गुल्मी । पहिरोमा पुरिएर गुल्मीमा एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।
पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् ।
गुल्मीमा गएको ३ दिनदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ ।