काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको सदस्यहरूमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र शाहीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि ९ माघमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले आयाेगकाे उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ र सदस्यमा डा. रामकुमार फुयाँललाई नियुक्त गरेकाे थियाे ।
आजकाे बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले नेपाल र बहराइनका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले सरकारले श्रीलङ्कामा हुने स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गर्नुसँगै नेपाल र बेल्जियम दुई पक्षीय संयन्त्रको बैठकमा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको जानकारी पनि दिनुभयो ।
सञ्चारमन्त्री शर्माले अब उपरान्त मन्त्रिपरिषद् बैठकका निर्णयहरू बैठकको अर्को दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने बताउनुभयो ।