बुटवल-प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको बताएका छन्।
थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदायविशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दैगएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले यी नेपाली समाजको विशेषता अरुका लागि पनि अनुकरणीय बनेको समेत बताएका छन्। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको र यसका लागि नै संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरिएको जनाएका छन्।
मुख्यमन्त्री पोखरेलले विश्व महामारीका रुपमा आएको कोभिड—१९ विरुद्धको सङ्घर्षमा सम्पूर्ण केन्द्रित रहेको बेला राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशील हुँदै काम गरिरहेको बताउँदै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी चाडपर्व मनाउन अनुरोध गरेका छन्।
सिङ्गो समाजलाई कोरोनामुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगका लागि अपिलसमेत गरेका छन् । प्रदेश सरकारले थारु समुदायको महत्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा आज एक दिन समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रासस