काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन्।
संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुहोस्।’
उनले ७० करोड कमिसनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको घटनाबारे प्रधानमनत्री निकटस्थले 'उहाँलाई थाहा थिएन' भनेकोतर्फ लक्षित गर्दै संसद बैठकमा कटाक्ष गरे।
उनले आफ्नै चुलो चलाउने र आफैले सर्वाधिक प्रतिभाशाली भनेको बाँस्कोटाबारे केही थाहा थिएन भनेर अरु के चाहिँ थाहा थियो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे। प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहानर हेर्दिनँ भनेर बारम्बार भनेको भन्दै उनले भने, “जनता बालुवाटारमा ऐना छ कि छैन भनेर सोध्दै छन्, तपाईंलाई थाहा छ ?,” उनले भने, “उहाँकै कार्यकर्ताहरुले हामीसँग भेट्दा भन्नुहुन्छ, हाम्रो प्रधानमन्त्रीजी पहिला मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो, पछि समाजवादीजस्तो देखिनुभयो । अहिले जताबाट हेरे पनि यतिवादी जस्तो देखिनुहुन्छ भन्नुहुन्छ ? प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ।”