बुटवल–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रिटिङ प्रेस खरिदको कमिसन मोलमोलाईमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामात्र एक्लै संलग्न नभएको दाबी गरेका छन्।
राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११औँ पुण्यतिथीमा लुम्बिनीमा सोमबार आयोजित शोक सभामा बोल्दै सभापति देउवाले बाँस्कोटा एक्लैले ७० करोडको मोलमोलाई गर्ने हिम्मत नभएको बताए। अडियो सार्वजनिक हुनु चानेचुने कुरा नभएकोले यसमा अरु को को संलग्न छन् भन्ने कांग्रेसले खोज्ने बताए । सभापति देउवाले बाँस्कोटा काण्डमा अन्य उच्च व्यक्तिको पनि संलग्नता हुनसक्ने संकेत गर्दै निष्पक्ष छानबिन हुन पर्ने बताए। प्रधानमन्त्रीका अति विश्वास पात्रले एक्लै त्यत्रा काण्ड गरे भनेर पत्याउने आधार नभएको देउवाको भनाइ थियो। ‘त्यत्रा त्यत्रा काण्ड एक्लै गरे भनेर पत्याउन सकिदैन। त्यसमा को को छन ? निष्पक्ष छानबिन हुनुपर्छ। सरकारले जवाफ दिनु पर्छ, काँग्रेस यत्तिकै चुप लागेर बस्दैन। हामीले छोड्दैनौं’–सभापति देउवाले भने।
देशभरि नै नितिगत निर्णयका नाममा मनलाग्दी निर्णय गरिएको देउवाको आरोप छ । अहिले बढिरहेका सबै भष्ट्रचारका विरुद्ध पार्टी एकजुट भएर आवाज उठाउने जिकिर उनले गरे। उनले पार्टीलाई मजबुत बनाउने समय आएकोले सबैलाई एक ढिक्का भएर हिडाउनु पर्ने आफ्नो पनि दायित्व भएको बताए।
अझै पार्टीमा थुप्रै महत्वपूर्ण काम बाँकी रहेकाले पार्टी एक नम्बरमा पु¥याएपछि आफुले विश्राम लिने देउवाको भनाई थियो।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले नेकपाको सरकार जाहानिय राणा शासन पद्दतीमा जस्तै शासन गर्न थालेको आरोप लगाए । फोर जी बिस्तारमा अनियमितता, प्रिटिङ प्रेस खरिदमा मोलतोल तथा संबिधान संशोधन गरेर जबरजस्ती कम्युनिष्ट शासन लाद्न खोजेको खाँडले आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटिएकोबारे उनले दुख व्यक्त गरे। सार्वजनिक लेखा समिति संयोजक भरत कुमार शाहले सरकारले गरेको भ्रष्टाचारको लेखाजोखा आफूले राखेको बताउँदै जनतासमक्ष सार्वजनिक गरिदिने बताए।
सो अवसरमा पूर्वराजदूत दीपकुमार उपाध्याय, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक लगायतले शोक मक्तव्य व्यक्त गरेका थिए।
राष्ट्रिय सभा सदस्य दुर्गा प्रसाद उपाध्याय २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने कांग्रेसको बाह्रौं महाधिवेशन र तेह्रौं महाधिवेशनमा उनि दुई कार्यकाल क्षेत्रीय सभापति समेत रहेका थिए।
उपाध्याय राजनीतिमा मात्र नभएर सामाजिक कार्यहरुमा पनि सक्रिय रहँदै आएका थिए। उनी लुम्बिनी विकास कोषको कार्यकारणी सदस्यका साथै अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत संलग्न थिए। उपाध्यायको यहि फागुन २ गते आफ्नै निवासमा निधन भएको थियो।