बुटवल । बुटवल उद्योग वाणिज्य संघको आगामी नेतृत्वको लागि हरिप्रसाद अर्याल नेतृत्वको टिमले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ । अर्याल नेतृत्वमा साझा तथा समावेशी टिम बनाएर उम्मेदवारी घोषणा गरिएको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी अर्याल नेतृत्वको टिमले संघमा आफूहरूको नेतृत्व आवश्यक रहेको भन्दै जिताउन सबै व्यवसायीलाई आग्रह गरे ।
असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारणसभामा संघको नेतृत्व लिनको लागि अध्यक्ष पदमा संघका पूर्वउपाध्यक्ष हरिप्रसाद अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको हो । अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईलाई दिनेशप्रसाद श्रेष्ठको प्यानलमा पनि राखिएको छ । उम्मेदवारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेदवार अर्यालले गौरवमय इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोंच, कार्यशैली, व्यवसायीमैत्री कार्यक्रम दिन सक्ने चलायमान नेतृत्वको आवश्यकता महशुस गरी आफ्नो नेतृत्वमा उम्मेदवारी दिन गईरहेको बताउनुभयो । उहाँले उम्मेदवारी घोषणा गर्दै आफू र आफ्नो समूह विजयी भएमा ११ बँुदे प्राथमितकता पनि राख्नुभएको छ ।
यो समूहले पदाधिकारी सहित कार्यसमिति सदस्यको उम्मेदवार पनि घोषणा गरेको छ । यो समूहबाट कार्यसमिति सदस्यमा काशीराम पौडेल, दीपक चापागार्इं, जमुना पौडेल, लोकनाथ पाण्डे, जगन्नाथ न्यौपाने, नमकला बेलवासे, रामबहादुर भण्डारी, सुनिता बञ्जाडे, गणेश भट्टराई, दीपक घिमिरे, माधवप्रसाद भुसाल, कमला पन्थ, ज्ञानबहादुर पुन, दीप आचार्य, सवर मिया, इर्साद अली र नारायण रायमाझीको नाम घोषणा गरिएको हो । महासचिव पदका उम्मेदवार मुक्ति अधिकारीले बुटवलको घट्दो व्यापार र पुरानै अवस्थामा फर्काउनको लागि आफूहरु पहलकदमी हुने बताउनुभयो । बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्दै बुटवलका व्यवसायीका समस्या समाधान गर्न आफूहरु लागिपर्ने उहाँले स्पष्ट पार्नुभयो ।