दाङ । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन् ।
आज बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि बिर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गरेको हो । भेटमा राउटे मुखियाका प्रतिनिधि शाहीले दशैँ खर्च दिन मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।
‘अब दशैँ आइसक्यो, दशैँमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनुपर्यो’, उहाँले भन्नुभयो, ‘८६ घरपरिवार छन्, खसी खान सरकारले दुई लाख रुपैयाँ दिनुपर्छ । सबै मत्रीहरूले हामीलाई दशैँ खर्च दिनुपर्यो, हामी लगेर सबैलाई बाँड्छौँ ।’
शाहीले आफूहरू अहिले दैलेखमा बसिरहेको र दशैँ खर्चका लागि दाङ आएको बताउनुभयो । तीज खर्चकै लागि आएका हौँ, उहाँले भन्नुभयो, तीज गइगो, अब दशैँ खर्च जुटाउनु परेको छ ।
मुख्यमन्त्री चौधरीले सरकार राउटे समुदायलाई सहयोग गर्न, दशैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउनुभयो । ‘राउटेहरूलाई पहिलेदेखि नै सरकारले दशैँ खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशैँ मनाउन समस्या हो भने लुम्बिनीले पनि केही सहयोग गर्छ’, मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘दुईरतीन दिनमा सरकारको केही सहयोग हुन्छ ।’