विश्व सृजना गर्ने निराकार निरङ्कुश परब्रह्म परमात्माले सृष्टिको प्रारम्भमा महिला र पुरुषलाई समान अधिकार दिएर सुन्दर सृष्टि सृजना गर्न भनी यस पृथ्वीलोकमा पठाएका थिए । महिला र पुरुष दुवैलाई बराबर अधिकार भएकोले दुवै थरी मिलेर भगवानको निर्देशन अनुसार अगाडि बढ्दै गए ।
यसरी भगवान्को इच्छा र निर्देशन अनुसार सृष्टि गर्दै जाँदा पृथ्वी पनि स्वर्ग जस्तै देवता र मनुष्य सबैको आकर्षणको केन्द्रविन्दु बन्न गयेको थियो । पछि आएर महिलालाई विनोवा भावेको अवलाको परिभाषा अनुसार न विद्यते बलं यस्यां सा अवला अर्थात् जस्मा बल वा शक्ति छैन त्यो अवला हो भन्ने परिभाषा दिएका थिए । वास्तवमा यो परिभाषा गलत हो । अवलाको परिभाषा त अशेषेण परिपूर्ण रूपेण बलं विद्यते यस्यां सा अवला अर्थात् मनुष्य लगायत सम्पूर्ण देवगणहरू समेतलाई आफ्नो वशमा राख्न सक्ने बल जस्मा छ त्यही अवला हो । यही मान्यता अनुसार वैदिक कालको मानव समाज महिला पुरुषको समान अधिकार र समान रूपले एउटा रथका दुई पाङ्ग्रा जस्तै भएर काम गर्ने गरेको हुनाले तत्कालीन समाज स्वस्थ र सुन्दर थियो । अतः प्राचीन ऋग्वेदीय कालमा महिलाहरू पुर्ण अधिकार सम्पन्न एवं सशक्त थिए भन्ने बुझ्न सकिन्छ ।
आज भन्दा करीब १००० वर्ष पहिेले उल्लेख भएको मनुस्मृतिले भने अनुसार स्त्री शूद्रौ नाधीयताम् भनेर स्त्री वर्ग र शूद्रवर्गलाई वेद पढ्नबाट बञ्चित गरेपछि त्यस पछिका स्मृति र नीति शास्त्रहरूमा स्त्री र शूद्रलाई वेद पढ्ने पढाउने कुराबाट बञ्चित गर्दै आएको देखिन्छ । तर मूल वेदलाई अध्ययन गर्दा मानिस मानिस त्यस्तै पुरुष र स्त्रीजातिमा पनि कुनै प्रकारको भेदभाव भए—गरेको देखिँदैन । बरू सबैको समान अधिकार भएकोले सामाजिक व्यवस्था प्रवल रहेको देखिन्छ । ऋग्वेदमा त ऋचा सञ्चय गर्ने ब्रह्मवादिनीहरूको अस्त्त्वि समाजमा गौरवको रूपमा रहेको थियो ।
शतपथब्राह्मणमा उल्लेख भए अनुसार योगेश्वर याज्ञवल्क्यसँग येनाहं नानृतं स्यां तेन किमहं कुर्याम् अर्थात् जुन कर्म गर्नाले मेरो जीवन सफल र सुखी हुन्छ, म झुटो र असफल हुनुपर्दैन त्यस्तो कर्म के छ वताउनुहोस् भनेर यस धर्तिमा अनन्त प्रश्न गर्ने पनि आयावर्त भूमिका गौरवमयी आर्य महिला नै थिए । यो प्रश्न सुनेर स्वयं याज्ञवल्क्यलाई भन्नुपरेको थियो । रे मैत्रेयी ! यो वै भू मा तत्सुखं नाल्प सुखमस्ति अर्थात् यो नित्य आत्मा नै सुख स्वरूप हो । दृश्यमान प्रपञ्च अनित्य छ र जसलाई प्यारो गर्छौ अथवा जस्ले प्यारो गर्छ त्यस्ले अवश्य रुवाउँछ ।
यसकारण वैदिक कालमा कुमारीहरू वासनाका शिकार मात्र भएर बस्थे भन्ने आधार कतै भेटिन्न । जनकको राजसभादेखि लिएर समस्त आर्यावर्तमा गार्गीजस्ती विदुषीलाई शास्त्रार्थ वा प्रश्नोत्तरमा शान्त गर्ने व्यक्ति अरू कोही नभएकोले योगीबर याज्ञवल्क्यसँग गएर जिज्ञासा शान्त गर्ने अवसर पाएकी थियिन् । यसता जिज्ञासा मैत्रेयीले पटक पटक गरेर याज्ञवल्क्यले उत्तर दिइरहनुपरेको थियो । यत्र नार्यस्तुपुज्यन्ते रमन्ते तत्र देवताः अर्थात् जहाँ नारीहरू पूजिन्छन् त्यहाँ देवताहरू पनि रमाउँछन् भन्ने यो मनुको उद्गारमा भृगु ऋषिले पनि भन्नुभएको थियो । गार्गी र मैत्रेयी आदिका कुराले भन्न सकिन्छ कि ? वैदिक कालमा नारीहरू अत्यन्त शिक्षित र दीक्षित थिए । पुरुष वा आजको विकशित समाजका नारीहरू भन्दा धेरे प्रकारले पूजनीय थिए । अनि नारीहरूले नै आमा बन्ने अवसर पाएपछि बालकको जन्म समयदेखि शिक्षाकालसम्म आमा कै काखमा हुर्कने अवसर पाउँछ । त्यसैले मातृ—समो गुरुर्नास्ति अर्थात् आमालाई नै सबैभन्दा ठूलो गुरुको महत्त्व पनि दिएको पाइन्छ । यसकारण भन्न सकिन्छ कि ?
कालान्तरमा कुनै व्यक्ति विशेषले स्त्री र शूद्रलाई वेद पढ्न निषेध गरेपछि तत्कालीन समाजले त्यही कुरालाई समर्थन गरेर अघि बढ्दै आएको देखियो । यस्तो सरासर गलत कुरा समाजमा भित्र्याएर स्वस्थ समाजलाई धमिल्याएको देखिन्छ । यही गलत सामाजिक व्यवस्थाका कारण आज आएर महिला अधिकारवादीले नाक फुलाउने अवसर पाएका छन् ।
ऋग्वेदमा यस्ता विदुषी नारीहरू नै ऋचादर्शी र संग्रह गर्ने विशिष्ट विदूषी थिए भन्ने अनेकौं प्रमाण छन् । अतः विभेदका कुरा पछि नै आएका हुन् भन्न गाह्रो छैन । सायणाचार्यले यत्र तत्र मन्त्रदर्शी ऋषिका भनेर पूर्वपीठिका भाष्यमा वर्णन गरेका छन् । सावितृसुताका ऋचासंग्रह र भावहरूलाई हेर्दा मानिस अत्यन्त भावुक बन्न पुग्छ । ऋग्वेदको दशौं मण्डलको ८५ सूक्तको ४७ औं ऋचालाई स्व अनुभूतिबाट प्रकाशित गर्ने ऋषिका ब्रह्मवादिनी सूर्या थियिन् । ऋग्वेद प्रथम मण्डलको १२६ सूक्तको ७ ऋचाको सङ्कलन गर्ने ऋषिका ब्रह्मवादिनी रोमशा थियिन् । ऋग्वेद अष्टम मण्डलको प्रथम सूक्तको ३४ ऋचा सङ्कलन गर्ने ऋषिका ब्रह्मवादिनी शाश्वती हुन् । ऋग्वेद दशौं मण्डल १२५ सूक्तमा देवीसुक्तको नामले ८ मन्त्र प्रसिद्ध छन् । यसमा कतिपय आधुनिक वैज्ञानिक कुराहरू पनि छन् । यी मन्त्रहरू साक्षात् वाणीस्वरूपा ब्रह्मवादिनी वाक् नाम गरेकी ऋषिकाले संग्रह गरेकी हुन् ।
ऋग्वेद अष्टम मण्डल ९१ सूक्तको १ देखि लिएर ७ ऋचा प्रसिद्ध ब्रह्मविदूषी अपालाको भाव हो । प्रायः जनसामान्यहरूमा पनि अपाला, गार्गी र मैत्रेयी प्रसिद्ध विदुषीहरू हुन् । त्यसमा पनि अपाला त मूल ऋग्वेदमा प्रविष्ट छन् । गार्गी र मैत्रेयी उपनिषदमा छन् । यस रीतिले ऋग्वेद पञ्चम मण्डलको द्वितीय अनुवाक्को ६ ऋचा वेदवादिनी विश्ववाराले देखेकी हुन् । यहाँ यास्कको निरुक्तअनुसार ‘देख्नु’ भन्ने शब्दलाई प्रयोग गरेको हो । यास्क भन्नुहुन्छ ऋषयोः मन्त्र द्रष्टारः त अवरेभ्यो मन्त्रान् संप्राहु’ । मन्त्र द्रष्टाहरूमा ऋषि र ऋषिका दुवै छन् । त्यसो हुँदा अध्ययन मननमा पनि पङ्क्तिभेद हुन सक्दैन । यस्मा यास्कले द्रष्टा शब्द प्रयोग गरेको हुनाले ऋचालाई देखे भन्दा अत्युक्ति हुँदैन ।
यस रीतिले ममता, उसीजा आदि विदुषी नारी वर्गको वेद पढ्ने उच्च शिक्षाको महत्त्व खोसेको देखिँदैन । यजुर्वेदमा यथेमां वाचं कल्याणी.......’ मन्त्रमा अधिकार सुरक्षित भएको बुझिन्छ । यहाँ अवस्य कतिपय व्यक्तिहरूले आर्य समाजीहरूको कुरा भनेर टाल्न चाहन्छन् । तर वेद आर्य समाजको मात्रै होइन, अपितु सबैको हो । स्वयं कलमी आर्यसमाजी होइन । यस प्रकार स्त्रीशूद्रौ नाधीयताम् आदि वाक्यले अधिकारी— हरूलाई अनधिकारी बनाउने काम मात्र गरेको छ । ऋग्वेदीय प्रमाणहरूबाट नारीसमाजलाई पूर्ण वेदाध्ययन गर्ने अधिकार भएको बुझिन्छ । संसारमा स्मृतिहरू भन्दा श्रुति प्रमाणहरू सर्वमान्य छन् ।
अतः वैदिक कालमा स्त्री शिक्षा सुदृढ थियो भन्ने कुरा सिद्ध छ । कुनै पारस्परिक व्यवहारमा विवाद हुनुको कारण स्त्री र शूद्रहरूलाई शिक्षा दीक्षाबाट बञ्चित गरेका थिए भन्ने बुझिन्छ । अब समान शिक्षा दीक्षा ‘समानी आकूति समनं मनः‘ यस मन्त्रलाई सार्थक पार्ने वेला आयेको छ । स्त्रीशूद्रलाई मात्र होइन अपितु समस्त मानव जातिलाई वेद पढ्ने अधिकार छ । यो कुरा आर्य समाजको मात्र नभई समस्त मानवमात्रमा पु¥याउने कुरा (विचार) हो । त्यसकारण महिला र पुरुष दुवै मिलेर वेदको गहन अध्ययन गरेर पूर्वआर्यहरूको शिक्षा प्रणालीको अनुसरण गरी आर्य विज्ञानको प्रचार प्रसार र उन्नति तर्फ लागौं । यही नै ऋग्वेदको ‘अग्निमिले’ प्रथम मन्त्रको उद्गार हो ।
तर यस कुराले यो सोच्नु भूल हुने छ कि ? पहिले मातृसत्तात्मक जगत थियो । यति धेरै शिक्षित ब्रह्मविदुषी र सामाजिक क्षेत्रमा पुरुषवर्गसँग मिलेर बराबर हेसियतमा काम गर्ने महिलाहरू जङ्गली आइमाई थिएनन् र सबैसँग यौन सञ्चार गर्दथे भन्ने कुरा त हिँजो अस्तिका अपरिपक्व बुद्धि भएका मानिसहरूको कल्पना मात्रै हो । हाम्रो समस्त आर्य इतिहासलाई हेर्दा यस्तो मातृसत्ताको उल्लेख कहीं पनि पाइँदैन । पछि आएर खासगरी पाश्चात्य मुलुकबाट व्यर्थैमा झुटो कल्पना मात्र गरेको देखिन्छ । यो अवश्य हो कि अलिपछि आएर केही अगुवा ब्राह्मणले स्त्रीवर्गमाथि निकै अङ्कुश लगाएको देखिन्छ । तर पूरा ऋग्वेददेखि लिएर ब्राह्मण, आरण्यक, उपनिषदकालसम्म पूर्णरूपले स्त्रीपुरुष दुवैको विद्या, व्यवहार, विवाह, संस्कार आदिमा समान अधिकार भएको पाउँछौं । त्यसो हुँदा मातृसत्तात्मक कथा पूर्वींय आर्य समाजमा पाश्चात्यहरूको छायाँ परेर आफ्नो बुद्धि र विचारमा खिया लागेको मात्र हो ।
पूर्वीय आर्यहरूले गर्दै आएका नारीसम्मानका केही उदाहरणहरू यहाँ प्रस्तुत गरिएको छ —
—भगवान्का चौविसौं अवतार मानिने वेदव्यास महर्षिले सिङ्गो देवी भागवत् पुराण लेखेर त्यस्मा आदिशक्ति माताको गुणगान गर्दै उहाँको विशिष्ट चरित्रको वर्णन गर्नुभएको छ ।
—त्रीकालदर्शी एवं चिञ्जीवी मार्कण्डेय महर्षिले मार्कण्डेय पुराणमा, दुर्गा कवच लेखेर दुर्गापूजाको व्यवस्था र आदिशक्ति जगज्जननीको सम्मान गर्ने परम्परा प्रारम्भ गर्नुभएको थियो । त्यसपछि पूर्वीय आर्य समाजमा दुर्गापूजाको संस्कति शुरूभएको हो र आज पनि हामीले नवदुर्गा बडादशै वा चैते दशैंमा १ वर्षदेखि नौ वर्षसम्मका कन्याहरूलाई नवदुर्गाको रूपमा आमन्त्रण गरेर पूजागरी मिठा २ खाना फलफूल र वस्त्रहरू दिएर सम्मान गर्दै आएका छौं ।
—यसैगरी कुनै र्संस्कार वा संकृतिका कर्महरू शुरू गर्दा जस्तै विवाह व्रतबन्ध तथा यज्ञ यागादिहरूमा वा कहंी कतै साइत गरेर जानुपर्दा पनि कन्यालाई टीका लगाएर साइत गर्ने प्रचलन थियो र आज पनि छ ।
—बैदिक सनातन धर्मअनुसार हरेक पुरुषको नामको अगाडि प्रथम अक्षर श्री लेखेर मात्र उसको नाम लेख्ने चलन थियो जस्तै श्रीगणेश, श्रीराम, श्रीकृष्ण, श्रीशङ्कर, श्रीभद्र आदि आदि । श्रीको अर्थ लक्ष्मी हो अर्थात् नारीरूप हो । सृष्टिकी प्रथमशक्ति प्रकृति मातालाई मानेर यसरी हरेक पुरुषका नामको अगाडि शक्तिरूपा जगज्जननी मातालाई सम्मान गरेर मात्र पुरुषको नामलेख्ने चलन भगवान्बाट नै शुरू भएको थियो र हिजसम्म पनि हामीले आफ्नो नामको अगाडि श्री लेख्दै आएका थियौं । तर आज पाश्चात्य संस्कृतिको प्रभावमा परेर यो नारीलाई सम्मान गरी श्री लेख्ने चलन हटाइएको छ । यो हाम्रो लागि अपाच्य कुरा हो आफ्नो संस्कृति जोगाउनेतर्फ लाग्नु हाम्रो नैतिकता हो । पाश्चात्य मुलुकका मानिसले आफ्नो धर्म र संस्कृतिको प्रचार प्रसार अगाडि बढाउँदै गर्दा हामीले आफ्नो धर्म संस्कार संस्कृति छोड्दैजानु भनेको आफूलाई र आफनो पहिचानलाई विर्सनु हो । यसरी हामीले आफनो चिनारी मेटाउन उद्यत हुँदै गयौं भनेदेखि विश्वमा फैलिएको वीर नेपालीको सान र पहिचान समाप्त भएर जानेछ । अतः समय छँदै सतर्क बनौं ।
—गायत्री मन्त्र र याकुन्देन..., शुक्लां ब्रह्म विचार सार परमा..., आदि अनेक प्रकारका स्तुति र प्रर्थनाहरू उल्लेख गरेर ती त्रीकालदर्शी महर्षिहरूले देवी कै स्तुति र प्रार्थना गरी आफूहरू सर्वज्ञ भएको सन्देश प्रबाह गरेका छन् ।
—पहिले नारीको पनि व्रतबन्ध गरी वेदपढ्ने चलन भएकोले ऋग्वेद कालीन गार्गी, मैत्रेयी, कपाला आदि गरिएका तमाम विदुषीहरूको नाम र काम माथि उल्लेख भई सकेकोछ ।
यस सम्बन्धमा उल्लेख एउटा श्लोकः—
पुरा कल्पेतुनारीणां मौञ्जिबन्धन मिष्यते ।
अध्ययनं च वेदस्य सावित्री वचनं तथा ।।
अर्थात् प्राचीन समयमा महिलाहरूको पुरुष सरह व्रतबन्ध हुन्थ्यो र गुरुकुलमा वसेर वेद पढेर दीक्षा लिने चलन थियो । यसैगरी अदुष्टकार्माणां शूद्राणामपि व्रतबन्धः अर्थात् असलकर्म गर्ने जुनसुकै व्यवशायी, जात—जाति वा धर्मीको पनि व्रतवन्ध गर्ने चलन थियो भनेर स्पष्टरूपमा उल्लेख छ ।
—भगवान् कृष्णले गीताको दशौ अध्यायको ३४ औं श्लोकमा भन्नुभएको छ —
मृत्युः सर्वहरश्चाहमुद्भवश्च भविष्यताम् ।
कीर्तिः श्रीर्वाक्च नारीणां स्मृतिर्मेधा धृतिः क्षमा ।।
अर्थात् म सर्वभक्षी मृत्यु हूँ र पछि उत्पत्ति हुनेहरूको सृष्टि नियम पनि म नै हूंँ । त्यसैगरी स्त्रीहरूमा रहेको कीर्ति, लक्ष्मी, वाणी, स्मृति, बुद्धि, धृति, दया, करुणा, क्षमा र सहनशीलता पनि म नै हूँ भन्नुभएकोले आर्य समाजमा नारीहरूलाई सम्मान गरेर पुज्ने चलन चलेको हो र हामी गीताका अनुयायीहरूमा नारीहरूको विशेष सम्मान र पूजा गर्ने परंपरा पनि रहिआएको छ ।
यी माथि उल्लेख भएका सबै कुराहरू पढ्दा नारीहरूप्रति पूर्वीय आर्य समाजले निकै ठूलो श्रद्धा र सम्मान गर्दै आएको कुरा स्पष्ट देखिन्छ । तर आजका नारीहरूले यी कुराहरू बुझ्ने अवसर नपाएर अथवा अध्ययन गर्न नचाहेर वा नबुझेर वा बुझ पचाएर हो पुरुष समाजलाई दोष दिँदै कतिपय नारीले त पाश्चात्य संस्कृतिको अनुसरण पनि गर्न लागेका छन् । यसले हाम्रो समाजमा रहेको सामाजिक सद्भाव, श्रद्धा र सम्मानमा धमिरो लाग्दैछ । अर्थात् सामाजिक अस्थिरता र अशान्ति मौलाउन लागेको छ ।
अतः आजका बौद्धिक मानिसहरू यी कुरीति र कुसंस्कारबाट जोगिनको लागि सचेत बनौं ! अस्तु ।