बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार छोटो अवधिमै देखिने र सुनिने अवस्थामा आइपुगेको बताएका छन्।
संविधान दिवसको अवसरमा प्रदेश सरकारले शनिवार बुटवलमा आयोजना गरेको विशेष कार्यक्रममा पोखरेलले प्रदेश ढाँचा नेपालको लागि नयाँ अभ्यास भएकाले थुप्रै चुनौति रहेको भन्दै चुनौति पार गरेर यो अवस्था सम्म आएको बताए।
‘स्थानिय सरकार कुनै न कुनै रुपमा अभ्यासमा थियो, केन्द्र सयौं वर्ष देखिनै अभ्यासमा थियो’-उनले भने-‘प्रदेश सरकार नयाँ ढाचाको भएकाले चुनौति थियो।’
पोखरेलले संरचना निर्माणसँगै प्रदेश सरकारले थुप्रै योजना अघि बढाएको दाबी गरे। उनले कोरोना महामारीको बेला प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गरेको उल्लेख गरे।
‘प्रदेश ५ सबै भन्दा बढी क्वारेन्टिन निर्माण गरी सेवा दिन सफल प्रदेशको रुपमा रह्यो, ६० हजार बेड क्षमताका क्वारेन्टिन निर्माण गरेर बाहिरबाट आएकालाई व्यवस्थापन गर्ने काम गर्यो’-कार्यक्रममा उनले भने।
उनले अस्पतालसहित थुप्रै आइसोलेसन केन्द्र निर्माण गरेर संक्रमितहरुको उचित व्यवस्थापन गरेको बताए। पोखरेलले प्रदेशका अस्पतालमा भेन्टिलेटरको क्षमता पनि वृद्धि गर्ने योजना बनाएको जानकारी दिए।
स्थानीय सरकार नागरिकको घरदैलोको सरकारको रुपमा स्थापित भएको भन्दै कोरोना महामारीमा स्थानीय सरकारले ठूलो भूमिका निर्वाह गरेको बताए।
आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारबाट विभिन्न पदक तथा विभूषण पाउनेहरुको नाम घोषणा गरिएको थियो।