गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखि पुनः नियमित रूपमा हवाई उडान शुरू भएको छ । मौसम बिग्रिएपछि गएको असार १४ गतेदेखि अवरुद्ध बनेको हवाई सेवा शुक्रबारदेखि सञ्चालनमा आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
वर्षादको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएका कारण सात हप्तासम्म उडान प्रभावित बनेको थियो । यसअघि हप्ताको चार पटक उडान हुँदै आएको भए पनि केही समय हप्ताको एक दिन शुक्रवार मात्र उडान हुने स्टेशन प्रमुख थापाले बताउनुभयो । नेपाल वायु सेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेशनमा रहेका कारण जहाज नबन्दासम्म हप्तामा एक पटक मात्र उडान हुने बताइएको छ ।
शुक्रबार बिहान काठमाडौदेखि १२ जना यात्रु लिएर रेसुङ्गा आएको जहाज खाली फर्किएको छ । जहाज नियमित नभएको र मौसम राम्रो नभएका कारण काठमाण्डौ जानका लागि सम्पर्कमा रहेका कतिपय व्यक्तिहरूले पछिल्लो समय नजाने बताएपछि जहाज रित्तै फर्किएको हो ।
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि उडान भर्दै आएको छ रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६:३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७:४० बजे उडान गर्ने समय तालिका छ । काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार २८० रुपैयाँ र यहाँदेखि काठमाडौँका लागि सात हजार ८० रुपैयाँ भाडा दर कायम गरिएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्वर १० सिमिचौरमा ३५ करोडभन्दा बढी लगानीमा निर्माण भएको रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । यो कुल १५६ रोपनी जग्गामा फैलिएको छ ।