बुटवल-नेपाली कांग्रेसका जिल्ला उपभासभापति सुवासचन्द्र गिरीको मृत्यु शंकास्पद भएको भन्दै पश्चिम नवलपरासीका जनप्रतिनिधि तथा राजनीतिक दलहरुले धर्ना दिएका छन् ।
साउन २३ गते भैरहवास्थित युनिभर्सल मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशनपछि कोरोना संक्रमण देखिएका गिरिको काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको थियो । गिरीको मृत्यु शंकास्पद भएको र छानविन हुनुपर्ने माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।
मेडिकल कलेजको लापरबाहीका कारण मृत्यु भएको र छानविनको माग गर्दै जिल्ला प्रशसन अगाडि सर्वपक्षीय रुपमा धर्ना दिइएको प्रदेश सभा सदस्य बैजनाथ कलवारले जानकारी दिए । ‘यस अघि ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएकाले धर्ना दिएका हौं’ उनले भने ‘सुनुवाइ भएन भने पर्सि फेरि मौन जुलुस गर्छौ।’
कोरोना महामारीको बेलामा पश्चिम नवलपरासीमा दलहरुले धर्ना गरेको भन्दै आलोचना समेत भएको छ । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले दलहरुले आफैले गरेको निर्णय लत्याएको बताए । ‘दलहरुकै सर्वपक्षिय सहमतिमा जिल्लामा मानिस जम्मा हुन नपाउने निर्णय गरेका हौं’ उनले भने ‘उहाँहरुले आफ्नो निर्णय आफै लत्याउनुभएको छ।’
प्रदेश सभा सदस्य कलवारले भने पश्चिम नवलपरासीमा निषेधाज्ञा हटिसकेको र दुरी कायम गरेर धर्ना गरेको बताए । उनले प्रशसनले आफुहरुको माग नसुनेसम्म घच्घच्याउने बताए ।
प्रमुख जिल्ला अधिकारी पाठकले उनीहरुको माग आफूले सम्बन्धित ठाउँमा पुर्याइसकेको बताए ।
‘रुपन्देहीमा भएको घटनाको यहाँ धर्ना गर्ने होइन, त्यहाँको प्रमुख जिल्ला अधिकारीलाई मैले मागबारे जानकारी गराइसकेको छु, ज्ञापनपत्र मेडिकल काउन्सिलमा पनि पुगेको छ।’-उनले भने।