स्वास्थ्य शब्दको अर्थ व्यापक छ । वास्तवमा यस शब्दले शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई इंगित गर्छ । त्यो किनभने मानिसको मन, शरीर र समाज, तीनै एक अर्काेसँग अन्तर्सम्बन्धित छन् ।
जस्तो कि मानसिक स्वास्थ्यको लागि स्वस्थ मन आवश्यक छ । र, मानिसको मन सन्तुलित तथा प्रभावकारी स्नायु प्रणालीमा आधारित हुन्छ ।
स्नायु प्रणालीको प्रभावकारी सुसंचालनका लागि शारीरिक स्वास्थ्य आवश्यक पर्छ । त्यस्तै व्यक्तिको समाजसँगको व्यवहार र सहभागिता उसको मानसिक र सामाजिक स्वास्थ्यसँग गाँसिएको हुन्छ । त्यसैले स्वस्थ जीवनका लागि शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यप्रति गम्भीर हुनु अति नै आवश्यक छ ।
तर नेपाल जस्ता पिछडिएको देशहरुमा तीव्र रुपमा बढिरहेको मानसिक समस्याहरूको उपचारको समुचित सुविधाहरू, शारीरिक रोगको उपचारको सुविधाको तुलनामा नगन्य छ ।
त्यसैले मानसिक समस्याहरूको सही निदान र उपचार हुन नसिकी विरामीहरूले धेरै दुःख–कष्ट बेहर्नु परेको छ । यस्ता मानसिक समस्याहरूको कारण कतिपयको जीवन नै बर्बाद भएको छ ।
मानसिक स्वास्थ्य हरेक नागरिकको अधिकार हो । त्यसैले हरेक राष्ट्रले आफ्ना हरेक नागरिक समक्ष मानसिक स्वास्थ्यको पहुँच पुराउनु आजको आवश्यकता मात्र होइन, कर्तव्य पनि हो । यस वर्ष विश्व मानसिक स्वास्थ्य दिवसको नारा नै छ, सबैका लागि मानसिक स्वास्थ्यः अधिक लगानी, अधिक पहुँच, हरेकका लागि, हरेक ठाउँ ।
जोसुकैलाई मानसिक रोगः
मानसिक समस्याहरु जुनसुकै उमेर, वर्ग तथा धर्मसंस्कृतिका व्यक्तिहरूलाई हुन सक्दछ । इतिहासको पाना पल्टाउने हो भने ठूलाठूला हस्तिहरू समेत विभिन्न किसिमका मानसिक रोगहरूबाट पीडित भएको देखिन्छ ।
जस्तैः अब्राहम लिंकन (अमेरिकाको भूतपूर्व राष्ट्रपति), सिग्मण्ड फ्रायड (महान् मनोविश्लेषक), मर्लिन मुनरो प्रसिद्ध हलिउड अभिनेत्री) तथा वोरिस येल्तसिन(रुसका भूतपूर्व राष्ट्रपति) आदि जस्ता हस्तीहरू डिप्रेसनबाट पीडित थिए । अल्फ्रीडे जेलनिक (साहित्यको नोबेल पुरस्कार विजेता) सामाजिक फोबियाबाट ग्रस्त थिइन् ।
सन् १९९४ मा नोबेल पुरस्कार पाउने प्रसिद्ध गणिज्ञ जोन नाश सिजोफ्रेनियाबाट र ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री र साहित्यको नोबेल विजेता विंस्टन चर्चिल मेनिक डिप्रेसन (बाइपोलर डिप्रेसन)बाट पीडित थिए ।
चर्चिल आफ्नो यो रोगबाट यति भयभित थिएकी उनले यसलाई कालो कुकुरको संज्ञा दिएका थिए । त्यसैले डिप्रेसनलाई चर्चिलको कालो कुकुर पनि भन्ने गरिन्छ ।
यसै गरी म्याराडोना (अर्जेटिनाका विश्वप्रसिद्ध फुटबल खेलाडी) तथा संजय दत्त (भारतका लोकप्रिय चलचित्र अभिनेता) लागू–औषध दुव्र्यसनको शिकार भएका थिए । यी त केही उदाहरणहरू हुन् । तर, यसको लिस्ट निकै लामो छ ।
मानसिक रोगको कारणः
मानसिक रोगको एक कारण अनुवांशिक हो । दुश्चिन्ता तथा डिप्रेसन देखि सिजोफ्रेनिया (स्कीजोफ्रेनिया)सम्मका थुप्रै मानसिक रोगहरू अनुवांशिक कारणले गर्दा पनि हुने गर्छन् ।
यदि आमाबा मध्य कसैलाई वा दुवैलाई मानसिक रोग छ भने जीन्सद्वारा मानसिक रोग सन्तानमा फैलिने सम्भावना हुन्छ ।
जस्तो कि आमाबा मध्य कुनै डिप्रेसनबाट पीडित छन् भने सन्तानमा डिप्रेसन हुने सम्भावना ४ गुना तथा आमाबा दुवैमा डिप्रेसन भएको खण्डमा १६ गुना हुन्छ । क्रोमोजोम नं. ११ तथा एक्सद्वारा डिप्रेसन तथा क्रोमोजोम नंं. ५, ११, १८, १९ तथा एक्सद्वारा सिजोफ्रेनिया सन्तानमा सर्ने सम्भावना हुन्छ ।
यसै गरी मस्तिष्कमा पाइने डोपामीन, सेरोटोनिन तथा नोरापीनेफ्रेन आदि रसायनहरूमा असन्तुलन आयो भने मानसिक रोगहरू हुने सम्भावना हुन्छ । जस्तो कि डिप्रेसनको रोगीमा सेरोटोनिन मात्रा कम हुन्छ ।
तर अधिकांश मानसिक रोग मानसिक आघात, हीन भावना, नकारात्मकता, आपसी मन–मुटाव, पारिवारिक झैंझडा, मानसिक तनाव, सामाजिक तथा आर्थिक दवाव, हृदयविदारक घटना, व्यापारव्यावसायमा हानीनोक्सानी, आत्मसम्मानमा ठेस, गलाकाट प्रतिस्पर्धा आदि जस्ता मनोवैज्ञानिक तथा सामाजिक कारणहरूले गर्दा पैदा हुन्छन् ।
मनोसामाजिक कारण स्वयं मानसिक रोगको एक कारण मात्र नभएर यसले अनुवाशिंक तथा जैविक कारणहरूलाई जमीन प्रदान गर्ने तथा मलजल हाल्ने कार्य समेत गर्छ । जस्तो कि सुख्खा जमीनमा जति सुकै पोटिलो बीउ पनि उम्रिदैन । तर पानी परेर जमीन चिसो भयो भने बीउ टुसाउँछ ।
मद्यपान तथा लागू औषध दुव्र्यसनका कारणले पनि विभिन्न शारीरिक रोगहरूसँगै मानसिक रोगहरू समेत पैदा गर्छ । मद्यपान तथा औषध दुव्र्सनलाई नै एक मनोवैज्ञानिक विकार मानिन्छ । यदि शारीरिक रोगहरू लामो समयसम्म ठीक भएको छैन भने यस्ता दीर्घ रोगले समेत चिन्ता तथा डिप्रेसन जस्ता मानसिक रोगहरू पैदा गर्छ ।
यस्तै गरी क्यान्सर तथा एचआईभी–एड्स जस्ता जटिल रोगहरूले समेत मानसिक रोगहरू निम्ताउँछन् । कतिपय जटिल रोगहरूलाई प्राणघातक रोगको संज्ञा दिइनाले पनि रोगीमा मानसिक समस्या पैदा हुने गर्छ । क्यान्सर तथा एचआइभी–एड्स जस्ता रोगहरू निदान (डायग्नोज्ड) भएपछि रोगीको स्वास्थ्य एकाएक खस्किन्छ ।
मानसिक रोगको उपचारः
आधुनिक युगमा मानसिक रोग ज्यादै तीव्र गतिमा बढिरहेको छ । तर यो वैज्ञानिक युगमा पनि हरेक राष्ट्रमा मानसिक रोगलाई हेर्ने दृष्ट्रिकोणमा कुनै न कुनै रुपमा अंधविश्वासहरू कायम छन् ।
त्यसैले नेपाल जस्तो सबै कुरामा पिछडिएको राष्ट्रमा मानसिक रोगको सम्बन्धमा पनि गलत धारणा रहनु कुनै अनौठो कुरो होइन ।
अहिले पनि अधिकांश नेपालीहरूले मानसिक रोगलाई भूतप्रेत, पूर्वजन्मको पाप, टुनामुना तथा ग्रहहरूको कारणले पैदा भएको मान्दछन् । देवीदेवताहरूको अभिशाप ठान्दछन् । त्यसैले नेपाली समाजमा मानसिक रोग लुकाउने–छुपाउने प्रवत्ति विद्यमान छ । अशिक्षित मानिसहरूको कुरा परै छोडौँ ।
शिक्षित मानिसहरूले पनि यस्ता रोगहरू भरसक छुपाउने–लुकाउने र रोगले निकै च्याप्यो भने उपचारका लागि धामीझाँकीहरूको शरण पुग्ने प्रचलन छ ।
यसबाट नै प्रष्ट छ नेपालमा मानसिक स्वास्थ्यको स्थिति कति दहनीय छ । भने, अस्पताल पुग्ने मानसिक विरामीलाई चिकित्सकले उचित निदान बिना नै सिधै औषधि सिफारिश गर्दा मानसिक स्वास्थ्यमा झनै जटिलता थपिएको छ ।
एन्टीडिप्रेसेन्ट जस्ता साइक्याएट्रिक मेडिसिनले अल्जाइमर जस्ता निको नहुने रोगहरु जन्माउँछ । त्यसैले मानसिक रोगको उपचारमा औषधिमा होइन कि मनोवैज्ञानिक उपचारमा जोड दिनुपर्छ ।
मनोवैज्ञानिक चिकित्सा पद्धति (साइकोथेरापि) मानसिक विकारहरू(मेन्टल डिस्अर्डर) तथा व्यथाहरू(डिस्ट्रेस)को मूल कारण प्रतिकूल वा नकारात्मक भावना (नेगेटिभ फिलिङ्स) हो भन्ने मान्यतामा आधारित छ । अर्को शब्दमा भन्ने हो भने मानिसको सोच, संज्ञान(कग्निसन), चिन्तन तथा घटना र परिस्थितिलाई हेर्ने दृष्टिकोणले नै मानसिक रोग पैदा गर्छ ।
त्यसैले मानसिक रोग ठीक गर्नका लागि रोगीको मनमा रहेका प्रतिकूल तथा नकारात्मक भावनाहरु तथा दृष्टिकोण परिवर्तन गर्न आवश्यक पर्छ ।
साइकोथेरापिमा विभिन्न कग्निटिभ तथा बिहाभियर टेक्निकहरूको सहायताबाट रोगीको संज्ञानात्मक पुनर्संरचना गर्ने कार्य गरिन्छ, जसलेगर्दा रोगीको मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभचिन्तन तथा विश्वास विकसित भइ व्यवहार समायोजित हुन पुग्छ ।
हो, मन अदृश्य छ, त्यसैले मानसिक रोगको पहिचान र उपचार गर्न सजिलो हुँदैन । तर अधिकांश मानसिक रोगहरू उचित उपचार भएको खण्डमा मेडिसिन बिना नै बिलकुल ठीक हुन्छन् । अतः मानसिक रोगबाट मुक्ति सम्भव छ ।
(लेखक मनोविद् तथा मेमोरी क्लिनिक प्रमुख हुन् ।)