बुटवल–साझा पार्टीको राष्ट्रिय भेला १४ बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सकिएको छ। भेलाले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्न माग गरेको छ।
राष्ट्रिय भेलापछि बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राष्ट्रिय भेलाले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उभिने निर्णय गरेको बताए। ‘केही नेताको धारणाअनुसार संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता र संघीयताको बारेमा जनताको मत जान्नुपर्ने भएको छ, उनले भने–यसमा जनताले अंगिकार गरेका छन् कि छैनन् भन्ने जान्न जनमत संग्रह गर्नुपर्छ।’
बढ्दो रूपमा विवादित बन्दै गएको र दीर्घकालसम्म देशलाई असर गर्ने दुई विषय धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहले प्रष्ट पार्ने उनले बताए। तर उनले साझा पार्टी धर्मनिरपेक्षता र संघीयताको सवालमा पक्ष र विपक्षमा उभिनेबारे भने प्रष्ट पारेनन्। ‘हामीले अहिले जनमतसंग्रह गरौं भनेका छौं, पक्ष वा विपक्षमा छैनौं, यो कुरा समय आएपछि बताउँछौं–उनले भने।
भेलाले २०४६ सालदेखि उच्च राजनीतिक र प्रशासन पदमा रहेकाहरुको सम्पत्ति जाँचबुझ गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्न माग गरेको छ। यसका लागि आम नागरिकले पत्याएका व्यक्तिहरुको संलग्नमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै भ्रष्टाचार विरोधी अभियान चलाउने साझा पार्टीले बताएको छ। उनले गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री न्यायाधिश बन्न नहुने बताए।
‘त्यो विषयमा छानबिन गर्नुपर्ने व्यक्तिले दोष छैन भन्दै हिड्नु हुँदैन, प्रधानमन्त्री यो विषयमा न्यायाधीश बन्न मिल्दैन, उनले बैठकको निर्णयलाई प्रष्ट्याउँदै भने–प्रधानमन्त्रीले नै प्रमाण पुगेन भन्नुको कारण के हो ?’
साझा पार्टीको राष्ट्रिय भेलाले २०७८ जेठमा पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ। पार्टी केन्द्रीय समितिको पुनर्संरचना गर्ने र २०७८ जेठ १५, १६ र १७ गते पार्टीको महाधिवेशन गर्ने लुम्बिनी घोषणा पत्रमा उल्लेख छ।
अवको १५ महिना पछि हुने अधिवेशनसम्म पार्टीको सदस्यता वृद्धि ध्यान दिने उनले बताए। ‘अबको एक वर्ष हामी मरिमेटेर संगठन विस्तारमा लाग्नेछौ,–हामीलाई शुभेच्छुक मात्र भएर हुदैन, संगठन चाहिन्छ, हाम्रा धेरै शुभेच्छुक भए अब कार्यकर्ता बनाउँछौ।’–उनको भनाई छ।
लोकतान्त्रिक अधिकार र समृद्धिका सपनाहरु पूरा गर्न सरकार असफल हुँदै गएको र मुख्य प्रतिपक्ष आफ्नो भूमिकामा चुकेको ठहर साझा पार्टीले गरेको छ।
साझा पार्टीको राष्ट्रिय भेलाले कुनै पार्टीमा आबद्ध नभएका तथा आबद्ध भएर पनि विकल्पको खोजीमा रहेका व्यक्ति, समूह र पार्टीहरूसँग संवाद अघि बढाउने निर्णय गर्दै सहकार्य र एकताका लागि समेत आह्वान गरेको छ।
साझा पार्टीका प्रदेश ५ संयोजक अनुपमान सैंजुले लुम्बिनीको राष्ट्रिय भेलाले पार्टीलाई सदाचारतर्फ केन्द्रित गर्ने र मुलुकमा शान्ति फैलाउनेतर्फ ध्यान दिने वाचा गरेको बताए।