नेपालीमा एउटा चर्चित उखान छ, वनको बाघले खाओस नखाओस, मनको बाघले खान्छ । यस उखानले वास्तविक डर भन्दा काल्पनिक डर कति खतरनाक हुन्छ भन्ने कुरा औलाएको छ । हुन पनि हो मनको बाघले मानिसलाई एक पटक होइन, पटक पटक, दिनको हजारौं पटक खान्छ । वास्तवमा मानसिक समस्या भनेको बनको बाघले होइन, मनको बाघले खाएको स्थिति हो । त्यसैले यहाँ मानसिक रोग (मनोवैज्ञानिक समस्या भन्नु उपयुक्त हुन्छ ।) के हो र यस्ता समस्याहरु पैदा भएको खण्डमा त्यसको सही र स्थायी समाधान के हो भन्ने बुझ्न केही दृष्टान्तहरु हेरौं ।
दृष्टान्त नं. एकः
सुनशान जंगलको बाटो तपाईं आफ्नै शुरमा कतै हिंडिरहनु भएको छ । अचानक नजिकै बाघ गर्जिएको ठुलो आवाज आउँछ । तपाईंको सातोपुत्लो उड्छ । ज्यान जोगाउन तपाईं त्यहाँबाट भएभरको शक्ति लगाएर तुफान भाग्नु हुन्छ । र, सुरक्षित ठाउँमा पुग्नु हुन्छ । अब तपाईलाई थाहा हुन्छ । तपाईका मुटु बेजोडले धड्किरहेको छ, पसिनाले शरीर लुछुप्प छ ।
सास छिटो छिटो चलेको छ । आत्तिएर हगु कि मुतु भएको छ । त्यसबेला तपाईको बीपी नाप्ने हो भने २ सय कटेको हुन्छ, मस्तिष्क रसायनहरु उथलपुथल तथा असन्तुलन भएका हुन्छन् । केही क्षणको विश्रामपछि बिस्तारै बिस्तारै सबकुछ सामान्य हुन्छ । हरेक डरलाग्दा परिस्थितिहरुको सामना गर्नु पर्दा मानिसमा यस्तै लक्षणहरु देखा पर्छन् ।
बनको बाघले पैदा गरेको यस स्थिति कुनै मानसिक समस्या होइन, यो सामान्य घटना हो । यो स्थिति बाघको डर र बाघको संभावित आक्रमणबाट बच्नको लागि मस्तिष्कले पैदा गरेको शरीरिक प्रतिक्रिया हो । संसारका हरेक मानिसलाई धेरैथोरै बनको बाघले यस्तो स्थिति पैदा गराउँछ । मानिसले मात्र होइन हरेक प्राणीहरुले यस्तो स्थितिमा यस्तै प्रतिक्रिया देखाउँछन् । यस्तो अवस्थामा बीपी र एनजाइटि (भय) कम गर्न कुनै औषधिको आवश्यकता पर्दैन ।
दृष्टान्त नं. दुईः
तर, तपाई घरमा बसिरहनु भएको छ वा अफिसमा काम गरिहनु भएको छ । तर पनि तपाईलाई मुटुको धड्कन महसुस भइरहेको छ । डर लागिरहेको छ । मन बैचन छ । हरहमेसा यस्तो स्थिति छ भने सम्झनुहोस् तपाईको मनमा काल्पनिक बाघ (कुनै चिन्ता, डर तथा भय) बसेको छ र त्यस बाघले तपाईंलाई पटक पटक, दिनको हजारौं पटक खाइरहेको छ ।
यहाँ उल्लेखनीय कुरा के भने जंगलको बाघ सामान्य घटना हो, तर मनको बाघ चाहीं सामान्य घटना होइन, यो मनोवैज्ञानिक समस्या हो । यस समस्यालाई मनोचिकित्सामा सामान्यकृत दुश्चिन्ताको समस्या मानिन्छ । यस अवस्थामा पनि मुटुको धड्न बढेको हुन्छ, सास छिटो चलेको हुन्छ, मस्तिष्क रसायन असन्तुलन भएको हुन्छ । बीपी आदि बढेको हुन सक्दछ । यस समस्याको समाधानका लागि साइक्याट्रिले अनेक प्रकारका औषधिहरु सिफारिस गरेको छ ।
दृष्टान्त नं. तीनः
तपाईं सामान्य अवस्थामा कतै जानु भएको छ । तर, बिना कारण अचानक मुटु फुट्ला जस्तो हुन्छ, सास छिटो छिटो चल्छ, चितचित पसिना निस्किन्छ, त्यही वेहोस भई पल्टिउलाँ जस्तो हुन्छ । १० मिनेटदेखि आधा घण्टा पछि सबै कुरा सामान्य हुन्छ ।
यस्तो अवस्था यस कारण सिर्जना हुन्छ कि अचानक तपाईको मनमा बाघ आउँछ र केहीबेर पछि आफैं मनबाट जान्छ । यो पनि सामान्य घटना होइन, मनोचिकित्साको भाषामा पैनिक अट्याकको समस्या हो । यस्तो बेलामा पनि मस्तिष्क रसायन असन्तुलन भएको हुन्छ । रक्तचाप आदि बढेको हुन सक्दछ । यस समस्याको समाधानका लागि पनि साइक्याट्रिले अनेक प्रकारका औषधिहरु सिफारिस गरेको छ ।
दृष्टान्त नं. चारः
अरु बेलामा तपाईले आफ्नो दिनचर्या सामान्यरुपमा गर्नुहुन्छ । तर, कसैसँग बोल्दा आँखामा आँखा जुधाएर बोल्न सक्नु हुँदैन । विवाहपार्टी वा कुनै सामाजिक तथा सार्वजनिक समारोहमा जान, मानिसको अगाडि बोल्ने स्थितिबाट तपाई पन्छिनु हुन्छ तथा बाद्यताबस त्यस्तो स्थिति सामना गर्नु परेमा अचानक मुटु फुट्ला जस्तो हुन्छ, सास छिटो छिटो चल्छ, चितचित पसिना निस्किन्छ, त्यही वेहोस भई पल्टिउँला जस्तो हुन्छ भने यो पनि सामान्य घटना होइन, यो पनि मनको बाघले खाएको स्थिति हो, यसलाई मनोविज्ञानमा सामाजिक फोबिया भनिन्छ । यस्तो बेलामा पनि मस्तिष्क रसायन असन्तुलन भएको हुन्छ । बीपी आदि पनि बढेको हुन सक्दछ । यस समस्याको समाधानका लागि पनि साइक्याट्रिले अनेक प्रकारका औषधिहरु सिफारिस गरेको छ ।
माउन्टेन ड्यु कोल्ड ड्रिंक्सको एक विज्ञापन छ, मनोवैज्ञानिक दृष्टिले निकै उत्कृष्ट, जसमा एक सैन्य अभ्यास देखाइएको छ, उक्त अभ्यासका दौरान एक सैनिक अग्लो ठाउँबाट पानीमा हाम फाल्न डराउँछ। ‘डर सुन्नमा सानो जस्तो लाग्छ, जब लाग्छ, बहुत लाग्छ, डर सबैलाई लाग्छ, गला सबैको सुक्छ । बाटो सिर्फ दुई वटा हुन्छन्, लड या भाग। आज भाग्यौ भने हमेसा भागिरहन्छौ, लडौ भने जित्छौ, किनकि डरको अगाडि जीत छ।
अतः उपर्युक्त चार अवस्थाहरुको कारण हो, बाघ (डर) । पहिलो घटनाको कारण हो बनको बाघ (बाघको डर) । बाँकी घटनाहरुको कारण हो मनको बाघ (काल्पनिक भय) । अब एउटा गहन प्रश्न उठ्छ, के साइक्याट्रिले सिफारिस गरेका औषधिहरुले मनका यस्ता बाघहरु हटाउन सक्दछ ? पक्कै सक्दैन । त्यसैले त औषधिहरु खानुजेलसम्म मनको बाघले पैदा गरेका लक्षणहरु केही कम भए जस्तो भएता पनि औषधि सेवन गर्न छोडेपछि लक्षणहरु फेरि उस्तै भएर वा अझ उघ्र भएर आउँछन् ।
अतः मनोवैज्ञानिक समस्याहरुको सही समाधान भनेको नै मनको बाघलाई मनबाट हटाउनु हो । मनको बाघलाई मनबाट नहटाएसम्म मनको बाघले पैदा भएका लक्षणहरु फर्किफर्कि आउँछन् । तर बिडम्बना के भने साइक्याट्रि यस बाटोतर्फ हिंडेको देखिंदैन । त्यो किनभने यस बाटोमा कुनै फाइदा छैन । फाइदा त मेडिसिनमा छ । त्यसैले साइक्याट्रि भन्दछ, प्रोप्रैनोलोल खाऊ, भाषण गर्न जाऊ । यो भन्दा अवैज्ञानिक तर्क अरु के हुन सक्दछ ? यो त भाषणको डर लाग्छ भने एक प्याक खाऊ र भाषण गर्न जाऊ भने जस्तै भएन र ?
स्थायी रुपमा भाषणको भय (सामाजिक फोबिया) हटाउन मनमा अड्डा जमाएर बसेको स्टेजरुपी मनको बाघलाई मनबाट हटाउनु पर्छ, यसको कुनै विकल्प छैन । मनबाट स्टेजरुपी मनको बाघ हटाउन भाषण कला, रिहर्सल तथा एक्पोजर थेरापि जस्ता मनोवैज्ञानिक टेक्निकहरु सहयोगी हुन्छन् ।
प्रमुख कुरो मनलाई बलियो र शक्तिशाली बनाउनु हो । मानिसको मन बलियो र शक्तिशाली भयो भने कहिलेकाही बनमा बनको बाघले खाना खोजे पनि मनको बाघले कहिल्यै खाँदैन । यस कुरामा ढुक्क हुनुहोस् । मनलाई स्थिर, शान्त र मजबुत बनाउन मेडिसिन होइन, सकारात्मक सोच, स्वस्थ जीवनशैली, योग, प्राणायाम तथा ध्यान जस्ता विधीहरुले सघाउँछन् । यस्ता विधीहरु अपनाएर नै हामी शारीरिक तथा मानसिक रुपमा स्वस्थ र भयरहित निरोगी जीवन बाँच्न सक्छौं ।
(लेखक साइकोथेरापिष्ट हुन् ।)