काठमाडौँ । हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ ।
उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्युरोले नेपाल पर्यटन बोर्डलाई पत्र नै काटेर सचेतनाका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेसँगै बोर्डले सचेत गराउन थालेको छ । “पछिल्ला दिनमा हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशका घटना बढी रहेको हुँदा सो सम्बन्धमा सुरक्षित रहन सम्बन्धित टिकेटिङ गर्ने ट्राभल एजेन्सीलगायतका कार्यालयलाई समयमै सचेतनाका लागि जानकारी गराई दिनुहुन अनुरोध छ”, ब्युरोले बोर्डलाई पठाएको पत्रमा भनिएको छ ।
अनुसन्धानको सिलसिलामा आवश्यक सूचना माग गरेको बखत यथाशीघ्र तोकिएको ढाँचामा उपलब्ध गराउनका लागि सम्बन्धित एयरलाइन्स तथा सोसँग सम्बद्ध सफ्टवेयर कम्पनीसँग समन्वयकारी भूमिकाका लागि अनुरोध गरिएको छ ।