्सार विभागको तथ्यांक अनुसार मुलुकमा हाल ४१ वटा प्रमुख भन्सार कार्यालय छन् । ती भन्सार कार्यालयको मातहतमा रहने गरी मुलुकभर १३२ वटा छोटी भन्सार कार्यालय छन् । संख्यामा यत्तिका धेरै छोटी भन्सार कार्यालय देखिए पनि अधिकांश सञ्चालनमा छैनन् । द्धन्द्धकालमा विस्थापित भएका धेरैजसो छोटी भन्सार कार्यालय हाल सम्म बन्द अवस्थामा छन् । यसैगरी कोरोना महामारीमा बन्द गरिएका कतिपय छोटी भन्सार कार्यालय पनि सञ्चालनमा छैनन ।
छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा सिमावर्ती भारतीय बजारबाट नेपालतर्फ अवैध रुपमा खाद्यान्न, लत्ताकपडा, मेसिनरी समान लगायतका विभिन्न वस्तुहरु भित्रिने गरेको छ । यसबाट सीमा नाकामा एकातिर तस्करी मौलाएको छ भने अर्कोतर्फ नेपाल सरकारलाई ठूलो राजस्व गुमिरहेको छ । यसैगरी छोटी भन्सार कार्यालयका भौतिक पूर्वाधार जीर्ण हुँदै जानुको साथैं जमिन समेत अतिक्रमणको चपेटामा परेको पाइन्छ । भन्सार कार्यालयहरुले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्नुमा छोटी भन्सार कार्यालयहरु सञ्चालनमा नआउनु पनि हो । अतः सीमा क्षेत्रका बासिन्दाहरुको सहजता तथा राजस्व संकलन वृद्धिको लागि बन्द रहेका छोटी भन्सार कार्यालय यथाशीघ्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन मैले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु ।
सभामुख महोदय,
कतिपय छोटी भन्सार कार्यालयहरुलाई स्तरोन्नती गर्नुपर्ने अवस्था पनि देखिएको छ । रुपन्देहीको कुरा गर्दा भैरहवा भन्सार कार्यालय मातहत रहेको छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयकैं रुपमा स्तरोन्नी गर्नुपर्ने देखिन्छ । सीमावर्ती भारतीय कक्रहवा बजार विस्तार भएको छ भने कक्रहवासम्म लामो दुरीका भारतीय सवारीसाधन नियमित सञ्चालन हुने गरेका छन् । छोटी भन्सार कार्यालयलाई सीमित मूल्यका सामानको राजस्व असुली गर्ने मात्र अख्तियारी रहेकोले छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयकैं रुपमा स्तरोन्नती गर्दा राजस्व असुलीमा समेत टेवा पुग्नेछ । गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीबाट नजिकैं रहेको यो नाकाको स्तरोन्नतीले बाह्य पयर्टकको संख्या अभिवृद्धिमा समेत सहयोग पुग्ने देखिन्छ । यस्तै यो नाकाबाट सवारीसाधन नेपाल सहज रुपमा आउने जाने व्यवस्था मिलाउन पनि मैले सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।
सभामुख महोदय,
यसैगरी गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी शान्ति चाहने जोकोहीका लागि आकर्षक गन्तव्य मात्र होइन मुलुकको प्रमुख पर्यटकीय स्थलमध्येको एक हो । तर लुम्बिनीको एकीकृत विकासको लागि सरकारको यथेष्ट ध्यान पुग्न सकेको छैन । लुम्बिनी गुरुयोजना अझैं पूरा भएको छैन । गुरुयोजना पूरा गराउने उद्देश्यले राष्ट्रिय गौरवका आयोजनामा लुम्बिनीलाई समावेश गरिए पनि अपेक्षाअनुसारको निर्माण हुन सकेको छैन । यो सम्मानित सदनबाट मैले सरकारलाई आग्रह गर्न चाहन्छु—लुम्बिनीलाई गरुयोजनामा मात्र नअल्झाऊँ । अरु काम थाँति राखेर भए पनि लुम्बिनी गुरुयोजनालाई पूर्णता देऊँ, सधैंभरी गुरुयोजना मात्र भनेर कत्ति बस्ने ? गुरुयोजनाको काम सकाएर आहा ! लुम्बिनी भन्ने बनाएर पर्यटक ल्याउने अभियानमा लाग्न ढिलाइ गर्नुहुँदैन । लुम्बिनीमा पर्यटकको संख्या बढाउन सके मात्र मुलुकले पर्यटनमार्फत् आर्थिक समृद्धि ल्याउन सक्छ । यसर्थ लुम्बिनी गुरुयोजनालाई पूर्णता दिने विषयलाई प्राथमिकतामा राख्न म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । धन्यवाद ।