हामीलाई प्यूठान जाने निम्तो आयो । साहित्य परिषदका प्यूठानका अध्यक्ष साहित्यकार नवराज आचार्य तथा लुम्बिनी वाङमय प्रतिष्ठान प्युठान शाखाको अध्यक्ष साहित्यकार रामकुमारी कुुँवर अनि साहित्यकार देवेन्द्र रिजालले तारन्तर फोन गरिरहनु भयो । लुम्बिनी वाङमय प्रतिष्ठानका सबै सदस्यहरु र जिल्ला अध्यक्ष लगायत अरुलाई पनि निम्तो थियो । दशैंको मुखमा भएर होला सायद धेरै साथीहरु सूचना पाएर पनि निमन्त्रणा भएको ठाउँमा पुग्न सक्नु भएन । भैरहवातिरबाट साहित्यकार जान चाहनु भएको भएको थियो । तर उचित संयोजन हुन सकेन ।
प्युठानमा ११, १२, १३ गते बृहद साहित्य÷संगीत महोत्सव थियो । महोत्सवको स्लोगान ः
साहित्य कला संस्कृति र पर्यटनको विकास
साहित्य परिषद प्युठानको जीवन्त इतिहास,भन्ने थियो ।
आयोजक संस्थामा साहित्य परिषद प्युठान र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठान काडमाण्डौ राखिएको थियो । आर्थिक नैतिक भौतिक सहयोग जिल्ला समन्वय समिति र प्युठान नगरपालिको थियो ।
तीन दिने साहित्य, कला र संस्कृतिको बृहद कार्यक्रम रहेछ । कार्यक्रमको विवरणमा पहिलो दिन प्रसिद्ध धार्मिक स्थलमा स्वर्गद्वारीमा कार्यक्रमको उद्घाटन रचना वाचन, प्रवचन, पुस्तक लोकार्पण र झाँकी प्रदर्शन थियो । दोस्रो दिन पर्यटकीय स्थल बाँधीकोट र ओखरबोटमा रचनावाचन र स्थानीय लाखे नाँच प्रदर्शन थियो । तेस्रो दिन मल्लरानी पर्यटन स्थलको जानकारी र जनता मावि वाग्दुलामा कविता प्रतियोगिता, प्रवचन सम्मान र समापन कार्यक्रम थियो ।
म १२ गते बिहान १० बजे मात्र हिंडें । दशैंको मुखमा आवागमनको चाप ज्यादा छ । घर फर्कनेहरु बस नपाएर कोचाकोच भएर हिंडेका छन् । ट्राफिकहरुलाई नियमन गर्न हम्मेहम्मे छ । म पश्चिम महेन्द्रनगरसम्म जाने गाडीमा चढें । संयोगबस एउटा सिट रहेछ । गाडी चालक सहचालकहरुले दुई घण्टामै लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ्ग पु¥याए । त्यसपछि म प्यूठान बाग्दुला जाने गाडीमा चढें । यात्रा सोंचेजस्तो त्यति असहज भएन । म निरन्तर नवराज आचार्यको सम्पर्कमा थिएं । म ४ बजे वाग्दुला पुगें । दुई दिनको काममा पुग्न नसकेकोमा दुखी थिए । त्यसै बीच अध्यक्षले खलङगा बोलाउनु भयो । खलङ्गा प्यूठानको सदरमुकाम हो । डाँडाभरि तलदेखि माथिसम्म लहरै परेका सुन्दर घरहरु देखिन्छन् । प्राकृतिक सौन्दर्यले परिपूर्ण देखिन्छ । मैले मोवाइलमा केही फोटाहरु कैद गरें ।
खलङ्गाको शिरमा मल्लरानी पर्यटकीय स्थल रहेको छ । म फेरि अर्को जीप चढें । खलङ्गाको जिल्ला सदरमुकामकै सुविधा सम्पन्न अतिथि बस्ने व्यवस्था रहेछ । हामी त्यही बस्यौं । मलाई विशेष ख्याल गर्ने साहित्यकार तथा पत्रकार दामु मर्सीफूल र कविता उपाध्याय साहित्यकार खेमराज शर्माका साथ आईसक्नु भएको रहेछ । म र खेमराज शर्मा सँगै बस्यौं ।
म जाँदा कार्यक्रमको गोलमेच बसाईमा समीक्षा रहेछ । यति लामो कार्यक्रममा झिना मसिना त्रुटि त भइहाल्छन् । सहभागीहरुले सिङ्गो कार्यक्रमको समीक्षा गर्नु भयो । समीक्षामा अवसर नपाउनेहरुले नराम्रो भन्छन् । अवसर पाउनेहरुले राम्रो छ भन्छन् । त्यसैले कार्यक्रममा सकेसम्म हरेकलाई सहभागी बनाउनु पर्छ । तीन तीन दिनसम्म कुलुकभरका दर्जनौं साहित्यिक अतिथिदेवहरु र स्थानीय साहित्यकारले आफूलाई र आफ्नो प्रतिभालाई राम्रोसँग पोख्ने अवसर पाए । काव्य कलामा पोख्तहरुले आफूलाई स्थानीय स्तरसम्म चिन्ने चिनाउने अवसर पाए । कार्यक्रम भव्य रुपमा सफल भयो । कहिलेकाहिं त अवसर नपाउनेहरुबाट कार्यक्रमको आम उपलब्धिलाई भन्दा गौण कुरालाई उछालेर कुखुरा भुत्ल्याएझै भुत्लाउने पनि गरिन्छ । त्यहाँ त्यस्तो भएन । त्यहाँ सूचना सम्प्रेषण, दिशा दिशानिर्देश, समयको ख्याल नगरेको निष्कर्ष निकालियो । तर आम रुपमा कार्यक्रम असाध्य राम्ररी सफल भएको निष्कर्ष आयो ।
मेरो घर अर्घाखाँचीको मलारानी हो । म १३ गते बिहान मालारानीको सन्देश लिएर मल्लरानीमा पुगेको थिएं । करिव १५ हजार मिटर माथिको पर्यटकीय स्थल मल्लरानी पाटनजस्तो रहेछ । उक्त उच्च समस्थलीमा पुगेर टाढा टाढाका धवलागिरी हिम श्रृङखला, माछापुछ्रे हिमाल, स्वर्गद्वारी, सेंगलेनसम्म हे¥यौं । पश्चिमतिरको झिमरुक फाँट प्यूठानको अन्न भण्डार हो । अहिले शारदी शोभाले प्यूठान दुलहीजस्तै सिंगारिएको छ । दशैंको आगमनसँगै अहिले झिमरुक फाँट पहेंलपुर देखिन्छ । प्यूठान हेर्दा प्यूठान स्वर्गजस्तो देखिन्छ । अहिले प्युठानेहरु घरजम गर्न त्यही फाँटमा झरेका छन् । बजार हर्लक्क बढेको छ । घरहरु बनिरहेका छन् । त्यहाँ अर्घाखाँची गुल्मीमा जस्तो बसाई सराई अलि कम रहेछ । बाटो पक्की छ । विद्युतको सुविधा पुगेको छ । पानी छयालब्याल छ । प्युठानेहरु रसिक र प्रकृतिप्रेमी पनि छन् । खुलेर हाँस्छन् । गीत गायो कि छमछम नाँच्छन् । साहित्यमा साधना गर्छन् । कला संगीतप्रति उस्तै अभिरुचि छ । सुखी र खुसी छन् ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका अनुसन्धान विभाग प्रमुख प्यूठान जिल्लाको गर्विलो व्यक्तित्व प्रा.डा. गीतु गीरीले हालसम्म त्यस्तो खास केही नभेटिएको बताउनु भयो । मल्लरानीको ऐतिहासिक, साँस्कृतिक र पौराणिक किंवदन्ती भेटिएको छैन । पुरातात्विक अवशेष पनि देखिदैन । त्यसको खोज अनुसन्धमानमा जुट्नु पर्छ भन्नु भयो । किंवदन्तीको रुपमा झिनो तन्तु भेटियो भने त्यसैको आधारमा घटनालाई अलि अलि कल्पनाको जलप लगाएर मांशपेशी भरेर चित्ताकर्षक किंवदन्ती तयार पारेर त्यहाँ आउने पर्यटकहरुलाई सुनाउनु पर्छ । मल्लरानीको खोज हुनु पर्छ । हामीले सुझाव दियौं ।
मल्लरानीको सन्दर्भमा आफूसँग केही जानकारी नरहेको तर काँत्रेखोलाको सिरम झाँक्री र डल्ले सरायं बारेमा अलिकति खोज अनुसन्धान गरेको कुरा फोनबाट संस्कृतिविद राजेन्द्रकुमार आचार्यले बताउनु भयो । उहाँले पनि श्रोत व्यक्ति गीतु गिरी नै रहेको बताउनु भयो । उच्च समस्थलीबाट पूर्वपश्चिम उत्तर दक्षिण चियाएर हेर्न सजिलो छ । त्यो आफैमा भ्यूटावरजस्तो छ । त्यसमा भ्यूटावरको नयाँ संरचना बनाउन पर्दैन । अहिले मल्लरानी गाउँपालिकाले डिपिआर बनाएको रहेछ । पुरानो जीर्णप्राय मन्दिर छ । त्यहाँ जनमुक्ति सेनाले तयार पारेको बङकर रहेछ । केहीले जनमुक्ति सेनाको नभई नेपाली सेनाको पनि भने । त्यसलाई अलि व्यवस्थित गरेर राख्ने योजना रहेछ । अन्य एन्टिसीको टावर लगायत केही ससाना संरचनाहरु छन् । जिल्ला सदरमुकामबाट त्यहाँ धेरै जाँदा रहेछन् । हामी पनि अध्ययनको सिलसिलामा पुग्यौं । प्रकृति अत्यन्तै सुन्दर छ ।
हामी मरन्ठानमा पुग्यौं । मरन्ठना गीतु गिरीको जन्मथलो हो । उहाँले आफू तल बेसीतिर बसेको बताउनु भयो । त्यहाँ एउटा भूमेश्वरी कोट रहेछ । भूमिश्वरी दुर्गा भवानीको नाम हो । त्यहाँ हातहतियार रहेछन् । विशेषतः कला क्षेत्रका धनी रामहरि थापाको योगदान विषय जानकारी भयो । त्यहाँ भीमबहादुर घर्तीमगर नामक मगर पुजारी रहेछन् । मगर पूजारी हुनु पनि खुसीकै कुरा हो । त्यहाँबाट पूर्व मरेङ्ग भन्ने गाउँ पनि रहेछ । मरेङ मगर भाषाको शब्द हो । मेरो पूर्व गाविसको नाम मरेङ्ग हो । त्यो सुनेर मलाई अरुन खोलालाई बटारेर अरुणखोला बनाएझै शब्दहरु बटार्ने र बिगार्ने कुराको याद आयो । संस्कृतिविद गितु गिरीले इतिहास जस्ताको तस्तै राख्नु पर्छ भने । यो त्यहाँ मगरबस्ती भएको प्रमाण हो । भूमिश्वरी मन्दिरको अध्यक्ष सूर्यबहादुर थापाले पनि त्यहाँको विषयमा बताए । त्यसपछि हामी भादेश भुमरीको घरमा पुग्यौं । उनले सबै अतिथिहरुलाई खीर खुवाएर स्वागत गरे । साथमा प्यूठान लुङका प्राज्ञ प्रतिष्ठानका प्राज्ञ गोपिन्द्र पौडेल पनि थिए । प्यूठानको भाषा, साहित्य, कला, संगीत संस्कृति क्षेत्रको विकासको लागि हुररुक्क हुने उहाँलाई प्यूठानीहरु अत्यन्त आदर गर्दा रहेछन् । यो कार्यक्रममा उनले निकै महत्वपूर्ण श्रोत व्यक्तिको रुपमा काम गरेको देखियो । उनी पनि प्यूठानको शान चम्काउने महत्वपूर्ण व्यक्ति हुन् ।
बाटामा हामीहरु साहित्येत्तर कुराहरु पनि गर्दे हिंड्यौं । देवेन्द्रकुमार रिजाल परिवर्तनले सही बाटो लिन नसकेको भन्दै अलि टाठो संवाद गरे । हाम्रो नेपाली समाज विविधतापूर्ण छ । विविधताहरु बीच सहअस्तित्व, समानता, स्वतन्त्रता कायम गरेर उनीहरुलाई पहिचान र आत्म सम्मान दिएर राष्ट्रिय मूलधारमभा हिंडाउनु पर्छ भन्ने निष्कर्षमा पुगियो । अब एकमा एकता हैन अनेकतामा एकता ल्याउने संघीय लोकतान्त्रिक प्रणालीलाई चुस्त दुरुस्त बनाउनु पर्छ भन्ने कुरा आयो ।
त्यो समयमा, युवराज नयाँघरे, डा.धनप्रसाद सुवेदी, ठाकुर बेल्बासे, कविता उपाध्याय, दामु मर्सिफूल, कृष्णराज अधिकारी, निमबहादुर थापा, भीम रानाभाट, शारदा शर्मा, नारायण मरासिनी, मनु विक, अर्जुनकुमार कक्षपती, हरि पोखरेल, गेहराज थापा, छविलाल कोपिला, रेशम बिसी, वैरागी जेठा, लक्ष्मी रिजाल, विमल पोखरेल, समीर सिंह, विष्णुप्रसाद आचार्य, आविष्कार कला, ध्रुव बस्याल, हेमराज आश्रम, लिला खनाल, विमला खनाल, शान्ता आचार्य, भेषमान गिरी, मोहन गिरी, टोपराम आचार्य, टिकाराम उदासी, भावेश भुमरी, दीपा खत्री, अनिल श्रेष्ठ, मदन खत्री, प्रबल्ला सिन्धुलियालगायतका साहित्यकारहरु थिए ।
त्यो दिन वास्तवमा खानाको सबालमा पनि जातीय विशिष्टता हुन्छ । थारु गाउँमा जाँदा थारुहरुको व्यन्जन घोंगी खाएर, बाहुन गाउँमा बाहुन जातिको खीर खाएर मगर गाउँमा मगर जातिको व्यन्जन बंगुरको मासु खाएर,नेवार गाउँमा राँगाको सुकुटी खाएर एक अर्काले सम्मान गर्नुपर्छ । कसैको खानालाई घृणा गर्नु असहिष्णु बन्ने हो भन्नेसम्मका मिहीन कुरा आए । प्रचण्डको भैसी पूजाको सन्दर्भलाई लिंदा भैंसी पूजा अलौकिक हैन, लौकिक संस्कृति हो । भैसी दूध दिने प्रजाति हो । भैंसीको कृतज्ञतापूर्वक गरिएको पूजा राम्रो हो भनियो ।
कहिले हाँसो त कहिले हल्का गम्भीर हुँदै हामी १२ बजे बाग्दुलामा झ¥यौं । बाग्दुला व्यस्त बजार हो । यातायताका दृष्टिले सुगम भएकोले मानिसहरुको आवगमन बाक्लै हुुन्छ । त्यहाँबाट मच्छी, गौमुखीतिर गइन्छ । त्यो बाटो ओखरबाट तिलकराम पोखरेल मामा र चुँदाराको दिदी विष्णु पोखरेलको घरमा जाँदा हिंडेको छु । बाग्दुलाको नाम कसरी रहेको हो, त्यसको विषयमा पनि छलफल चलाउनु पर्छ । निश्चय नै बाग्दुला बाघको दूलो भएर नाम रहेको होला । त्यहाँ त्यस्तो कुन ठाउँमा छ, त्यस ठाउँमा अलि चौडा र आकर्षक खालको बाघको ओडार (दुलो) र बाघको सुतिरहेको प्रतिमा राख्ने र त्यसको वरिपरि सानो पार्क बनाएर बाउण्डरी गरी पर्यटनयुक्त स्थल बनाउनु पर्छ भन्ने लाग्यो । त्यसले हराउँदै जान लागेको बाघ प्रजातिको इतिहास जोगिन्छ ।
अब प्यूठानको महत्वपूर्ण ऐतहासिक विद्यालय जनता उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम शुरु भयो । जुन विद्यालय २०१४ सालमा बनेको रहेछ । मुक्ति मावि २०११ सालमा बनेको कुरा थाहा लाग्यो । त्यहाँ २०१६ साल पुष १ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा अनावरण गरिएको रहेछ । प्रतिमा अनावरणमा महेन्द्र शाह र विश्वेश्वरप्रसाद कोइराला आएको थाहा लाग्यो । त्यो प्रतिमा कृतिशेष महाकवि देवकोटाको मृत्यपछि नब्बे दिनमै बनेको नेपालको पहिलो रहेछ । त्यो समयमा नेपालमा नेपाली कङग्रेसको शासन थियो । त्यो समयमा प्युठान जिल्लामा नेपाली कङग्रेसबाट अनिरुद्र शर्मा, पुरुषोत्तम शर्मा, अनिरुद्र सुवेदी निर्वाचित थिए । लोकतन्त्रको संस्थागत विकास हुन नदिएर बहुदलीय प्रजातन्त्र नै निमोठ्ने काम भएकोमा प्युठानेहरुमा राजतन्त्रप्रति अनास्था जागेको रहेछ । प्युठानेहरु गणतन्त्रमा विश्वास राख्छन् । यसमा उनीहरुले चुहाएको पसिना र बलिदानको अक्षय कृति स्वर्णाक्षरले लेखिने छ । प्यूठानको माटोमा मोहविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लिलामणि पोखरेललगायतका वाम नेताहरुले मुलुकको स्वतन्त्रताको लागि केही काम गरेका छन् । पछिल्लोपटक डा. गोभिन्द पौडेलको नाम पनि सुनियो । डा.गोविन्द पोखरेललाई उमेदवारी नदिएर दुर्गा पौडेललाई नै उठाउने कुराले त्यहाँको राजनीति अलि तरङ्गित भएको छ । धेरैले त्यसको प्रत्यक्ष फाइदा सूर्य थापालाई जान्छ भन्ने निष्कर्ष निकाल्दै थिए ।
कार्यक्रम सम्पन्न भयो । यहाँ पनि मञ्चमा थोरै राख्ने परम्परा शुरु भएको छ । मञ्चमा प्रा.डा. गितु गिरी र प्राज्ञ गोपिन्द्र पौडेल रहनु भयो । हामी सबै परिसरमा बस्यौं । यसले कार्यक्रमलाई समतलीय बनायो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको भूमिका र जिल्ला समन्वय समितिका अध्यक्ष धर्मबहादुर जिसी, प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीको भूमिका र सहयोग महत्वपूर्ण रह्यो । धर्मबहादुर जिसी त गायक पनि रहेछन् ।
त्यस बीचमा प्यूठानका चर्चित साहित्यकारहरु मदनबहादुर केसी, देवेन्द्र कुमार रिजाल सम्मानित भए । कविता प्रतियोगितामा १६ जनाले नाम दर्ता गराएका थिए । सुशील सुनार, सुनील विश्वकर्मा, युवराज भण्डारी पुरस्कृत भए । निमबहादुर थापाले एकलाखको अक्षय कोष राख्ने घोषण गरे । उता मदनबहादुर केसीले पनि एकलाखको अक्षयकोष राख्ने घोषणा गर्नु भयो । त्यो बीचमा मदन बहादुर केसी, कमल पोखरेल, धनप्रसाद सुवेदी र भक्ति थापा स्मृति प्रतिष्ठानबाट एकएक पुस्तक प्राप्त गरेर धन्य भएको थिएं ।
समय घर्कदै थियो । हामी अत्तियौं । हामी ठीक पाँच बजे त्यहाँबाट मायाको चिनो हात हातमा समाएर भावुक हुँदै प्युठानको माटो निधारमा लगाउँदै निस्कियौं । आहा प्युठान प्युठानबासीले हाम्रो मन जिते । प्यूठानको पहिचान उज्यालो बनाए । तपाईहरुलाई धेरैधेरै धन्यवाद । तपाईहरुको क्रियाशीलता, विवेक र विद्वताबाट हामीले धेरै सिक्नु पर्छ ।