–टिम विगमोर (अनुवादः जीवराज चालिसे)
सन्दीप आइपिएल, सिपिएल, बिगबास र पिएसएलमा पारङ्गगत भइसकेका छन्। तर, उनको यात्रा चितवन भरतपुर छेउका सडकहरुमा टेनिसबलको क्रिकेट खेल्दादेखि सुरु भएको हो।
‘सोचेँ भने पनि मलाई हाँसो लाग्छ।’ यो बर्षको क्यारिबियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड आइपुगेका सन्दीप लामिछानेले यहाँसम्मको यात्रा सम्झदैं भन्छन्।
‘म नेपालबाट दक्षिण कोरिया पुगेँ। त्यहाँ विश्राम लिएपछि एट्लान्टा पुगेँ। एट्लान्टामा पूरै एक दिन बस्नुपर्ने भयो। त्यहाँबाट म सेन्ट लुसिया पुगेँ। त्यहाँपनि पूरै एक दिन विश्राम लिनु पर्यो। सेन्ट लुसियाबाट बर्र्बेडोस अनि त्यहाँबाट ट्रिनिडाड–एउटा लामो यात्रा थियो’–उनी भन्छन्।
चार दिनको यात्रापछि लामिछाने ट्रिनिडाड आइपुगे। त्यहाँ उनले जमैका तलावासका लागि पहिलो खेल खेल्नेवाला थिए।
तर, विश्वको उत्कृष्ट टि–२० लेग स्पिनरमात्र नभई नेपालकै पहिलो विश्वस्तरको खेलाडी बन्ने क्रममा उनले तय गरेको यात्रा कोरोना कहरमा क्रिकेट खेल्न क्यारिबियन मुलुक आउँदाको यात्रा भन्दा थप रोमाञ्चक छ।
२० बर्षको पुग्दा नपुग्दै लामिछाने ईण्डियन प्रिमियर लिग, सिपिएल, विगबास लिग, पाकिस्तान सुपर लिगमा कुशल बलरको रुपमा पारङ्गत भइसकेका छन्। त्यसबाहेक अर्को वर्षदेखि सुरु हुने ‘द हण्ड्रेड’ प्रतियोगिताको लागि ओभल ईन्भिन्सिवलमा अनुबन्धित भइसकेका छन्। (यो सय बलको एक इनिङ हुने क्रिकेटको नयाँ फ्रेन्चाइज लिग हो।)
उनको क्रिकेट यात्रा नेपालको ठूलो शहरमध्येको एक चितवन भरतपुर नजिक रहेको लामिछानेको घरबाट सुरु हुन्छ, जहाँ सडक–गोरेटोमा टेनिस बलको क्रिकेट खेलेर लामिछाने हुर्किए। ‘रमाइलोका लागि क्रिकेट खेल्थेँ’–लामिछाने भन्छन्–‘क्रिकेटर बन्छु भनेर कहिल्लै सोँचेको थिएन।’
भारतीय टिभी च्यानलहरुको नेपाल प्रवेश भएसँगै विश्वका विभिन्न भागहरुमा हुने क्रिकेट प्रतियोगिताहरु नेपाली टिभीका स्क्रिनहरुमा देखिन थाले। यसले नेपालमा क्रिकेटप्रतिको उत्साह निकै बढाएर ल्यायो। फुटबलको दाँजोमा क्रिकेट पनि आउन थाल्यो। यसअघि नेपालमा सबैभन्दा हेरिने खेल फूटबल मात्रै थियो।
बालापनमा सन्दीपका तीनजना ‘हिरो’हरु थिए। भारतका सचिन तेन्दुलेकर, नेपालका पारस खड्का र अष्ट्रेलियाका सेन वार्न। लामिछानेले वार्नलाई पछ्याए र उनकै शैलीअनुरुप आफूलाई ढाल्ने कोशिश गरे।
आफू ९ वर्षको हु्ँदा परिवारसँगै लामिछाने चार वर्षका लागि भारत गए। भारतीय रेल्वेको हरियाणा डिपार्टमेण्टमा उनका बाबुले काम गर्थे। ‘बंगलादेशमा भएको विश्वकपमा नेपाल खेलिरहेको पहिलो पटक देखेपछि मैले सोँचे–‘क्रिकेट किन कोशिश नगर्ने ?’–उनी भन्छन्।
विश्वकपमा हङकङ र अफगाानिस्तानलाई नेपालले हराएको उनले भारतबाटै हेरे। ती जितले उनलाई आफ्नै पूरानो घर नजिकै रहेको चितवन एकेडेमीमा भर्ना हुन प्रेरित गरे। आफ्नो सपना पूरा गर्न लामिछाने आफ्नी दिदी र भिनाजुसँगै बसेर एकेडेमी जान थाले।
चितवनमा रहँदा लामिछाने बिहानको चार घण्टा स्कुल जान्थे। ‘मैले समयमा नै होमवर्क सिध्याउँथेँ’– उनी हाँस्छन्–‘धेरैजसो दिन बाह्र नबज्दै ऐकेडेमी पुगिसकेको हुन्थेँ।’ हप्ताको सातै दिन उनी दैनिक सात घण्टासम्म ट्रेनिङ गर्थे।
‘मेरो देशलाई प्रतिनिधित्व गर्ने मेरो सपना थियो। मैले त्यो कुरालाई निश्चित तुल्याउन संघर्ष गरिरहेको थिएँ।’–उनले भने।
भाग्यको स्वरुप अर्कै थियो। कतै विवाहमा जादैं गरेका नेपाली क्रिकेटका प्रशिक्षक पुबुदु दशानायके भरतपुरको बाटो हुँदै गइरहेका रहेछन्।
त्यसै बेला नेटमा बलिङ गरिरहेका लामिछानेले प्रशिक्षक दशानायकेको ध्यान खिचे। लामिछाने १५ वर्ष अझैं पुगेका थिएनन्। तैपनि उनलाई ‘अण्डर–१९’ को प्रशिक्षण समूहमा बोलाइयो। २०१६ को ‘यु–१९’ विश्वकपमा लामिछाने दोस्रो धेरै विकेट लिने बलर बने।
केही महिनापछि लामिछानेले ‘हङकङ टि–२० ब्लिट्ज’मा खेले। त्यहाँ उनको अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान माइकल क्लार्कसँग भेट भयो। लामिछानेलाई देख्नासाथ क्लार्क प्रभावित भइसकेका थिए। त्यसैले क्लार्कले अष्ट्रेलियाको सिड्नीमा रहेको वेष्टर्न सबर्बमा अनुबन्धित हुन लामिछानेलाई सहयोग गरे।
लामिछानेको प्रतिभाको सर्वत्र चर्चा भयो। उनी भारतको आइपीएल फ्रेन्चाइज दिल्ली डेयर डेभिल्सको नजरमा परे। लामिछानेलाई नजिकैबाट नियाल्न क्लबले दिल्ली बोलायो।
‘उनीहरुले मलाई ट्रायलका लागि बोलाएका थिए। त्यहाँ उनीहरुले मलाई केहीबेर बलिङ गर्न भने। हामीलाई राम्रो लाग्यो भने तिमीमाथि ‘बिड’ लगाउने छौं भनेर भनेका थिए। त्यसपछि म दिल्ली गएँ। उनीहरुले मलाई केही बल गर्न पठाए। मैले सबै बल सही विन्दुमा फ्याकेको थिएँ’–लामिछाने निस्कनुभन्दा पहिले, उनलाई भनियो–‘चिन्ता नगर। तिम्रो लागि हामी त्यहाँ हुनेछौं।’
जनवरी २०, २०१८ मा लामिछानेको जीवन सधैंका लागि परिवर्तन भयो। दिल्लीले सर्त पूरा गर्यो। क्लबको अन्तिम विदेशी खलाडीको रुपमा लामिछानेलाई २३ हजार पाउण्डमा अनुबन्ध गर्यो। त्यतिबेलाका नेपालका प्रधानमन्त्रीले लामिछानेलाई भने–‘म मात्रै होइन। पूरै राष्ट्र गर्वित भएका छौं।’
‘मैले सबैतिरबाट म्यासेज पाएँ’–लामिछाने भन्छन्–‘मलाई ‘वाह’ जस्तो लागेको थियो।’
उनको छनौट देखाउनका लागि मात्रै भएको थिएन। १७ बर्षको उमेरमा क्रिकेटमा चर्चित अष्ट्रेलियन ब्याट्सम्यान एबी डिभिलियर्स र भारतीय ब्याट्सम्यान विराट कोहोलीविरुद्ध बलिङ गर्ने कार्यभार सहित लामिछानेले आइपीएलमा डेब्यू गरे। उनले चार ओभरमा जम्मा २५ रन खर्चिए। ‘उनीहरु विरुद्ध राम्रो बलिङ गरियो भने छुट्टै आत्मविश्वास बढ्ने रहेछ’–उनी भन्छन्।
उनको क्रिकेटिङ करियरले उडान भरिरहेको थियो। उनी त्यहाँ पुगेका थिए जहाँ यो भन्दा पहिले कुनै नेपाली पुगको थिएन। टि–२० क्रिकेटका बेस्वाद हुन्–कहिल्लै नसकिने यात्रा र एकै रंगका होटेलहरु। तर यी कुराहरुले लामिछानेको जाँगर धमिलो बनाएका छैनन्।
‘कहिलेकाँही २४–२५ घण्टे लामा यात्राहरुको बारेमा सोँच्दा म केही निरास अथवा कमजोर महसुुस गर्छु’–उनी घोत्लिन्छन्–‘तर एक पटक त्यो ठाउँमा पुगेपछि, म फेरि पहिलेकै सन्दीप बनिसक्छु। जसले क्रिकेटलाई सधैं माया गर्छ, सधैं क्रिकेटमा मज्जा भेट्छ। म थाक्दिन।’
अक्टोबर २०१९मा इएसपीएन क्रिक्इन्फोको सर्वेले त्यस अघिल्लो वर्ष सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडी सन्दीप मात्रै रहेको घोषणा गर्यो। त्यस वर्षमात्रै उनी ८ वटा देशहरुमा क्रिकेट खेलिसकेका थिए।
‘पूर्वदेखि पश्चिमसम्म मैले विश्वका धेरै भागहरुमा मैले खेलिसकेको छु। अमेरिकामा खेले, त्यसपछि क्यारेबियनमा खेले, अनि लण्डन, त्यसपछि अष्ट्रेलिया, अनि अफ्रिकामा पनि। फरक महादेशका फरक देशहरुमा खेलेँ। सबै महादेशहरुसँग आफ्नै कथाहरु छन्। त्यहाँ फरक–फरक पिच, फरक–फरक अवस्था र फरक–फरक माहोल छन्। मैदानमा राम्रो खेल्न जतिसक्दो छिटो त्यहाँको अवस्थामा समाहित हुन आवश्यक छ। मैले त्यहीँ कुरा सिकेँ। जति छिटो त्यहाँको माहोलमा भिज्न सकिन्छ त्यति राम्रो खेल्न सकिन्छ’–उनी भन्छन्।
टि–२० को बजार निकै निष्ठुरी छ। तर, यहीँ बजारमा लामिछाने निकै खोजिएका खेलाडी हुन्। उनी बलमाथि अधिन राख्न सक्ने, राम्रो गुग्ली फाल्न सक्ने, बललाई राम्रो टर्न गर्न सक्ने र चतुर ‘क्रिकेटिङ’ दिमाग भएका खेलाडी हुन्।
‘मेरो मूख्य क्षमता भनेको फिल्ड प्लेसिङ, ब्याट्सम्यानको ट्रिकसँग खेल्नु र प्रत्येक बलमा ल्याउन सक्ने भेरिएसन हो’–उनी भन्छन्,–‘यसले गर्दा पछिल्ला वर्षहरुमा मलाई धेरै विकेट मिलेको छ।’
लमिछानेको बलिङप्रतिको लगनले नै उनलाई ‘पावर प्ले’को केन्द्रविन्दु बनाएको हो। टि–२० मा ईनिङमा जतिसक्दो छिटो विकेट लिइन्छ त्यति नै महत्वपूर्ण मानिन्छ। अनि लामिछानेले जस्तो विश्वसनीय रुपमा छिटो विकेट अरु सायदै कसैले लिन्छन्। तथ्यांकअनुसार पावर प्लेको पहिलो प्रत्येक १२ बलमा उनले एउटा विकेट लिने गरेका छन्। यो पछिल्लो पाँच वर्षको कुरा हो।
विश्वभर सफलता पाएपनि लामिछानेको नेपालप्रतिको प्रतिबद्धतामा भने दृढ छन्। गत फेब्रुअरीमा मेलवर्न स्टार्सबाट छिटो घर फर्किए। क्लबले तोकेको समयभन्दा केही अगाडि आउनु परेकाले व्यक्तिगत आर्थिक घाटा बेहोरै उनी नेपाल फर्किए। ‘लिग–टू’मा नेपालका तर्फबाट ओमन र अमेरिका विरुद्ध एक दिवसिय खेल खेल्नका लागि उनी नेपाल फर्किएका थिए। वल्र्ड कप २०२३ को छनौट हुने आधार थियो ‘लिग टु’।
‘मैले मेरो देशलाई सधैं पहिलो स्थानमा राख्नेछु’–उनी भन्छन्–‘यदि नेपाल क्रिकेटले मलाई खेल्न बोलायो भने म जति बेला पनि तयार रहन्छु। किनभने नेपाली क्रिकेटले मलाई धेरै कुरा दिएको छ। आफूलाई प्रमाणित गर्ने मौका दिएको छ।’
लामिछानेको प्रतिबद्धतामा नेपालको क्रिकेटमा सम्भाव्यता के छ भनेर झल्किन्छ। नेपाल यस्तो देश हो जहाँ क्रिकेट हेर्न २० हजार जनाको भिड लाग्नु सामान्य मानिन्छ। उनलाई लाग्छ कि एसोसियट राष्ट्रहरुबाट अफगानिस्तानको उदयलाई नेपालले अनुकरण गर्न सक्छ।
‘नेपालका लागि टेस्ट क्रिकेट खेल्न पाए सुन्दर अनुभूति हुन्छ होला’–उनी भन्छन्–‘मलाई अत्यधिक आनन्द लाग्ने थियो। त्यसको लागि हामीले निकै मिहिनेत गरिरहेका छौं। केही समय लाग्न सक्छ। तर, विश्वास गर्नुस् सबै खेलाडीहरुले फिल्डमा जति मिहिनेत गर्नुभएको छ त्यो हेर्न लायक छ।’
‘खेलाडीहरुसँग राम्रो क्षमता छ। खेलप्रतिको मिजास र कौशलता पनि निकै राम्रो छ। खेलाडीहरुमा सबै कुरा राम्रो छ। हामीमा केही कुरा कमी छ भने त्यो एक्सपोजर र अनुभव हो। त्यसैले व्यक्तिगत रुपमा मलाई लाग्छ कि एक दिन हामीले जे कुरा पाउन चाहिरहेका छौं त्यो पाएरै छाड्छौं’–उनी दृढ विश्वासले भरिएको सुनिन्छन्।
यदि नेपाललाई त्यहाँ पुग्नु छ भने सन्दीप चाहन्छन् क्रिकेट समूदायले नेपाललाई सहयोग गर्नुपर्छ। ‘वास्तवमा हामीलाई सहयोगी हातहरु चाहिएका छन्। अफगानिस्तानले भारतबाट साथ पाएको छ। तर हामीले त्यस्ता सहयोगीहरु अझैसम्म पाएका छैनौं’–उनी भन्छन्।
भारत र ईङल्याण्ड जस्ता देशहरुले ए–टिमलाई खेल्नका लागि पठाओस् भन्ने चाहन्छन् लामिछाने। उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ५० ओभरको वल्र्डकपमा ‘ईमर्जिङ नेशन’हरुलाई सहभागी गराउनेबारे अलिक उदार होओस् भन्ने चाहन्छन्। ‘मलाई लाग्दैन कि वल्र्डकपमा १० टिममात्रै हुनु राम्रो आइडिया होे, हेर्दै भाउन्न छुट्छ’–उनी भन्छन्।
अन्तर्राष्ट्रमा जुन रुपमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन्छ, त्यसप्रति उनलाई भाउन्न छुट्नुले टि–२० ले क्रिकेटमा सुरु गरेको समावेशिता र अन्तर्राष्ट्रिय विश्वस्तरका प्रतियोगिताहरुले भन्दा फ्रेन्चाइज लिगहरुले कसरी अवसरहरु प्रदान गरिरहेका छन् भन्ने प्रतिबिम्बित हुन्छ।
र, जतिबेला लामिछाने जमैका तलावासबाट अथवा ओभल इन्भिन्सिवल्सबाट अथवा दिल्ली क्यापिटल्सबाट खेल्छन्, उनले केवल यी क्लबहरुलाई मात्रै प्रतिनिधित्व गरेका हुँदैनन्। उनले सिंगो नेपाललाई नै प्रतिनिधित्व गरिरहेका हुन्छन्।
‘पहिले मलाई थाहा थिएन कि कुनै नेपालीले कुनै फ्रेन्चाइज लिगमा खेल्ने सपना देख्न सक्छ कि सक्दैन भनेर। अहिले उनीहरुले बाटो देखिसकेका छन् कि हामीले जुनसुकै लिगमा पनि प्रतिनिधित्व गर्न सक्छौं भनेर। म पहिलो पटक आइपीएलमा खेलेपछि भने नेपालका सबैसँग त्यो सपना थियो, जस्तो कि–यदि सन्दीपले गर्न सक्छ भने हामीले किन नसक्ने ? यस्तोखाले परिवर्तन सबैमा देखेँ मैले। मबाट कोही प्रेरित हुन्छ भने त्यो मेरो लागि सबैभन्दा ठूलो उत्प्रेरणा हो’–उनी भन्छन्।
(टेलिग्राफबाट साभार गरिएको यो इन्साइड स्टोरीको मूल कपि यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ।)