बुटवल–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसका संस्थापक नेता वीपी कोइरालाकै योगदान र दुरदर्शीताका कारण मुलुकमा बहुदलीय व्यबस्था स्थापना भई संविधान सभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्न सफल भएको बताएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले वीपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्त, नीति तथा विचारकै जगमा टेकेर मुलुक यहाँसम्म आएकाले वीपीका ती सिद्धान्त र विचारहरुलाइ भुल्न नसकिने बताए।
नेपाली कांग्रेस रुपन्देहीले वीपीको १०७ औ जन्मजयन्तीको अवसरमा आयोजना गरेको जननायक वीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद, नेपाली कांग्रेस र नेपालको राजनीतिक अवस्था बिषयक भर्चुअल अन्तरसम्वाद कार्यक्रममा बोल्दै देउवाले वीपीले लिएको नीति र सिद्धान्तको महत्व झन बढेर गएको बताए।
कोरोना महामारीले आम नागरिकको जीवन तहसनहस बनाउन लाग्दा समेत कम्युनिष्ट सरकारले त्यसको सम्बोधन नगरी भ्रष्टाचारमा लिप्त रहेको उनले बताए।
कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री सशांक कोइरालाले ठूलो मान्छे भन्दा पनि असल मान्छे बन्नु पर्ने वीपीको दर्शनलाइ सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए। प्रजातन्त्रका लागि वीपीले धेरै दुख गरेको स्मरण गर्दै उनले लामो समय जेलनेल सहनु परेको उल्लेख गरे।
कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वीपी कांग्रेसका लागि मात्रै नभइ सबैका लागि उदाहरणीय र प्रेरणााको श्रोत रहेको बताए।
किसानको देश भनेर नेपाल अहिले श्रमिकको देश भनेर चिनिन थालेको र तीनै श्रमिक वर्गको उद्धार र व्यवस्थापनमा सरकार महामारीका बेला उदासिन रहेको नेता सिटौलाले बताए।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वीपी र कांग्रेस एक अर्काका पर्याय रहेको बताए।
नेता खाँणले दुइ तिहाइको सरकारले संविधान प्रदत्त अधिकारलाइ समेत निश्तेज पार्दै मानवअधिकार, प्रेस स्वतन्त्रता जस्ता नागरिकका मौलिक अधिकार संकुचन गर्न खोजेको बताए। महामारीका बेला आम जनताले सरकारको अनुभूति गर्न नपाएको नेता खाँणले बताए।
प्रतिनिधि सांसद तथा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले जनता कोरोनाको महामारीसंग जुझिरहेका बेला सरकारले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरिरहेको बताए।
सांसद तथा उद्योगपति विनोद चौधरीले वीपी उदार अर्थनीतिका परिकल्पनाकार भएको बताए। कांग्रेसको उदार अर्थ नीतिकै कारण विस्तारै उकालो लागेको देशको अर्थतन्त्र कम्युनिष्ट सरकारकै कारण ओरालो लागेको बताए।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, क्षेत्र नं. १ का क्षेत्रीय सभापति हिराबहादुर खत्री, बुटवल नगर सभापति खेलराज पाण्डेले बोल्दै २००७ सालमा वीपीकै नेतृत्वमा भएको आन्दोलनले नेपालमा प्रजातन्त्रको उदय भएको र वीपीको प्रजातान्त्रिक समाजवादको महत्व झन बढेर गएको बताए।
कार्यक्रममा जुम एप्सको होष्ट नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले गरेका थिए।