बुटवल । आज तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व । ‘ल्होसार’ दुई शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । जस्तै मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुंसुर गरी १२ वटा वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजकका रूपमा समेत लिने गरिन्छ ।
नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरूङ, मगर, थकालीलगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ । जाति नै पिच्छेका फरक–फरक संस्कृति र प्रचलनले ल्होसार पर्वको महत्व झन बढाएको छ । ल्होसार पर्वको सम्बन्ध मूलतः पुरानो साललाई बिदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । सोनाम ल्होसार आउन करिब एक महिना अगाडिदेखि नै तयारीका कार्यहरू प्रारम्भ गर्ने गरिन्छ । बाटाघाटा, घर-आँगन, चौतारा, मन्दिर, गुम्बा, चैत्य, विहार आदिको सरसफाइ तथा बत्ती, ध्वजा–पताका, खानपान एवं साँस्कृतिक कार्यक्रम आदिको व्यवस्थापनमा ध्यान दिइन्छ ।
सोनाम ल्होसारमा तामाङ समुदायमा हर्षोल्लास छाउने गर्दछ । आजको दिनमा उक्त समुदायले ठूलो उत्सवको रूपमा मनाउने प्रचलन छ । ल्होसारको अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, ढोगभेट, टिकाटालो र परस्पर सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै तहअनुसार आर्शीवचन लिने–दिने अनि शुभकामना आदान–प्रदान समेत गर्ने गरिन्छ । त्यस अवसरमा विभिन्न खानाका परिकार बनाउने, नाचगान गरी रमाइलो गर्ने परम्परा पनि रहेको छ । पछिल्लो समय महोत्सवको आयोजना गरेर तामाङ जातिको खाना, भेषभुषा, काल, संस्कृतिलगायत प्रदर्शन गर्ने प्रचलन समेत छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ ।
सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिनुहुँदै उहाँले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
राष्ट्रपतिले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।