काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताउनुभएको छ ।
दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आउनुभएका उहाँले आज पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरूले स्वागत गर्ने उल्लेख गर्दै अमेरिकाले नेपालमा सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको बताउनुभयो ।
भ्रमणका दौरान प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा विमला राई पौडेलसँग भेट भएको र सो अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको उपविदेशमन्त्री नुल्यान्डले जानकारी दिनुभयो ।
सो अवसरमा उहाँले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको आगामी कदम, सङ्क्रमणकालीन न्याय प्रक्रिया, नेपालमा अमेरिकी लगानी बढाउने वातावरण निर्माणलगायत विषयमा छलफल भएको उहाँको भनाइ थियो ।
उपविदेशमन्त्री नुल्यान्डले नेपालको लोकतन्त्र सुदृढीकरण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, आर्थिक वृद्धिलगायत क्षेत्रमा अमेरिकाले सहयोग र सहकार्य गर्दै आएको बताउँदै आगामी पाँच वर्षमा नेपालमा हरित ऊर्जा, विद्युतीकरण, साना तथा मझौला महिला उद्यमका क्षेत्रमा गर्ने सहयोगका बारेमा जानकारी गराउन पाउँदा गौरव महसुस गरेको बताउनुभयो । उहाँले आजै ललितपुरको पाटन दरबार स्क्वायरस्थित पुरातात्विक महत्वका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गर्नुभएको थियो ।
उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिनुभएको हो । त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो ।