काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले प्राथमिकताका आधारमा कानून निर्माण गर्न संसदमा विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरु नरबहादुर विस्ट, रामचन्द्र राई, कमला पन्त, बुद्धिबहादुर बम, बामदेव गौतम, भगवती न्यौपाने, उदयबहादुर बोहोरा, युवराज शर्मा, गोमादेवी तिमल्सिना भुवनबहादुर सुनुवार, तुलसाकुमारी दाहाल, गङ्गाकुमारी वेलवासे भ्रष्टाचार गर्नेलाई छानविन गरी कारबाही गर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्ष हुन नहुने, भ्रष्टाचार नियन्त्रणमा सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने, र प्रतिस्पर्धाबाट निष्पक्ष र स्वतन्त्र व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकार नियुक्त गरिनुपर्नेमा जोड दिनुभयो ।
बैठकले संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको टुङ्गो लागेको छ ।
नेपाली काङ्ग्रेसबाट प्रतिनिधिसभा सदस्यहरू रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की समितिमा रहनुभएको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जिएम रहनुभएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपति शमशेर जबरा, जसपाबाट प्रकाश अधिकारी समितिमा प्रतिनिधित्व गर्नुहुनेछ ।
बैठकमा राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मन्त्री तथा राज्य मन्त्री नियुक्तबारे राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक सोमबार (भोलि) जेठ १५ गते साँझा ६ बजेर १६ मिनेटमा बस्नेछ ।