काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महासचिव पौडेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय खाली थियो । यसबीचमा अर्थमन्त्रीका लागि नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र जनार्दन शर्मा पनि लबिङमा थिए ।
तर, महासचिव पौडेलले अर्थमन्त्रीमा बाजी मारेका हुन् । उनले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् । प्रदेश ५ को स्थायी राजधानी दाङमा तय भएलगत्तै पौडेल संघीय सरकारको अर्थमन्त्री भएका हुन् ।
यसैबीच रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।
महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद् हेरफेरका विषयमा बुधबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।