बुटवल-प्रदेश ५ को प्रमुखमा नियुक्त भएका यादव सिरहाका नेता हुन् । एमाले पृष्ठभूमिका ७६ वर्षीय यादव लामो समयसम्म शिक्षण पेसामा आबद्ध थिए । २०२७ देखि २०४८ सम्म स्थानीय विद्यालयमा पढाएका उनी २०४८ को संसदीय निर्वाचनमा सिरहा १ मा उम्मेदवार थिए तर चुनाव हारे ।
तत्कालीन एमालेको अनुशासन आयोगको सदस्य रहेका उनी प्रदेश प्रमुखहरूमध्ये सबैभन्दा ज्येष्ठ हुन् ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादव यस क्षेत्रका इमान्दार नेताको रुपमा चिनिन्छन् । २००० सालमा सिरहाको सुखिपुर नगरपालीका– ६ खरही टोलमा जन्मेका यादवले सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका थिए । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।
विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । यादव २०३७ सालमा ३ महिना जेल परेका थिए । सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई जेल हालेको बताए ।
त्यसपछि पनि उनी शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहेका भए । २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि उनी २०४८ को आम निर्वाचनमा शिक्षण पेशाबाट राजीनामा दिई चुनावमा उम्मेद्वारी दिएका थिए । त्यसपछि पनि ७६ वर्षीय यादवले ५१ को मध्यावधी निर्वाचनमा भाग लिए पनि पराजित भएका थिए ।