गुल्मी -गुल्मीमा गहना लुट्न दुई बुहारी मिलेर सासुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका-३ दर्लामचौर तल्लो सिम्पानीका दुई बुहारीले ७६ वर्षीय सासु कौशिला बिककाे हत्या गरेका हुन् ।
कौशिलाकी कान्छी बुहारी २३ वर्षीय देवी बिक र जेठाजुकी बुहारी २८ वर्षीय लक्ष्मी बिकले गहना लुट्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मिन घलेले बताए । उनीहरूले १७ पुसको साँझ कौशिलालाई कुटपिट गरी सख्त घाइते बनाएका थिए ।
त्यसपछि गोठमा लगेर गाेरुले हानेको भन्दै छिमेकीसँग गुहार मागेका थिए । काैशिलाका श्रीमान शेर बहादुर बिकले कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएपछि आरोपितको बयानको आधारमा हत्या रहस्य पत्ता लागेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा २० पुसमा काैशिलाकाे मृत्यु भएको डिएसपी घलेले जानकारी दिए ।
स्थानीयका अनुसार दुई बुहारी र सासुबीच त्यसअघि पनि कैयौँ पटक विवाद भएर प्रहरीमा उजुरी भएका थिए । १७ पुसमा कौशिलाका श्रीमान मासु काट्न गएको समयमा उनीहरूले सासुलाई कुटेर गहना लुट्ने र गोरूले हानेको भनेर गुहार माग्ने योजना बनाएका थिए ।
उनीहरूले योजनाअनुसार चिर्पटले हानेर सासुलाई घाईते बनाए र गोरूले हानेको भन्दै गाउँलेसँग गुहार मागे । उनीहरूले प्रहरीसामु बताएको विवरण अनुसार लक्ष्मीले गाेरु फुकाएर चिर्पट दाउरो लिएर लुकिन् । देवीले सासुलाई बोलाइन ।
सासु गोरु फुकेको देखेर बाँध्न गोठमा गइन् । त्यही बेला लक्ष्मीले सासुलाई दाउराले कन्चटमा हानिन्, सासु अचेत भइन् । त्यसपछि नाक र कानको गहना निकालेर मलखातमा गाडे । १७ गते अबेर गाउँले मिलेर बिकलाई उपचारको लागि पाल्पा लगे ।
टाउकोको अप्रेशन गर्न पैसा नभएपछि फर्काएर परिवारले सदरमुकाम तम्घास लगे । तम्घासमै आफन्तले पैसा खोजेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेपनि कौशिला बचिनन् । २० पुसमा कौशिलाको मृत्यु भयो । २१ गते गुल्मी अस्पतालमा शवको पोस्टमार्टम भयो । परिवारले स्थानीय घाटमा दाहसंस्कार गरे । प्रहरीले थप अनुसन्धानका लागि दुवै बुहारीलाई नियन्त्रणमा लिएको छ ।